Comments Add Comment

विश्व पौडी च्याम्पियनसिपमा गौरिकासँगै सोफिया छनोट, अरु को-को परेे ?

१ जेठ, काठमाडौं । कोरियामा हुने १८ औं फिना विश्व पौडी च्याम्पियनसिप प्रतियोगिताको लागि नेपालबाट चार खेलाडी छनोट भएका छन् ।

नेपाल पौडी संघले विज्ञप्ति जारी गर्दै विश्व च्याम्पियनसिपमा सहभागी हुने खेलाडीको टुंगो लगाएको उल्लेख गरेको छ । च्याम्पियनसिपमा महिलातर्फ गौरिका सिंह र सोफिया शाह छनोट भएका छन् । त्यस्तै, पुरुषतर्फ शुभम श्रेष्ठ र एलेक्सजेन्डर शाह छनोट भएका छन् ।

आठौं राष्ट्रिय खेलकुदमा खेलाडीले गरेको उत्कृष्ट समयका साथ फिना अंकलाई आधार मानेर खेलाडी छनोट गरेको पौडी संघले जनाएको छ ।

गौरिका सिंहले २०० मिटर फ्रिस्टायलमा २ मिनेट ९.१९ सेकेन्ड समयका साथ ६२४ फिना अंक प्राप्त गर्न सफल भएकी थिइन् । त्यस्तै सोफियाले १०० मिटर  फ्रिस्टायलमा १ मिनेट २.५९ सेकेन्डका साथ ५१७ फिना अंक प्राप्त गर्दै विश्व च्यामिपयनसिपका लागि छनोट हुन सफल भएकी हुन् । महिलातर्फ वैकल्पिक खेलाडीका रुपमा टिषा शाक्य छिन् । शाक्यले १०० मिटर फ्रिस्टायलमा १ मिनेट ३.५६ सेकेन्डका साथ ४९४ अंक प्राप्त गरेकी थिइन् ।

दुआना लामाले ४०० मिटर फ्रिस्टायलमा ४ मिनट ५०.४७ सेकेन्डमा दूरी पार गर्दै ५२६ अंक प्राप्त गरेता पनि फिनाको नियमानुसार च्याम्पियनसिपमा सहभागी हुन १४ वर्ष पुरा हुनु पर्नेमा उनको उमेर १३ बर्ष ५ महिना १७ दिन मात्र भएकोले उमेरका आधारमा च्याम्पियनसिपमा सहभागी हुन नसकेको संघले जनाएको छ ।

त्यस्तै पुरुषतर्फ शुभमले १०० मिटर ब्रेष्ट स्ट्रोक्समा १ मिनेट ८.१५ सेकेन्डमा साथ ५४३ फिना अंक र एलेक्सजेन्डरले १०० मिटर फ्रिस्टायलमा ५५.३८ सेकेन्डका साथ ५३४ फिना अंक हात पार्दै च्याम्पियनसिपका लागि छनोट भएका हुन् । बैकल्पिक खेलाडीको रुपमा रहेका शयद हम्जा शाहले १०० मिटर ब्रेष्ट स्ट्रोकमा १ मिनट ८.८७ सेकेन्डका साथ ५२६ अंक हात पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment