Comments Add Comment

सांगठनिक एकता सकियो, वैचारिक लडाइँ सुरु भयो !

जिल्ला कमिटी र वर्गीय संगठनमा तानातान, जबजमा अन्तरविरोध चर्कियो

५ जेठ, काठमाडौं । सत्तारुढ नेकपाले यसैसाता पार्टी एकीकरण लगभग सकिएको घोषणा गरेको छ । अब एकताको रहल-पहल मात्रै बाँकी रहेको शीर्षनेताहरुको निश्कर्ष छ । तर, बाहिर-बाहिर एकता सकियो भनिए पनि भित्रचाहिँ बल्ल रस्साकस्सी सुरु भएको छ ।

नेकपाभित्रको रस्साकसी मुख्यतः दुई ठाउँमा देखिएको छ : एक- जिल्ला कमिटीहरुलाई पूर्णता दिनेक्रममा आ-आफ्ना गुटका मानिसह घुसाउने सन्दर्भमा ।

र, अर्को- जनताको बहुदलीय जनवाद (जबज) को समर्थन र विरोधमा ।

उदाहरणका लागि केही जिल्लाहरुको सघन रस्साकसी हेरौं-

नेकपाले गत वैशाख ९ गते जिल्ला कमिटीका अध्यक्ष र सचिवहरुको नाम सार्वजनिक गरेको थियो, जसमा प्रदेश नम्बर ३ अन्तरगत काभ्रे जिल्ला कमिटीको अध्यक्ष तोकिइन्-रुकु चौलागाई । उनी पूर्वमाओवादी केन्द्रकी हुन् । त्यसमा पनि रामबहादुर थापा बादल समूहकी ।

चौलागाईले जिल्ला कमिटीका सदस्यहरुको सूची तयार पार्दा पूर्वएमाले र प्रचण्ड समूहलाई बाइपास गरेर बादल समूहका कार्यकर्ताको बहुमत बनाएको भन्दै काभ्रेका नेकपा नेताहरुमा लफडा सुरु भएको छ । पूर्वमाओवादीभित्रै पनि प्रचण्ड समूह र बादल समूहवीच चर्काचर्की परेको छ ।

स्रोत भन्छ- अधिवेशनलाई लक्षित गरेर जिल्ला कमिटीमा कुन पक्षको बहुमत बनाउने भन्ने खेल अहिलेदेखि नै सुरु भएको छ ।

काभ्रेकै जस्तो अवस्था अन्यत्र पनि छ ।

सुनसरी जिल्लामा पूर्वमाओवादीका ६६ र पूर्वएमालेका ९९ जनालाई जोडेर १६५ सदस्यीय जिल्ला कमिटी बनाउने सहमति जुटेको छ । जिल्ला कमिटीका नेताहरुले सोमबार सपथ ग्रहण गर्ने समय पनि तय भइसकेको छ ।

तर, रोचक के छ भने सुनसरी जिल्लामा मात्रै पूर्वमाओवादीका केन्द्रीय सदस्य र केन्द्रीय सल्लाहकारहरुको संख्या ८६ छ । जबकि जिल्ला कमिटीमा उसको कोटामा ६६ मात्रै परेका छन् । एक नेताले अनलाइनखबरसँग भने, ‘जिल्लामा रहेका ८६ जना केन्द्रीय नेताहरुमध्ये ६६ जनामात्रै जिल्ला कमिटीमा पर्नुभयो, अरु छुट्नुभयो । साविक जिल्ला कमिटीका कोही पनि नेताहरुलाई अहिले जिल्लामा पार्न सकिएन, हामीले केन्द्रीय नेतालाई मात्र प्राथमिकता दियौं ।’

पूर्वमाओवादीको केन्द्रीय कमिटी ४ हजार सदस्यीय थियो । केन्द्रीय नेतामध्ये थुप्रै केन्द्र, प्रदेश र जिल्ला कमिटीमा समेत नअट्ने नेकपाका एक नेताले बताए ।

पूर्वमाओवादीमा मात्र होइन, पूर्व एमाले गुटमा पनि उस्तै लफडा छ । मोरङका अध्यक्ष विनोद ढकालका आफन्तको निधन भएकाले जिल्ला कमिटी गठन प्रक्रिया केही ढीलो भएको छ तर, केपी ओली पक्षले केन्द्रीयता लादेर आफूखुशी मापदण्ड बनाएको गुनासो माधव नेपाल पक्षको छ ।

जस्तो कि-पूर्वएमालेको मोरङ जिल्ला कमिटीमा रहेका पथरी नगरपालिकाका मेयर कृष्ण राई र केराबारी गाउँपालिकाका उपाध्यक्ष शान्ति लिम्बु भुजेललाई जिल्ला कमिटीमा पारिएको छैन । उनीहरुलाई जनप्रतिनिधि भएकाले पार्टीको जिम्मेवारीमा नराखिएको बताइएको छ ।

तर, केपी ओली समूहमा रहेका बेलाबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीलाई भने जिल्ला कमिटीमा पारिएको माधव नेपाल पक्षका नेताहरुले गुनासो गरेका छन् ।

जिल्लामा पूर्वमाओवादीका शिवकुमार मण्डल, कुशल लिम्बु र पूर्वएमालेका महेश रेग्मी लगायतको नयाँ गुट बनेको छ भने अध्यक्ष विनोद ढकाल र सचिव गोपी अछामे संस्थापन पक्षतिर एक ढिक्का बनेका छन् ।

धनकुटामा चाहिँ सामान्य असन्तुष्टिका बावजुद जिल्ला कमिटीका सदस्यहरुले जेठ ३ गते सपथ खाएका छन् । स्थानीय तहको अध्यक्ष र सचिव बनेकाहरुलाई जिल्ला कमिटीमा नराख्ने मापदण्ड बनाएर नेताहरुको व्यवस्थापन गरिएको जिल्ला नेताहरुले बताएका छन् ।

धनकुटामा १३५ सदस्यीय जिल्ला कमिटी बनेको छ जसमा पूर्वएमालेबाट ८२ र पूर्वमाओवादीबाट ५३ जना परेका छन् । त्यसैगरी तेह्रथुममा पनि केही नेताहरुलाई छाँटकाँट गरेर एकता टुंग्याएको स्रोतले बतायो ।
अघिकांश जिल्लाहरुमा आफ्ना गुटका मानिसलाई तान्ने र विपक्षीलाई पछि पार्ने रस्साकसी चलिरहेको नेताहरु बताउँछन् । भोलि महाधिवेशनमै प्रभाव पार्ने भएकाले जिल्ला कमिटीमा को ल्याउने भन्ने बढी ध्यान गएको हुनसक्ने नेताहरु बताउँछन् ।

जबसमा भद्रगोल !

नेकपाले जेठ ३ गते मदन-आश्रति स्मृति दिवसको अवसर पारेर जनवर्गीय संगठनहरुका संयोजक र सहसंयोजक तोकेको छ । साथै कुन संगठनको कति सदस्यीय कमिटी रहने भन्ने संख्या निर्धारण गरेको छ । तर, यो संख्याका कारण पुराना नेताहरुमा रस्साकसी चल्न सुरु भइरहेको छ ।

दृष्टान्तका लागि अनेरास्वियुको उदाहरण हेरौं ।

अनेरास्ववियुको केन्द्रीय कमिटी २५१ सदस्यीय हुने भनिएको छ । तर, यसअघि तत्कालीन विद्यार्थी इञ्चार्ज रविन्द्र अधिकारीको कार्यदलले अखिलको केन्द्रीय कमिटी ४९९ सदस्यीय हुने सिफारिस गरेको थियो ।

अखिलमा पूर्वमाओवादीतर्फबाट २४३ सदस्यीय निर्वाचित केन्द्रीय कमिटी छ । पूर्वर्एमालेको केन्द्रीय कमिटी १४५ जनाको छ । अब यसबाट अरु विद्यार्थीलाई हटाएर २५१ जनाको केन्द्रीय कमिटी बनाउन भालुको कन्पट समाएजस्तो हुने विद्यार्थी नेताहरु बताउँछन् ।

नेकपाका एक नेताले अनलाइनखबरसँग भने, अखिलमा मात्र होइन, २२ वटै जनवर्गीय संगठनको हाल उस्तै छ । जबसका नेताहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय निके ने चुनौतपूर्ण बनेको छ ।’

जबजमा वैचारिक संघर्ष सुरु

नेकपाका नेताहरु मदन भण्डारीको स्मृति दिवसको साइत पारेर जनताको बहुदलीय जनवाद (जबज) मान्ने कि नमान्ने भन्ने वैचारिक संघर्षमा उत्रिएका छन् । र, यो बहस आगामी महाधिवेशनलाई केन्दि्रत गरेर सुरु भएको नेताहरु बताउँछन् ।

साविक नेकपा एमालेका महासचिव एवं वर्तमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आफू जबजलाई लिएर देशव्यापी कार्यकर्ताका माझमा जाने घोषणा गरिसकेका छन् ।

उता अध्यक्ष प्रचण्डले पुरानै कुरामा रट लगाएर नहुने भन्दै जबजलाई परिमार्जन गर्नुपर्ने अभिव्यक्ति दिइसकेका छन् । र, प्रचण्डले अब पार्टीभित्र विचारधारत्मक संघर्ष सुरु हुने आफू निकट नेताहरुलाई दिइसकेको स्रोत बताउँछ । सम्भावित वैचारिक संघर्षतर्फ संकेत गर्दै एक नेताले भने, ‘कम्युनिष्ट पार्टीमा वैचारिक बहस टुंग्याएर सांगठनिक एकता हुनुपर्नेमा, हाम्रो पार्टीभित्र सांगठानिक एकता टुंगिएपछि बल्ल बैचारिक संघर्ष सुरु भएको छ, यसले पार्टीलाई फाइदै पुग्छ र यो बहस अब महाधिवशेनसम्मै तन्किने देखिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment