
१५ वैशाख, रामेछाप । रामेछाप र ओखलढुङ्गाको सिमानामा रहेको लिखुखोलामा पौडी खेल्ने क्रममा एक जना वेपत्ता भएका छन् ।
लिखु तामाकोशी गाउँपालिका २ फेदीमा निर्माणाधीन स्वेतगंगा हाइड्रोपावरको सुरुङमा कार्यरत २६ वषएका रामबाबु बुढाथोकी पौडी खेल्दा बेपत्ता भएका हुन् ।
आइतबार दिउँसो कम्पनीबाट पौडी खेल्न नदीमा गएका गोरखा जिल्ला घर भएका उनी साँझसम्म फेला परेका छैनन् । हाइड्रोपावरका कर्मचारी, स्थानीय र प्रहरीले खोजी गरिरहेको रामेछापका प्रहरी निरीक्षक शेख अदालतले जानकारी दिए ।
यसैबीच रामेछापको मन्थली नगरपालिका २ लिपेखोलामा बसबाट खस्दा एक युवतीको मृत्यु भएको छ, एक जना गम्भीर घाइते भएका छन् ।
दोलखाबाट मन्थली आउँदै गरेकोे बा ३ ख ३२६१ नम्बरको बसको ढोका बाट खस्दा मन्थली वडा नं. २ टेकानपुरकी २२ वर्षकी सुमित्रा कार्कीको मृत्यु भएको हो । ढोकाबाट खसेकी कार्कीलाई गाडी गुड्ने क्रममा ठक्कर दिएको थियो ।
घटनास्थलमा गम्भीर घाइते भएकी उनलाई मन्थली स्थित तामाकोशी सहकारी अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि धुलीखेल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
दुर्घटनामा घाइते भएका सोही स्थानकी १६ बर्षकी मनिषा कार्कीको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने गाडी र चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयका प्रबत्ता प्रहरी निरिक्षक शेख अदालतले जानकारी दिएको छ ।
प्रतिक्रिया 4