Comments Add Comment

करातेका राष्ट्रिय च्याम्पियनलाई सागको प्रतीक्षा

२२ वैशाख, काठमाडौं । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा थुप्रै खेलाडीहरुले स्वर्ण पदक जिते । कतिले राष्ट्रिय कीर्तिमान बनाए, कतिले धेरै स्वर्ण भिरे ।

स्वर्ण जित्ने मध्ये एक कराँते खेलाडी नविन रसाइलीले भने सेमिफाइनल र फाइनलमा आफ्ना प्रतिद्वन्द्वीलाई नकआउट हाने । बाई पाउँदै दोस्रो चरणमा प्रवेश गरेका प्रदेश ४ का नविनले दिनेश पनेरुलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए । त्यहाँ उनले रोजन खड्कालाई ९–० मा नकआउट गरे ।

फाइनलमा उनका प्रतिस्पर्धी थिए एपीएफका सुवास घताली । सुवास पनि नविनबाट ९–१ ले नकआउट भए । लगातार नकआउट गरेपछि उनी चर्चामा आए ।

यो वर्षौदेखिको तपस्या र मिहिनेतको प्रतिफल हो । राष्ट्रिय च्याम्पियन बन्ने उनको वर्षौंदेखिको सपना थियो । ‘त्यतिबेला अरुले गोल्ड मेडल जित्दा त्यो स्थानमा आफु भएको कल्पना गर्थेँ । म पनि एक दिन च्याम्पियन बन्छु भन्ने अठोट थियो । आज सपना पूरा भएको जस्तो महसुस भएको छ,’ उनी भन्छन् ।

एउटा सपना पूरा भएपनि उनीसँग सपनाका खातहरु छन् ।

एसियन गेम्समा छनोट, तर….

सपना सबैले देखेका हुन्छन् । कतिको सपना पूरा हुन्छ, कतिको टुट्छ । सपना साकार हुने क्षणमा टुट्यो भने त्यसको अलग्गै पीडा हुन्छ ।

विवाद–विवादकै बाबजुद राखेपको समन्वयनमा दुई कराते संघले एसियन गेम्सका लागि ओपन छनोट गरेका थिए । बालाजु डोजोका नविनले पनि भाग लिए । त्यो क्षण याद गर्दै उनी भन्छन्, ‘५० प्रतिशत मेरो मनोबल गिरिसकेको थियो । किनभने मेरो तौल समूहमा सबै राष्ट्रिय च्याम्पियनहरु मात्रै थिए ।’

उनको पहिलो प्रतिद्वन्द्वी नै राष्ट्रिय खेलकुदमा तीन पटक गोल्ड मेडल जितेको मुकुन्द महर्जन थिए । महर्जनलाई स्तब्ध पारेपछि उनले एपीएफका मोहन कार्कीसँग दोस्रो खेलमा प्रतिस्पर्धा गरे । दोस्रो खेलमा पनि जित हात पार्दै उनी सेमिफाइनलमा प्रवेश गरे । सेमिफाइनलमा सुवासलाई पराजित गर्दै फाइनलमा पुगे । पहिलो पटकमै राष्ट्रिय च्याम्पियनहरुलाई पराजित गर्दै फाइनलमा पुगेका नविन एसियन गेम्स खेल्नबाट एक कदम पछि मात्रै थिए ।

फाइनल पनि उनकै पक्षमा आयो । विजय लामामाथि जित हात पार्दै उनी एसियन गेम्समा छनोट भए । विवाद भएपछि फाइनल खेल राति १२ बजे भएको थियो । ‘फाइनल रातको १२ बजेतिर भयो । मेरो खेल हेर्न साथीभाई सबै उपस्थित भएका थिए । त्यो क्षण मेरा लागि अविस्मरणीय छ । म खुशीले रोएको थिएँ ।’

२०१८ को इन्डोनेसियामा हुने एसियन गेम्सका लागि ६७ तौल समूहमा उनी छानिएका थिए । उनको एउटा सपना पूरा हुँदै थियो । तर, त्यो खुशी एक महिना पनि टिकेन ।

उनले क्लोज क्याम्पमा भाग लिन पाएनन् । दावा गुरुङ अध्यक्ष रहेको राष्ट्रिय मान्यताप्राप्त कराँते महासंघ र पुरेन्द्रविक्रम लाखेको अध्यक्षमा रहेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त कराँते महासंघको विवादको चेपुवामा उनीजस्ता खेलाडी परे ।

क्लोज क्याम्पमा पर्न नसकेपछि आँशुका धारा बगे । एसियन गेम्समा छनोट हुँदा खुशीले रोएका थिए भने छनोट भएर पनि खेल्न नपाउँदा दुःखले रोए । एसियन गेम्समा छनोट भएर पनि खेल्न नपाउँदा डिप्रेसनमै परेको नविन बताउँछन् । लगभग एक डेढ महिनासम्म उनले सुतेरै विताएँ तर, पनि हिम्मत भने हारेनन् ।

अन्तर्राष्ट्रिय सफलता

१० वर्षको उमेरदेखि कराते सिक्न थालेका नविनले प्रतिभावान खेलाडी भएर पनि अवसरकै पर्खाइमा रहे । उनले ३५ केजी तौल समूहबाट खेल्न सुरु गरेका थिए । स्वर्ण पदक भने ४० केजी तौल समूहमा जित्न सफल भए । अन्तर्राष्ट्रिय प्रतियोगितामा उनले स्वर्ण पदकमा ह्याट्रिक समेत हानेका छन् ।

परिवारको राम्रो साथ र सहयोग पाएका नविन घरबाट पनि खेल्नमै फोर्स गर्ने गरेको बताउँछन् । उनी भन्छन्, ‘हरेक कुरामा परिवारको साथ पाएको छु । विहान बेलुका अभ्यास गर्छु । मलाई बाबा आमाले अरु काममा फोर्स गर्नुभएको छैन ।’

उनले २०१४ मा पहिला अन्तर्राष्ट्रिय प्रतियोगिताका रुपमा भारतमा भएको दक्षिण एसियाली कराते च्याम्पियनसिपमा भाग लिएका थिए । पहिलो सहभागितामा नै स्वर्ण पदक जित्न सफल भए । यही प्रतियोगिताको २०१६ मा भारतमै र २०१७ मा श्रीलंकामा भएको संस्करणमा पनि उनले स्वर्ण जितेर ह्याट्रिक पूरा गरे ।

त्यसो त उनले थुप्रै देशमा गएर खेलका छन् । थाइल्यान्ड ओपनमा कास्य पदक जितेका छन् । राष्ट्रिय प्रतियोगितामा पनि उनले थुप्रै गोल्ड मेडल जितेका छन् । नविनको विश्वास छ, अवसर पाए जुनै प्रतियोगितामा पनि राम्रो नतिजा ल्याउनसक्छु ।’

अबको लक्ष्य साग

आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेसँगै नविनमा आत्मविश्वास बढेको छ । राष्ट्रिय खेलकुदपछि विभागीय टिम नेपाल पुलिस क्लबमा करारमा अनुबन्धित भएका छन् । पुलिसमा अनुबन्धले झनै उत्साह थपेको उनले बताए ।

उनको अबको लक्ष्य साग भएको बताउँछन् । ‘एसियन गेम्समा मेडल हाम्रा लागि कठिन नै हुन्छ । झनै ओलम्पिक भनेको धेरै परको कुरा हो’ उनी थप्छन्, ‘त्यसैले अबको ध्यान भनेको साग खेलकुद हो । स्वर्ण जित्छु नै भन्ने हिम्मत छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment