Comments Add Comment

धुर्मुस सुन्तलीले बनाउने क्रिकेट रंगशालाका लागि जेठभित्रै ३० करोड चाहिने

अहिलेसम्म ६ साढे ६ करोडको प्रतिवद्धता आएको छ : धुर्मुस

२९ वैशाख, चितवन चितवनको रामपुरमा निर्माण गर्न थालिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि जेठभित्र ३० करोड रुपैयँ आवश्यक पर्ने भएको छ । रंगशाला निर्माणको जिम्मा लिएको धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) ले आइतबार चितवनमा पत्रकार सम्मेलन गरी मसान्तसम्ममा ३० करोड रुपैयाँ आवश्यक पर्ने बताएका हुन् ।

हालसम्म ६ करोड ५० लाख रुपैयाँको प्रतिवद्धतामात्र आएको छ । त्यो पनि सबै रकम उठिसकेको छैन । भदौ महिनामा औपचारिक शिलान्यास गर्नका लागि आवश्यक कच्चापदार्थ खरिद गर्न ठूलो रकम आवश्यक परेको हो । रङ्गशाला क्षेत्रलाई टिनले बार्ने, निर्माण गर्दा आवश्यक पर्ने कार्यालय निर्माण, कर्मचारी आवास गृह, गोदाम घर, सुरक्षाकर्मी घरलगायत आवश्यक संरचना निर्माण भइसकेको कट्टेलले बताए ।

मैदान बनाउनका लागि काठमाडौँका दुई स्थानबाट परीक्षण गरी माटो ल्याइएको छ भने तनहुँबाट पनि माटो ल्याउने तयारी भइरहेको उनले बताए । मैदानसँगै दुबो रोप्नका लागि ब्याडमा दुबो हुर्काउने काम शुरु गरिएको छ । पहिलो चरणमा मैदान तयार गरी प्याराफिट र अन्य काम अघि बढाउने तयारी गरिएको छ ।

कट्टेलले आर्थिक सहयोगका लागि देशभर अभियान शुरु हुने क्रममा रहेको बताउँदै कतिपय जिल्लामा सहयोग समिति बनेर रकम सङ्कलन हुन थालेको बताए । चितवनमा जिल्ला, महानगर, नगर, गाउँपालिका र वडास्तरीय सँगै विभिन्न सरोकारवाला निकायको छुट्टाछुट्टै समिति निर्माण गरी आर्थिक सङ्कलन अभियानलाई तीव्रता दिने तयारी छ ।

यससँगै सबै जिल्लामा समिति निर्माण गरी रङ्गशालाको अपनत्व लिने गरी आर्थिक सहयोग अभियानलाई तीव्रता दिइने उनले बताए । बहुउपयोगी रङ्गशला निर्माणमा तीन अर्ब रुपैयाँ लाग्ने धुर्मुस–सुन्तली फाउण्डेशनले जनाएको छ । अहिले बन्न लागेको रङ्गशालामा ३५ खेल खेलाउन सकिनेछ । त्रिभुवन विश्वविद्यालयको नाममा रामपुरमा रहेको २० बिघा ६ कट्ठा जग्गामा रङ्गशाला निर्माण गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment