Comments Add Comment

स्वरोजगार कथा : सुकनीदेवीले अर्को फ्रिज किनिन् !

२९ वैशाख, वीरगञ्ज । ‘है देख लगिन हो, जेकरा खेत हलहीं नैखे, ओकरा घरमे बेरी बनावल जाता !’ (हेर न, जसको घरमा खेत छैन, उसैले भकारी बनाइरहेछ ।)

सुकनीदेवी धानुकले बेरी बनाउन शुरु गर्दा बाटो हिँड्ने मानिसहरु यसै भनेर गिज्याउँथे । यसरी गिज्याउनेहरुले त्यतिबेला कुरा बुझे जब २३ हजार रुपैयाँको धान उनले बेरीमा हालिन् ।

चिया, पकौडी र भुजा बेच्ने श्रीमानको आम्दानी र सुकनीको ज्यालाबाट मुश्किलले जीवन धानिरहेको परिवारमा त्यस्तो परिवर्तन आउला भनेर सायदै कसैले अनुमान गरेका थिए । त्यतिबेलाको दुख सम्झिँदा अहिले पनि ३९ वर्षीया सुकनीदेवी गहभरि आँशु पार्छिन् ।

‘सीडीपी हमर सारा दुःख छिनके झोलीभर सुख डालदेलख, (सामुदायिक विकास कार्यक्रमले मेरो सारा दुःखलाई सुःखमा परिणत गरिदियो)’ उनी भन्छिन् ।

धुतिनमाई नागरिक सचेतना केन्द्र (नासके) कि अध्यक्ष सुकनीदेवीले स्वरोजगार बारेको एक छलफलमा भाग लिएपछि श्रीमानसँगै व्यवसाय गर्ने मनस्थिति बनाइन् । चिया, भुजा र पकौडी बेच्ने श्रीमानको मामुली पसलमा फ्रीज राख्ने सल्लाह गरिन् । व्यवसाय गर्न तयार भएकी उनलाई नागरिक सेचतना केन्द्रले मद्दत गर्‍यो ।

नेपाल सरकार तथा बेलायत सरकारको आर्थिक सहयोगमा सञ्चालित सामुदायिक विकास कार्यक्रम (सीडीपी) ले नासकेमा घुम्ती कोष सञ्चालनका लागि १ लाख रुपैयाँ दिएको थियो । त्यही घुम्तीकोषबाट २० हजार ऋण र आफुसँग भएको ७ हजार मिलाएर एउटा फ्रिज र केही चिसो पेय पदार्थ किनेर उनले व्यापार सुरु गरीन् । आफैं पसलमा बसेर उनले पेय पदार्थसँगै जेरी, पकौडी, हलुवा, चना, माछा, मासुलगायत नास्ताका परिकार बनाएर बेच्न थालिन् ।

वीरगञ्ज महानगरपालिका–२९ वसडील्वामा रहेको उनको पसलमा ग्राहक झुम्मिन थाले । आम्दानी बढ्दै गयो । पसलको आम्दानीले उनीहरुले ठूलो खवटाको घर बनाए । अहिले त पसल पनि २ वटा बनाइसकेका छन् । भीडभाड बढी हुने वडा कार्यालयको भवन अगाडि ६ महिनादेखि अर्को पसल सञ्चालनमा ल्याएका हुन् ।

दुई छोरा र एक छोरीको विवाह गरिसकेका सुकनी दम्पती बिहान र साँझ दुईवटै पसलमा खाजा, चिसो पेय पदार्थका साथै केही किराना समानसमेत बेच्छन् । यसको आम्दानीबाट ३ वटा सहकारीमा दैनिक बचत गर्ने गरेका छन् ।

‘जहिलेदेखी बुढाबुढी मिलेर काम गर्न थाल्यौं, सबै कुरा राम्रो हुँदै गयो,’ सुकनीका श्रीमान दर्शन महतो धानुक खुशी हुँदै भन्छन् ।
पैसा गन्दै गरेकी सुकनी हर्षित मुद्रामा कान र गला देखाउँदै थप्छिन्, ‘घटीमा पनि मेरो ५ सय र श्रीमानको ७ सय रुपैयाँ आम्दानी हुन्छ । कानका लागि सुनको गहना, सुनकै मंगलसुत्र बनाइसकेको छु । नाति र दुईवटै बुहारीलाई पनि गहना बनाइदिएका छौं ।’

एउटा छोराले राजमिस्त्रीको काम गरी कमाएको बचत गर्न लगाई सुकनी र दर्शनले घरायसी आवश्यकता पूरा गरेका छन् । एउटा छोरा रोजगारीका लागि विदेशमा छन् । उनी फर्केपछि फेरि विदेश नपठाउने सोच बाबुआमाको छ ।

लिएको ऋणको सदुपयोग र समयमै चुक्ता गर्न सिकेकी सुकनीदेवी अन्य दिदिबहिनीलाई पनि व्यापार व्यवसायमा लाग्न अनुरोध गर्छिन् ।

‘४ किलो धान वा १ सय २५ रुपैंयाँ ज्यालाका लागि दिनभर घाममा दौडनु अनि भोकै प्यासै बस्नुभन्दा ऋण गरेरै भए पनि आफ्नो व्यवसाय गर्न सक्दा महिला आर्थिक रुपमा सक्षम हुन सकिन्छ,’ उनले आफ्नो अनुभव सुनाइन् ।

सुकनीको संघर्षलाई नजिकैबाट नियालेकी सामुदायिक विकास कार्यक्रमकी फिल्ड सुपरभाइजर लक्ष्मी खरेल मेहनत र लगाशीलताका साथ काम गर्ने हो भने जीवनस्तरमा परिवर्तन आउन समय नलाग्ने बताउँछिन् ।

‘आज मात्रै मेरो सुकनी दिदीसँग कुरा भएको थियो, उहाँले २४ हजारमा अर्को फ्रिज किनेको सुनाउँदै हुनुहुन्थ्यो,’ उनले भनिन्, ‘ऋण लिन डराउने होइन, ऋण लिएर त्यसको सदुपयोग गर्न सके जीवनस्तरमा अवश्य सुधार आउँछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment