Comments Add Comment

खुशीलाल मण्डलको व्यंग्य : मधेसवाद बाँकी छ र ?

२३ वैशाख, जनकपुरधाम । राष्ट्रिय राजनीतिमै एक समयको चर्चित नाम हो, खुशीलाल मण्डल । राजनीतिमै जीवन बिताएका मण्डल अहिले भने गुमनाम जस्तै छन् । २००७ सालको राणा बिरोधी आन्दोलनबाट राजनीतिमा आएका उनी लामो समय नेपाली कांग्रेसमा रहे ।

२०४६ सालमा प्रजातन्त्र पुनर्स्थापनापछि मण्डलले कांग्रेसभित्र संविधानसभाको मुद्दा उठाए । पार्टी नेतृत्वले त्यसमा चासो नदेखाएपछि उनी निस्कृय बने । ‘त्यसपछि २०५१ सालमा स्व. गजेन्द्रनारायण सिंहको नेपाल सदभावना पार्टीमा प्रवेश गरेर मधेसका लागि आवाज उठाउन थालें’, उनी भन्छन् ।

खुशीलाल मण्डल मधेस समस्या समाधानका लागि पटक-पटक आन्दोलनमा होमिए । अहिले चाहिँ राजनीतिक घटनाक्रम नियाल्नमा सीमित बनेका देखिन्छन् । उनी मधेस मुद्दा बर्बादीको संघारमा पुगिसकेको देखिरहेका छन् । ‘मधेसवाद बाँकी रहेन’, उनले भने, ‘मधेसको नाममा राजनीति गर्नेहरु सत्ता सुखमा लागिपरेका छन् ।’

विगतमा मधेसबिरोधी काम गर्नेहरुसँगै अहिलेका मधेसका मसिहाहरु मिलेको मण्डलको आरोप छ । ‘केही अघिसम्म केपी ओलीलाई मधेस बिरोधी, प्रतिकृयावादी देख्नेहरु अहिले उनैले दिएको कुर्सिमा विराजमान छन्’, उनले भने, ‘मधेसको राजनीतिमा मधेसवाद बाँकी रहेको भए यो कसरी सम्भव हुन्थ्यो ।’

पुराना नेता मण्डल केपी ओली मात्र होइन, बाबुराम भट्टराई पनि खाँटी मधेसबिरोधी देख्छन् ।

मधेसको नाममा राजनीति गर्ने उपेन्द्र यादवले तिनै भट्टराईसँग पार्टी एकता गर्न लागेको सुन्दा आफूलाई धेरै अनौठो नलागेको उनले बताए । उनले भने, ‘मधेसवाद बाँकी रहेको थियो भने यस्तो सम्भव थिएन ।’

यो पनि पढ्नुहोस उपेन्द्र र बाबुरामको एकता घोषणा सोमबार, बन्ने भयो समाजवादी पार्टी

२३ कात्तिक २०६३ मा संविधानसम्बन्धी एउटा छलफलमा मधेसप्रति आफ्ना असली धारणा राखेपछि भट्टराईलाई आफूले राम्ररी चिनेको मण्डल बताउँछन् । ‘छलफलमा नागरिकताको कुरा उठ्नेवित्तिकै बाबुरामजी ‘सबै भारतीयलाई नागरिकता दिइहाल्नुस्, तपाईंहरु पनि उतैबाट आउनुभएको होइन ?’ भन्दै कड्किनुभो’, उनले भने, ‘ओलीजीले पछि त्यही भन्न थाल्नुभो ।’

अन्तरिम संविधान जारी हुँदा सदभावना पार्टीले बिरोध गरेको भए उपेन्द्र यादवले आजको हैसियत बनाउने मौकै नपाउने उनले बताए

‘संविधान संशोधन भन्दै सत्ता सुख’

अहिले मधेसको नाममा राजनीति गर्नेहरु सत्ता सुखमा डुबेको देख्छन्, मण्डल । ‘उपेन्द्रले ओलीलाई सबभन्दा प्रतिकृयावादी र मधेसबिरोधी भनेका होइनन् ? अहिले ओली सुधि्रएर उनी सत्तामा गएका हुन् ?, उनले भने, ‘उपेन्द्रले संविधान संशोधनको मन्त्र जपेर मधेसीलाई धोका दिइरहेका छन् ।’

२३ फागुन २०७२ मा मलेठमा पाँच जनालाई मर्न उक्साउने र सहिदहरुको वार्षिकी मनाउनुभन्दा अघि नै सरकारमा जाने घोषणा गर्नुले उपेन्द्र यादवको मधेस-चिन्ता प्रष्ट पारिसकेको भन्दै मण्डलले तितो पोखे । ‘राजपाका नेताहरुको पनि चरित्र त्यस्तै छ’, उनले भने, ‘मधेसको नाममा राजनीति गर्नेहरु लोभीपापी बनिसकेका छन् ।’

उपेन्द्र यादवलाई राजनीतिमा आउन सदभावना पार्टीले मौका दिएको बताउँछन् मण्डल । अन्तरिम संविधान जारी हुँदा सदभावना पार्टीले बिरोध गरेको भए उपेन्द्र यादवले आजको हैसियत बनाउने मौकै नपाउने उनले बताए ।

१ माघ २०६३ मा अन्तरिम संविधान घोषणा हुँदा सदभावना पार्टीको तर्फबाट हृदयेश त्रिपाठी सरकारमा थिए । ‘त्यस बेला पार्टीले तत्कालै अन्तरिम संविधानको बिरोध गर्नुपर्ने थियो, तर गरेनन्’, मण्डलले भने, ‘सदभावना नबोल्दा संविधान जलाएर उपेन्द्र एकाएक नेता बने ।’

संस्थापक अध्यक्ष गजेन्द्रनारायण सिंहको निधनपछि सदभावना पार्टीलाई व्यक्तिगत स्वार्थले बर्बाद बनाएको मण्डल बताउँछन् । सिंहको निधनपछि त्रिपाठी र राजेन्द्र महतोको कारण पार्टी छिन्नभिन्न बनेको उनले बताए । यी दुईको मत नमिलेपछि स्व. सिंहकी पत्नी आनन्दीदेवीलाई अध्यक्ष बनाइएको उनको भनाइ छ ।

पार्टी जोगाउन आफूले सक्दो प्रयास गरेको बताउँदै मण्डल भन्छन्, ‘मैले नेतृत्व लिएपछि सर्वोच्च अदालतले सरिता गिरिलाई मान्यता दिएर पार्टीलाई इतिहासमा सीमित गरिदियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment