Comments Add Comment

राष्ट्र बैंकले ऋण उठाउने भएपछि बैंकमा फेरि तरलता समस्या देखिने संकेत

२७ वैशाख, काठमाडौं । बैंकिङ क्षेत्रमा फेरि तरलता समस्या देखिने संकेत देखा परेको छ । नेपाल राष्ट्र बैंकले ८६ अर्ब रुपैयाँ प्रणालीबाट उठाउने भएसँगै तरलता समस्या (पुँजीको अभाव) हुने संकेत देखिएको हो ।

राष्ट्र बैंकले बिहीबार वार्षिक ऋणपत्र निष्काशन तालिका सार्वजनिक गर्दै ५० अर्ब रुपैयाँको ट्रेजरी विल र २६ अर्ब रुपैयाँको विकास ऋणपत्र उठाउने बताएको छ । यो रकम अब प्रणालीबाट निस्केर सरकारको ढुकुटीमा जम्मा हुन्छ ।

राष्ट्र बैंकले आगामी ३० देखि जेठ १४ गतेसम्म ८६ अर्ब रुपैयाँ ९१ दिनदेखि १४ वर्षसम्मका लागि ऋण उठाउन लागेको जानकारी दिएको छ । आर्थिक वर्षको समाप्तिमा आएर ठूलो परिमाणमा लगानी यसरी आन्तरिक ऋण उठाउदा बैंकिङ क्षेत्रमा तरलता समस्या देखिने बैंकरहरुले बताएका छन् ।

‘हामी हरेक वर्षजसो लिक्यूडिटी समस्या झेलिरहेका छौं, गत दशैंमा पनि समस्या झेल्यौं अब राष्ट्र बैंकको यो कदमले थप समस्यामा पर्ने निश्चित छ’, वाणिज्य बैंकका एक सीईओले भने, ‘आन्तरिक ऋणमार्फत १ खर्ब ७२ अर्ब रुपैयाँ उठाउने लक्ष्य थियो, आर्थिक वर्षको अन्तिममा ८६ अर्ब लिन खोज्दा समस्या देखिने त पक्का नै छ ।’

भुक्तानी नदिए समस्या हुन्छ : कार्यकारी निर्देशक थापा

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापा पनि ८६ अर्ब रुपैयाँ उठाउँदा बैंकिङ क्षेत्रमा यसको प्रभाव पर्ने बताउँछन् ।

आर्थिक वर्षको शुरुदेखि नै उठाउनु पर्नेमा अन्तिममा आएर एकैचोटी उठाउँदा केही समस्या भने पर्न सक्ने उनले बताए । ‘पहिलो क्वार्टरदेखि नै उठाउनु पर्ने थियो, अहिले उठाउँदा त सक हुने देखिन्छ’, राष्ट्र विभागका प्रमुखसमेत रहेका थापाले भने, ‘अब सरकारले दिनु पर्ने भुक्तानीतर्फ ध्यान दिन सकेमा समस्या नआउन सक्छ ।’

विकास निर्माणको काममा ठेकेदारहरुले पाउनु पर्ने भुक्तानी पाउन सकेका छैनन् । समयमा नै सरकारले उक्त भुक्तानी दियो भने खासै समस्या नआउने उनले बताए ।

उनले भने, ‘१६० अर्ब रुपैयाँभन्दा बढी ठेकेदारको भुक्तानी हुन बाँकी छ भन्ने कुरा सुन्नमा आएको छ यो भुक्तानी भयो भने त्यति समस्या हुँदैन ।’

८६ अर्ब रुपैयाँ उठाउने र भुक्तानी पनि नहुने हो भने बैंकिङ क्षेत्रमा तरलता समस्या सिर्जना हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment