Comments Add Comment

प्रधानमन्त्रीको इच्छाअनुसार बुटिक एयरपोर्ट बनाउन २३ करोड खर्चिदै

३ जेठ, काठमाडौं । सरकारले त्रिभुवन विमानस्थललाई ‘बुटिक एयरपोर्ट’ को अवधारणामा ढाल्न २३ करोड रुपैयाँ खर्च गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीकै इच्छामा देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थललाई मौलिक साजसज्जासहित रुपान्तरण गर्न लागिएको हो ।

यो कामका लागि अर्थ मन्त्रालयबाट हालै २३ करोड रुपैयाँ खर्चको अख्तियारी पाएसँगै धमाधम काम भइरहेको विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । सरकारले १ वैशाख २०७६ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्ट घोषणा गर्ने योजना थियो । यससम्बन्धी कार्यविधि बनाएर कार्यान्वयनमा लैजाने तयारी भइसकेको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिबाट १४ फागुनमा यससम्बन्धी निर्णय पनि भइसकेको थियो । तर, १५ फागुनमा पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित प्राधिकरणका उच्च पदाधिकारीको हेलिकोप्टर दूर्घटनामा निधन भएसँगै यो अभियान प्रभावित भयो । अहिले भने विमानस्थलमा भौतिक पूर्वाधार निर्माण, कलात्मक वस्तु तथा मूर्तिहरु निर्माणको काम भइरहेको क्षेत्रीले बताए ।

अहिले विमानस्थलको धावनमार्ग पुनर्निर्माणको काम चलिरहेको छ । एकातर्फ धावनमार्ग पुनर्निर्माण सक्ने र अर्कोतर्फ बाहिरी सुन्दरताको काम भइसकेपछि बुटिक एयरपोर्ट घोषणा गरिने बताइएको छ ।

‘अन्य विभिन्न शीर्षकको बजेट रकमान्तर गरी हामीले बुटिक एयरपोर्ट निर्माणमा खर्च गर्न सक्ने गरी बजेट प्राप्त गरेका छौं’ महाप्रवन्धक क्षेत्रीले भने, ‘योजना अनुसार काम भइरहेको छ ।’ सरकारले आगामी आवको नीति तथा कार्यक्रममा बुटिक अन्तरराष्ट्रिय विमानस्थल घोषणालाई समेटेको छ ।

अहिले धावनमार्गको पीच उप्काएर नयाँ बनाउने काम साँझ १० बजेबाट शुरु भई बिहान ८ बजेसम्म चल्छ । यही प्रयोजनका लागि विमानस्थल १ अप्रिलदेखि ३० जुनसम्म हरेक दिन १० घण्टा बन्द हुन्छ । काम शुरु हुन अगाडि यो विमानस्थल २१ घण्टा सञ्चालनमा ल्याइएको थियो । धावनमार्गको पीच नयाँ बनिसकेपछि २४ सै घण्टा खुला राख्ने योजना छ ।

के हुन्छ बुटिक एयरपोर्टमा ?

बुटिक एयरपोर्ट भन्नेवित्तिकै विमानस्थलको कायापलट हुने चाहिँ होइन । खाली यसलाई नेपालीपन झल्किने गरी नयाँ साजसज्जा गरिने हो ।

अहिले भइरहेका भौतिक संरचनालाई सफा र दुरुस्त राख्ने, मार्वलको स्थानमा मौलिक ढुंगा तथा ईंट्टाको प्रयोग गर्ने, धारा तथा टुटीहरुलाई तामा र पित्तलबाट सजाउने, बोर्डिङ पास तथा अन्य आवश्यक कागजात नेपाली कागजबाट प्रयोग गर्ने तयारी भएको विमानस्थल कार्यालयको भनाइ छ । अध्यागमन, भन्सार तथा वायुसेवा कम्पनीका काउन्टरमा समेत मौलिक काष्टकला सजाइने छ । पर्यटक आगमन हुने स्थानमा पानी र फूल भरिएको घडा राखिने छ ।

मौलिक पेन्टिङले भित्ता सजाउने, व्यापारिक होर्डिङ बोर्डको स्थानमा नेपाली कला–कौशल झल्कने मूर्ति तथा सजावटका सामान राख्ने काम पनि भइरहेको महाप्रबन्धक क्षेत्रीले जानकारी दिए । विमानस्थलमा यात्रु छाड्न आउनेबाहेक अहिले अन्य सवारीसाधनलाई विमानस्थलको अगाडी जान रोकिएको छ ।

विमानस्थलको अग्रभागमा आकर्षक बगैंचा र फाउन्टेनले सजाउने तयारी पनि छ । विमानस्थलको बाहिरी संरचना मौलिक शैलीमा निर्माण भइरहेको छ । अब भित्री संरचनालाई पनि मौलिक शैलीमा निर्माण गरी संसारका अन्य विमानस्थलभन्दा पृथक बनाउने योजना सरकारको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment