अष्ट्रेलियाका चर्चित अलराउन्डर जेम्स फल्कनरले आफू समलिंगी भएको पहिलोपटक खुलासा गरेका छन् । आफ्नो २९ औं जन्मदिनमा इन्टाग्राममार्फत उनले यस्तो खुलासा गरेका हुन् ।
फल्कनर २०१५ को विश्वकप विजेता अष्ट्रेलियन टिमका सदस्य थिए । अहिले भने उनी राष्ट्रिय टिममा छैनन् । सोमबार उनले इन्स्टाग्राममा आफ्नी आमा रोसलिन क्यारोल फल्कनर र आफ्नो व्वाइफ्रेन्ड रब जुबसँग डिनर गरिरहेको तस्वीर पोष्ट गरेका छन् ।
‘बर्थ डे डिनर विथ द ब्वाइफ्रेन्ड एन्ड माई मदर’ भन्दै उनले आफूहरु पाँच वर्षदेखि रिलेसनसिपमा रहेको उल्लेख गरेका छन् । फल्कनरको उक्त स्वीकारोक्तिले तरंग सिर्जना गरेको छ ।
फल्कनरले अष्ट्रेलियाबाट एउटा टेस्ट, ६९ वटा एकदिवसीय र २४ वटा टि–२० खेलिसकेका छन् । उनले अन्तिमपटक सन् २०१७ को मेमा श्रीलंकाविरुद्ध एडेलाइडमा खेलेका थिए । उनले गत विश्वकपको फाइनलमा म्यान अफ द म्याचको अवार्डसमेत जितेका थिए ।
खेलकुदका विभिन्न विधामा समलिंगी खेलाडीहरुको उपस्थिति भए पनि पुरुष क्रिकेटमा भने नगण्य छ । यसअघि सन् २०११ मा ईंग्ल्यान्डका क्रिकेटर स्टेभन डेभिसले आफू समलिंगी भएको खुलासा गरेका थिए । उनी नै पहिलो समलिंगी पुरुष क्रिकेटर मानिन्छन् । विकेटकिपर ब्याट्सम्यानले ईंग्ल्यान्डबाट ८ एकदिवसीय र ५ टि–२० खेलेका थिए । डेल्ली टेलिग्राफसँगको अन्तरवार्तामा उनले आफ्नो सेक्स ओरियन्टेसनको खुलासा गरेका थिए ।
सन् २०१८ मा साउथ अफ्रिकाको महिला क्रिकेट टिमकी कप्तान डेन भान निकर्क र उनकी टिममेट मारिजेन क्यापले विवाह गरेका थिए । त्यो भन्दा अगाडि न्यूजिल्यान्डका एमी स्याटरह्वाइट र लि ताहुहुले पनि समलिंगी बिहे गरेका थिए । उनीहरुले चार वर्षको प्रेम सम्वन्धपछि २०१४ मा ईंगेज्मेन्ट र २०१७ मा बिहे गरेका हुन् ।
हालै मात्र गत १९ अप्रिलमा न्यूजिल्यान्डकै दुई ब्याट्सवुमन हायली जेन्सेन र निकोला हान्कोकले पनि बिहे गरेका छन् ।
प्रतिक्रिया 4