Comments Add Comment

शिक्षक कसरी रोलमोडल बन्न सक्छ ?

एकपटक जंगलका जनवारबीच छलफल भएछ । उनीहरुको एजेन्डा रहेछ ‘किन मान्छे यति धेरै बाठो भएका ? किन सबै कुरा उनीहरु मात्र जान्ने भएका ?’

छलफलपछि निष्कर्ष निस्किएछ, ‘मान्छेहरुको आफ्नो पाठ्यक्रम छ । त्यसैबाट निर्देशित भएर उनीहरु चलाख भएका हुन्, बुद्धिजीवी भएका हुन् ।’

‘त्यसो भए हामीले पनि त्यस्तै पाठ्यक्रम बनाउनुपर्छ’ सहभागीमध्ये कसैले सुझाएछन् । उनको कुरामा सबै सहमत भए । पाठ्यक्रम बन्यो । सर्पले बनाएको पाठ्यक्रममा घिस्रेर हिँड्नुपर्छ भनिएछ । चराले बनाएको पाठ्यक्रममा उड्नुपर्छ भनिएछ । माछाले बनाएको पाठ्यक्रममा पौडनुपर्छ भनिएछ । खरायोले बनाएको पाठ्यक्रममा दौडनुपर्छ भनिएछ । फट्याङ्ग्राले बनाएको पाठ्यक्रममा उपि|mनुपर्छ भनिएछ ।

यस्तो पाठ्यक्रम अनुसार सबैथोक गर्ने एकजना मात्र भएछन्, भ्यागुतो । जमिनमा बस्न सक्ने, पानीमा पौडन सक्ने, उपि|mन सक्ने, दौडन सक्ने, थोरै उड्ने पनि । अरु आफ्नो विधामा सतप्रतिशत सफल भए, अरु विधामा सून्य ।

यो कथाको मर्म के हो भने, सबैको आ-आफ्नै प्रवृत्ति हुन्छ । स्वभाव हुन्छ । गुण, क्षमता, खुबी, रुची फरक हुन्छ । दुनियाँमा ७ अर्ब मानिस छन् । तिमध्ये कुनैपनि व्यक्ति दोस्रो व्यक्ति बराबर हुँदैन । सबै फरक हुन्छन् । र, सबै आफ्नो ठाउँमा सफल हुन्छन् । सही हुन्छन् । तर, यस्तै हुनुपर्छ, यो बन्नुपर्छ भनेर सबै बालबच्चालाई एउटै तराजुमा राखेर जोखियो भने त्यो गलत हुनजान्छ । चरालाई यदि पानीमा पौडन लगाइयो भने त्यो कसरी संभव हुन्छ । चरा त जहिले पनि असफलको असफल नै हुने भयो नि । यससँगै उसको उड्ने गुण र क्षमता पनि नष्ट भयो ।

एउटै कोखबाट जन्मिएका दुई दाजुबहिनीको रुची, गुण, स्वभाव, क्षमता एकनास हुँदैन । जुम्ल्यहाको पनि हुँदैन ।

भनिन्छ, गर्भबाटै बच्चाले आफ्नै विशिष्ठ क्षमता र गुण लिएर जन्मन्छन् । हामी शिक्षक/शिक्षिका एवं अभिभावकले बुझ्नुपर्ने कुरा यत्ति हो । हरेक बच्चा फरक हुन्छन् । हरेक बच्चाको आफ्नै जन्मजात गुण र क्षमता हुन्छ ।

अतः हामीले उनीहरुको रुची, खुबी, क्षमता बुझ्नुपर्छ । उनीहरुलाई के सिकाउने, कसरी सिकाउने, के गराउने, कसरी गराउने भन्ने कुरा तब मात्र संभव र प्रभावकारी हुन्छ ।

शिक्षक ज्ञाता होइन, सहजकर्ता

सिकाईको अनेक शैली विद्यमान छन् । पढाउने तरिका र विधीहरु फरक छन् । तर, अबको अवस्थामा हामीले विद्यार्थीलाई पढाउने, घोकाउने, उपदेश दिने होइन । किनभने अब विद्यार्थीलाई जानकारी चाहिएको छैन । विद्यार्थी आफै जान्ने छन् । उनीहरुले विभिन्न माध्यामबाट जानकारी बटुलेका छन् । गुगलमा सर्च गरियो भने निमेषभरमै आफुले खोजेको जानकारी प्राप्त हुन्छ । यसर्थ अबका विद्यार्थीलाई जानकारीको खाँचो छैन ।

विद्यार्थीका लागि अब शिक्षक सहजकर्ता मात्र बन्ने हो । अर्थात कक्षाकोठामा विद्यार्थीले जान्न चाहेको कुरा कसरी खोज्ने, के खोज्ने भन्ने कुरामा सहयोगी बन्ने हो । आफै सम्पूर्ण ज्ञाता बनेर सिकाउने होइन ।

विद्यार्थीले जानेकै कुरालाई कसरी जीवनोपयोगी बनाउने ? कसरी प्रयोगमा ल्याउने भन्ने कुरा महत्वपूर्ण हो । ज्ञान आफैमा सम्पूर्ण कुरा होइन । ज्ञानसँगै विवेक पनि चाहिन्छ । र, विवेकसम्मत ढंगले प्रयोग गरिएको ज्ञानले नै सही नतिजा दिन्छ ।

शिक्षण एक समर्पण पनि

रामचन्द्र खनाल

सानै छँदा मेरो सपना थियो, शिक्षक बन्ने । शिक्षक मेरो आदर्श थियो, शिक्षण रुची थियो । सोच्थें, कुनै दिन शिक्षक बनेर कक्षाकोठामा पठनपाठन गराउनेछु । दिनगन्ती त गरिएको थिएन, आज फर्केर हेर्दा शिक्षण पेशामा २५ बर्ष बिताइएछ ।

म झापाको जुन परिवेशमा हुर्किए, त्यसबाट पनि मलाई शिक्षा र शिक्षणप्रति रुची जागेको होला । विद्यालय तहमा छँदा नै मैले शिक्षक बन्ने अभ्यास गरिसकेको थिएँ । एसएलसीपछि पनि शिक्षा संकाय लिएर पढें ।

शिक्षण क्षेत्रमै लागें । जहाँ रुची हुन्छ, त्यहाँ रमाइन्छ । जहाँ रमाइन्छ, त्यहाँ समर्पण हुन्छ ।

आफुले जुन काम गरिन्छ, जे गरिन्छ, त्यसमा समर्पण हुनैपर्छ । भनिन्छ नि, पूर्ण रुपमा समर्पित भएर गरिने कामबाट नै सन्तुष्ट र सफलता मिल्छ ।

हामी अक्सर अथाह पैसा आर्जन हुने क्षेत्रमा भविष्य बनाउन रुची गर्छौ । उन्नत जीवनशैलीको परिकल्पना गर्छौ । ऐश-आरम खोज्छौ । तर, शिक्षण पेशामा यी सबै कुरा उपलब्ध हुन्छ भन्ने छैन । शिक्षण भनेको समर्पणको पेशा हो । शिक्षक बनेर अथाह पैसा कमाइन्छ भन्ने सोच्नु उपयुक्त छैन । त्यस्तै यहाँ, छल-कपट चल्दैन । शिक्षक हरक्षण सक्रिय हुनुपर्छ, क्रियशिल हुनुपर्छ, गतिशिल हुनुपर्छ, चलयामान हुनुपर्छ ।

आदर्श शिक्षकको खोजी

शिक्षक एक आदर्श बन्नसक्छ, विद्यार्थीका लागि । शिक्षकसँग यो अवसर सधै खुला हुन्छ । किनभने उनीहरु हरक्षण विद्यार्थीसँग अन्र्तक्रिया गरिरहेका हुन्छन् । विद्यार्थीसँग एकाकार भइरहेका हुन्छन् ।

विद्यार्थीलाई लागोस् कि, मेरा शिक्षकले सबै कुरा जानेका छन् । बुझेका छन् । मेरा सबै समस्या सुल्झाउन सक्छन् । मेरो समस्या बुझ्न सक्छन् । मलाई बुझ्न सक्छन् । मेरो अवस्था एवं स्थितीलाई बुझेका छन् ।

विद्यार्थीको मनोभाव बुझेर त्यही अनुसार व्यवहार गर्ने शिक्षकलाई विद्यार्थीले रुचाउँछन् । जब उनीहरु कक्षाकोठामा उपस्थित हुन्छन्, विद्यार्थी खुसी हुन्छन् । उत्सुक हुन्छन् । किनभने ति शिक्षकसँग उनीहरुले आफ्नो कुरा प्रष्टसँग राख्न सक्छन् ।

हामीले जुन विषय पढाउँछौ, जे पढाउँछौ, त्यो प्रष्ट रुपमा हुनुपर्छ । विद्यार्थीले हामीबाट सिक्नुपर्छ । जान्नुपर्छ । शिक्षक नै विद्यार्थीको मागर्दशक हुन् । जब शिक्षक नै कमजोर र कमसल छ भने विद्यार्थीको भविष्य संकटमा पर्न सक्छ ।

कस्ता शिक्षक खतरनाक ?

शिक्षकको सम्बन्ध बच्चाको जीवन र भविश्यसँग जोडिएको हुन्छ । आफ्नो पेशाको यो संवेदनशीलतालाई बुझेनन् भने त्यो भयानक त्रुटी हुनपुग्छ ।

विद्यार्थीको भावना नबुझ्ने, शिक्षाको संवेदनशीलता नबुझ्ने र शिक्षालाई केवल जागिरका रुपमा लिने शिक्षक खतरनाक हुन्छन् । उनीहरुलाई देख्दा विद्यार्थीको अनुहारमा अध्याँरो छाउँछ । यस्ता शिक्षकलाई सम्झदा विद्यार्थी भयभित हुन्छन् । जब उनीहरुलाई पढ्न र विद्यालय जान मन लाग्छ, त्यही शिक्षकको डरले उनीहरु पछि हट्छन् ।

त्यसैले जागिरे मानसिकताका शिक्षकले विद्यालय र विद्यार्थी दुबैको हित गर्दैन ।

कति शिक्षक हुन्छन्, जो विद्यार्थीले समान रुपमा बुझ्छन् भन्ने धारणा राख्छन् । जबकि विद्यार्थीहरुको मस्तिष्क फरक हुन्छ, समस्या फरक हुन्छ, पृष्ठभूमी फरक हुन्छ । विद्यार्थी मेसिन होइनन् । उनीहरुको आफ्नै परिवार छ, समाज छ । त्यहाँ पनि उनीहरुले विभिन्न किसिमको समस्या झेलिरहेका हुन्छन् । जब कुनैदिन उनीहरुले होमवर्क छुटाउँछन्, पुस्तक छुटाउँछन्, रुटिन फलो गर्दैनन्, तब उनीहरुलाई सजाय दिनुपर्छ भन्ने हुँदैन । उसले किन होमवर्क गरेन ? पुस्तक किन ल्याएन ? रुटिन किन फलो गरेन ? समस्या बुझ्ने प्रयास गर्नुपर्छ ।

विद्यार्थीलाई यसो गर, उसो गर भनेर तिखार्ने होइन । उनीहरुले कुन काम रुचीपूर्वक गर्न रुचाउँछन् भन्ने कुरा शिक्षकले बुझ्नैपर्छ ।

अहिले कतिपयले यस क्षेत्रमा रुचीले भन्दा पनि लहडले काम गरिरहेका छन् । जागिरकै लागि शिक्षक बन्नु पक्कै राम्रो होइन, यदि उनमा रुची र समर्पण छैन भने । यस्ता शिक्षकहरुले विद्यार्थीलाई सही रुपमा बुझ्न सक्दैनन् ।

कस्तो हुनुपर्छ कक्षाकोठा ?

तपाईं/हामी ठूला भइसक्यौ । पेशा-व्यवसाय गरिरहेका छौ । जान्ने-बुझ्ने भएका छौ । तर, हामीलाई आफ्नो रुची नभएको कुरा जबरजस्ती सिकाइयो भने हामी बुझ्छौ ?

हामीलाई जुन विषयमा रुची र चासो छैन, त्यस विषयमा कुरा सुन्नु दिक्कलाग्दो हुन्छ । कुनै ठाउँमा बसेर हामी यस्ता कुरा सुनिरहन सक्दैनौ । हामीलाई सजाय कटाए जस्तै हुन्छ ।

ठीक यसैगरी विद्यार्थीलाई पनि कक्षाकोठा यातनागृह जस्तै लाग्न सक्छ, यदि उनलाई जबरजस्ती पढाउने वा बुझाउने चेष्टा गरियो भने । बच्चालाई कुनै कुरा सिकाउनु वा जबरजस्ती पढाउनुभन्दा पहिले रुची जगाउनुपर्छ । उत्सुकता जगाउनुपर्छ । जहाँ रुची एवं उत्सुकता हुन्छ, त्यहाँ उनीहरु रमाउँछन् ।

तर, तैंले यति पढ्नैपर्छ, यति जान्नैपर्छ, यति होमवर्क गनैपर्छ भनियो भने त्यसले बच्चालाई शिक्षित र दक्ष बनाउने होइन, बरु दबाव पैदा गर्छ । यस्तो अवस्थामा विद्यार्थीको मानसिकता नै फरक भएर जान्छ । उनीहरु ति शिक्षकसँग डराउन थाल्छन् । ति शिक्षक कक्षाकोठामा नआए हुन्थ्यो भन्ने चाहन्छन् ।

कक्षाकोठामा विद्यार्थीलाई पढाउने होइन । पढाएको कुरा दिगो हुँदैन । बुझाएको वा सिकाएको कुरा दिगो हुन्छ । सानो छँदा हामी साइकल कुदाउँथ्यो । पछि लामो समय साइकल चलाइएन । अस्ति भर्खर घर गएको बेला मैले साइकल चलाएँ । सानोमा गरेको अभ्यास अहिलेपनि भुलेको रहेनछु । भनाईको अर्थ के भने, उत्सुकताले सिकेको कुरा जीवनभर रहन्छ । तर, पढाइएको, घोकाइएको कुरा यसरी रहँदैन ।

मैले विद्यार्थी जीवनमा कति पढें, कति । के-के पढें, के-के । आज म ति सबै सम्झन सक्दिन । मेरो विषयभन्दा अरु कुरा मैलें बिर्सिएँ । तर, जुन-जुन कुरा सिक्यौं, त्यो अझैपनि उपयोगी छन् ।

नयाँ पुस्ता जहिले एडभान्स

अहिले शिक्षकभन्दा विद्यार्थी जान्ने छन् । शिक्षकलाई भन्दा बढी कुरा विद्याथीलाई आउँछ । अझ प्रविधिको कुरामा त उनीहरु एक कदम अगाडि छन् । शिक्षक र विद्यार्थीवीच एउटा ग्याप छ । यसकारण नै भनिएको हो कि, शिक्षक भनेको अब सहजकर्ता मात्र बन्ने हो । ज्ञान वा उपदेश दिने होइन । विद्यार्थीलाई जानकारी चाहिएको छैन । उनीहरुले जानेका कुरालाई कसरी जीवनोपयोगी बनाउने भन्ने कुरा मात्र बुझाउने हो ।

हुन त नयाँ पुस्ता जहिले पनि एडभान्स हुन्छन् । हाम्रा बाबु-बाजेभन्दा हामी एक कदम अगाडि नै थियौं । अहिलेका हाम्रा बच्चा हामीभन्दा अगाडि छन् । अझ उनीहरु डिजिटल युगमा छन् । अनेक किसिमका ग्याजेट्स, इन्टरनेटको सुविधाले उनीहरुलाई धेरै अगाडि धकेलिदिएको छ ।

यसको साइट इफेक्ट पनि छ । बच्चाहरु ग्याजेट्समै तल्लिन हुन थालेका छन् । यस्तो अवस्थामा कतिपय अभिभावकको टाउको दुखाइको विषय बनेको छ, छोराछोरीको ग्याजेट्सप्रतिको आशक्ति ।

वास्तवमा हामीले ग्याजेट्स छुनै नदिने होइन, चलाउनै नदिने होइन । यसलाई बन्देज वा निषेध गरेर हुँदैन पनि । तर, समूचित ढंगले प्रयोग गर्न सिकाउनुपर्छ । यसका लागि समय निर्धारण गरिदिनुपर्छ । जब सही ढंगले र सही समयमा उनीहरु मोबाइल चलाउँछन्, टिभी हेर्छन्, कम्प्युटर चलाउँछन्, त्यसबाट पनि उपयोगी कुरा आर्जन गरिरहेकै हुन्छन् ।

अभिभावकले के बुझ्नुपर्छ भने, घर पनि आफैमा विद्यालय हो । घरबाट बच्चाले धेरै कुरा सिक्छन् । यसकारण बच्चालाई घरको काममा प्रेरित गरौं । सानोतिनो काम उनीहरुलाई गर्न दिनुपर्छ । यसले उनीहरुको क्षमता विकास हुन्छ । यसका साथसाथै बच्चालाई परिवारको संस्कार पनि सिकाउनुहोस् । समाजसँग घुलमिल गराउनुहोस् । पारिवारिक मूल्य र मान्यता बुझाउनुहोस् । तर, अर्ती दिएर होइन, उदाहरण बनेर । अभ्यास गरेर ।

(डीएभी सुशील केडिया स्कुलका भाइस पि्रन्सिपल खनालसँग कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment