Comments Add Comment

शोधनान्तर ६४ अर्बले घाटामा, वैदेशिक लगानी आधा घट्यो

५ जेठ, काठमाडौं । चालु आर्थिक वर्ष २०७५/७६ को ९ महिने अवधिमा मुलुकको चालु खाता २०४ अर्ब ४३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १७२ अर्ब ६७ करोड रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको नौ महिनामा १ अर्ब ६८ करोड रहेको चालु खाता घाटा समीक्षा अवधिमा १ अर्ब ७९ करोड पुगेको छ ।

शोधनान्तर स्थिति कस्ताे छ ?

चैतसम्म दशे भित्रिने र बाहिररिने रकमबीचको शोधनान्तर स्थिति ६४ अर्ब ६८ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको यही अवधिमा शोधनान्तर स्थिति १४ अर्ब ६० करोडले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको नौ महिनामा १४ करोड ४१ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा ५६ करोड ८३ लाखले घाटामा देखिएको छ ।

घट्यो वैदेशिक लगानी

यो अवधिमा पूँजीगत ट्रान्सफर १२ अर्ब ४८ करोड र प्रत्यक्ष वैदेशिक लगानी ७ अर्ब १० करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर रु.१३ अर्ब १५ करोड र प्रत्यक्ष वैदेशिक लगानी १४ अर्ब ४१ करोड रहेको थियो ।

विदेशी विनिमय सञ्चिति

विदेशी विनिमय सञ्चिति कुल विदेशी विनिमय सञ्चिति २०७५ असार मसान्तमा ११०२ अर्ब ५९ करोड रहेकोमा २०७५ चैत मसान्तमा १०५० अर्ब ८५ करोड कायम भएको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७५ असार मसान्तमा १० अर्ब ८ करोड रहेकोमा २०७५ चैत मसान्तमा ९ अर्ब ५२ करोड रहेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७५ असार मसान्तमा रु.९८९ अर्ब ४० करोड रहेकोमा २०७५ चैत मसान्तमा रु.८९७ अर्ब १३ करोड रहेको छ ।

बैंक तथा वित्तीय संस्थाहरू  (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा ११३ अर्ब १९ करोड रहेकोमा २०७५ चैत मसान्तमा १५३ अर्ब ७३ करोड पुगेको छ । ०७५ चैत मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २६.३ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७५/७६ को नौ महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ९ महिनाको वस्तु आयात र ७.९ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ३०.३ प्रतिशत, ६५.९ प्रतिशत र ३१.१ प्रतिशत रहेका छन् । ०७५ असार मसान्तमा यी अनुपातहरू क्रमशः ३६.४ प्रतिशत, ७८.६ प्रतिशत र ३५.६ प्रतिशत रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment