Comments Add Comment

नेपालको अध्यागमन सुरक्षामा अमेरिकाले किन राख्यो चासो ?

६ जेठ, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरुले फरक–फरक विषयलाई प्रमुखताका साथ छापेको छन् ।

अन्नपूर्ण पोस्ट दैनिकले ‘अन्यायमा पशुपतिनाथ’ शीर्षक दिएर पशुपतिभित्रका बेथिति उधिनेको छ । समाचार अनुसार, पशुपतिनाथको १७ हजार रोपनी जग्गा भए पनि आम्दानी भने ७४ लाख मात्रै छ । पशुपति विकास कोषले सस्तो दरमा जग्गा भाडामा लगाउँदा पशुपतिको आम्दानीमा नोक्सानी पर्दै गएको समाचारको सार छ ।

अमेरिकी सरकारले नेपालको अध्यागमन र विभानस्थलको सुरक्षाप्रति गम्भीर चासो देखाएको अर्को खबर पनि अन्नपूर्णमा छ । श्रीलंकामा भएको आतंकवादी आक्रमणको घटना, भारतसँगको खुला बोर्डर तथा नेपालमा उत्तर कोरियालीको उपस्थिति बढिरहेको सन्दर्भलाई जोडेर अमेरिकाले नेपाली अध्यागमन सुरक्षामा चासो देखाएको अन्नपूर्णको ठम्याइ छ ।

यही कारण अमेरिकाले नेपाली अध्यागमनमा बोर्डर कन्ट्रोल बायामेट्रिक्ससहितको विश्वासिलो सफ्टवेयर आवश्यक रहेको बताउँदै आएको छ । अन्नपूर्णका अनुसार, अध्यागमन सुरक्षामा लुप होलहरु नदेखाउन यो सफ्टवेयर राख्नुपर्ने सुझाव उसको छ ।

विपद् व्यढवस्थापनसम्बन्धी सैन्य अभ्यासका लागि पोखरामा आइतबारदेखि देशका सैनिक जेटेकोलाई अन्नपूर्णले भित्री पृष्ठमा समेटेको छ । नेपाली सेना र अमेरिकी सेनाको एसिया प्यासिफिक कमान्डले अभ्यासको चाँजो मिलाएको हो ।

कान्तिपुरले भारतीय चुनावबारे गरिएका सर्वेक्षणमाथि टेकेर समाचार लेखेको छ । समाचार अनुसार, सर्वेक्षणले हालका प्रधानमन्त्री नरेन्द्र मोदी दोहोरिने देखाएको छ । सत्तारुढ गठबन्धन एनडीएले २८० देखि ३०० सिट जित्ने आकलन गरिएको छ ।

प्रशासनको जुनसुकै सेवाबाट पनि परराष्ट्र सचिव बनाउन सकिने विधेयकबारे परराष्ट्र मन्त्रालयले संसदीय समितिमा असहमतिपत्र दर्ता गरेको खबर पनि कान्तिपुरमा छ । समाचार अनुसार यस्तो विधेयकप्रति कूटनीतिक ज्ञाताहरुले आश्चर्य प्रकट गरेका छन् ।

कान्तिपुरको अर्थ वाणिज्य पृष्ठमा फेरि मुलुकको घाटा बढेको समाचार छ । पछिल्ला दुई महिनामा शोधान्तर घाटा फेरि बढेको कान्तिपुर समाचारमा उल्लेख छ ।

कान्तिपुर लेख्छ– गत माघ महिनासम्म सुध्रिँदो अवस्थामा देखिएको शोधान्तर घाटा फागुनदेखि उकालो लाग्न थालेको छ ।’

सार्वजनिक जग्गा दुरुपयोगको विषयलाई आज पनि राजधानीले निरन्तरता दिएको छ । राजधानीका अनुसार, कर्मचारी र भूमाफियाको मिलेमतोमा काठमाडौंको मैतीदेवी मन्दिरको जग्गा बेचिएको छ ।

उता, झापाका विभिन्न स्थानमा हदबन्दी छुटको जग्गा कानूनविपरीत धमाधम बिक्री भइरहेको छ । झापामा चिया खेतीका लागि हदबन्दी छुट भएका हजारौं बिघा जग्गा प्रचलित ऐन, नियम र कानूनविपरीत सञ्चालकले आफूखुसी प्रयोग गरेको राजधानीमा उल्लेख छ ।

बालमन्दिरको भवन प्रहरीलाई दिने तयारी गरिएकोलाई नयाँ पत्रिकाले मुख्य समाचार बनाएको छ भने नागरिकले त्रिदेशीय सीमाक्षेत्रमा रहेको दार्चुलाको उत्तरी ब्याँस गाउँपालिकामा राज्यको पहुँच नपुग्दा नेपाली भूमाग असुरक्षित बनेको लेखेको छ ।

ढुम्बा तालको चित्ताकर्षक तस्वीर छापेको गोरखापत्रले अप्टिकल फाइबर बिछ्याउन लागिएकोलगायत खबरलाई पहिलो पृष्ठमा समेटेको छ ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment