Comments Add Comment

एपिएफको विजयी सुरूवात, पारसको टिम हार्‍यो

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) विजयी सुरूवात गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा एपिएफले राष्ट्रिय टोलीका कप्तान पारस खड्का नेतृत्व रहेको प्रदेश नं ३ लाई ४१ रनले हरायो ।

एपिएफले दिएको २८९ रनको विशाल लक्ष्य पछ्याएको प्रदेश नं ३ २४७ रनमा समेटियो । उसले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २४७ रन बनायो । प्रदेश नं ३ का लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ११७ रनको योगदान दिए ।

त्यस्तै कप्तान पारस खड्काले ४६, रीत गौतमले २७ तथा इशान पाण्डेले १२ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहरो अङ्क जोड्न सकेनन् ।

एपिएफका कमलसिंह ऐरीले तीन तथा अविनाश बोहराले २ विकेट लिए । पृथु बास्कोटा र भुवन कार्कीले समान एक एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपिएफले ५० ओभरमा ९ विकेट गुमाएर २८८ रन बनाएको थियो । उसका लागि सुमित महर्जन र कप्तान पृथु बाँस्कोटाले अर्धशतकीय इनिङ्स खेले ।

सुमितले ९४ रन बनाए भने पृथुले ५९ रन बनाए । यस्तै प्रदीप सिंह ऐरीले ४०, अमरसिंह रौटेलाले अविजित २७ रन बनाए । प्रदेश नं ३ का नन्दनकुमार यादव र जितेन्द्र ठकुरीले तीन-तीन विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment