Comments Add Comment

मातातीर्थमा आमाको सम्झना (फोटो फिचर)

यस्तो छ मातातीर्थको रोचक किम्वदन्ती

२१ वैशाख, काठमाडौं । आज आमाको मुख हेर्ने दिन । वैशाख कृष्णपक्ष औँसीको दिनलाई नेपालीले मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिनको रुपमा मनाउँछन् ।

जन्म दिने आमालाई मीठा परिकार खुवाएर तथा राम्रा कपडा लगाउन दिएर खुशी पार्ने प्रचलन छ । त्यसैले भौगोलिक रुपमा आमाभन्दा टाढा भएकाहरु सकेसम्म आज आमालाई भेटेर सम्मान गर्छन् र आशिर्वाद लिन्छन् ।

तर, आमा नभएकाहरु भने तर्पण र पिण्ड दान गर्न काठमाडौंको थानकोट नजिकै मातातिर्थ पुग्छन् । आफ्नो आमालाई सम्झिँदै मातातीर्थमा पुग्नेहरुको आज घुइँचो लागेको छ ।

आमा नहुने नरनारी मातातीर्थमा गई स्नान तथा हरिहर (विष्णु र शिव)को पूजा गर्छन् । आमा नभएकाहरुले सके प्रत्येक वर्ष, नसके एक पटक मातातीर्थ औंसीमा श्राद्ध गर्नुपर्ने मान्यतासमेत छ ।

मातातीर्थमा मूर्तिकार रामकृष्ण भण्डारीले बनाएको सबैकी आमाको प्रतीक ‘साझा आमा’को मूर्ति स्थापना गरिएको छ । सो मूर्तिले मातातीर्थको आकर्षण झन् बढाएको छ ।

मातातीर्थको उत्पत्तिका सम्बन्धमा विभिन्न किंवदन्ती प्रचलित छन् । राष्ट्रिय समाचार समितिका अनुसार एउटा किम्वदन्ती यस्तो छ :

धेरै वर्ष पहिले त्यस ठाउँमा गाईवस्तु चराउने चौर थियो । एक दिन एउटा गोठालाले सो चौरमा फ्याँकेको रोटीको टुक्रा हरायो । उसले अचम्म मानी रोटीको अर्को टुक्रा पनि फ्याँक्यो, त्यो पनि हरायो । अरू गोठालाले पनि रोटीका टुक्रा फ्याँके । तीनमध्ये आमा जीवित हुनेले फ्याँकेका रोटी त्यहीँ रही आमा नहुनेले फ्याँकेका रोटी मात्र अलप भए ।

कथा अनुसार पहिलो चोटि रोटी फ्याँक्नेकी आमा पनि थिइनन् । त्यो दिन वैशाख कृष्णपक्षको औंसी थियो । दोस्रो दिन भने अघिल्लो दिनको जस्तो रोटी हराएन । सो कुरा चाल पाई गाउँलेले औँसीको दिन मृत आमा त्यस ठाउँमा आई आफ्ना छोराछोरीले श्रद्धापूर्वक दिएको चिज खाँदा रहेछन् भन्ने विश्वास गरेर त्यस ठाउँमा कुण्ड बनाई मातातीर्थ नामकरण गरियो ।

यसरी हरेक वर्ष आजकै दिन आमा नहुनेले त्यहाँ गई कुण्डमा नुहाएर मीठामीठा खाद्यपदार्थ चढाई मातृ दिवस मनाउन थाले र मातातीर्थ मेला लाग्न थाल्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment