Comments Add Comment

छापामा आज : प्रधानमन्त्रीलाई विद्यावारिधि कोरियाको क्रिस्चियन धर्म प्रचारकबाट

१६ वर्षमै छोरीको बिहे गर्न माग गर्दै बाँकेमा धर्ना

बजेट, नेकपाको सत्ता विवाद र बलि दिन धनुषामा धामीले गरेको बालक हत्या प्रकरण आजका दैनिक पत्रिकाहरुको मुख्य प्राथमिकतामा परेकाे छ ।

‘अन्धविश्वासको पराकाष्ठा’ शीर्षक दिएर धनुषा ढल्केबरका अढाइ वर्षीय बालक आर्यन साहको हत्याबारे कान्तिपुरले मुख्य समाचार बनाएको छ ।

बलि दिएपछि तन्त्रमन्त्र विद्या सिद्ध हुने भ्रममा स्थानीय शत्रुध्न महतोले बालक आर्यनको हत्या गरेका हुन् । २५ दिन लामो अनुसन्धानपछि प्रहरीले सार्वजनिक गरेको यो डरलाग्दो तथ्यलाई अनलाइनखबरले बिहीबार प्रकाशमा ल्याएको थियो ।

नेकपाको सत्ता विवादलाई पनि कान्तिपुरले ठाउँ दिएको छ । आलोपालो सरकारको नेतृत्व गर्ने भनेर विगतमा भएको गोप्य सहमतिको पालना हुनुपर्ने मत प्रचण्डले अघि सारेपछि यसबारे नेकपामा बहस सुरु भएको छ ।

प्रचण्डले सहमति कार्यान्वयनका लागि दबाव बढाएको निष्कर्षसहित लेखेको छ– एक टेलिभिजन च्यानलसहितको अन्तर्वार्तामा उक्त अभिव्यक्ति दिएकै दिन यसअघि दुई अध्यक्षबीचको गोप्य सहमति भनिँदै आएको पत्रसमेत सार्वजनिक हुनुलाई प्रचण्डले पार्टी वा सरकारमध्ये एउटा आफूले पूर्ण रुपमा चलाउन पाउनुपर्ने वातावरणका लागि दबाव बढाएको अर्थमा बुझिएको छ ।

अर्थमन्त्री युवराज खतिवडाले बजेटले नागरिकका तत्कालिक आवश्यकताको सम्बोधन र दीर्घकालीन विकासका दरिलो जग बसाल्न दुईधारे नीति लिएको भनेर व्यक्त गरेको भनाइलाई पनि कान्तिपुरले प्राथमिकतापूर्वक समेटेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले क्रिस्चियन धर्म प्रचारक विश्वविद्यालयको मानार्थ विद्यावारिधि उपाधि लिएको दाबी पनि कान्तिपुरले गरेको छ । प्रधानमन्त्री ओलीलाई गत बुधबार कोरियाको काङ्नाम विश्वविद्यालयले मानार्थ विद्यावारिधि प्रदान गरेको थियो ।

कान्तिपुर लेख्छ– काङ्नामको धर्मप्रचार गर्ने स्वार्थ थाहा पाएपछि विशेष आवश्यकता शिक्षा (स्पेशल निड्स एजुकेशन/एसएनई) मा गरिएको सहकार्य त्रिभुवन विश्वविद्यालयले तोडेको थियो । काङ्नामले एसएनई विषय पठनपाठनका लागि सहकार्य गर्ने गरी डेढ दशकअघि त्रिविसित समझदारी गरेको थियो । तर, उक्त विश्वविद्यालयको स्वार्थ थाहा पाएपछि सहमति तोडिएको थियो । तर, अहिले त्यही विश्वविद्यालयले प्रधानमन्त्रीलाई मानार्थ विद्यावारिधि दिएको छ ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथपछि विभिन्न देशका राष्ट्र प्रमुखहरुले खिचाएको सामूहिक छापेको अन्नपूर्णले विकास आयोजनामा परामर्शदाता खर्च घटाइएको लेखेको छ । अन्नपूर्णका अनुसार, अब परामर्शदाताको नाममा ५ प्रतिशत मात्र खर्च गर्न पाइने छ ।

परामर्शदाताका नाममा सरकारी कार्यालयहरुमा अनियमितता हुँदै आएको छ । यस्तो प्रावधानले परामर्शदाता नियुक्त गरेर भइरहेका अनियमितता अन्त्य हुने विश्वास गरिएको छ ।

रेडक्रसको कर्मचारी भर्नाका क्रममा भएको बदमासीबारेको सामग्री पनि अन्नपूर्णमा छ । अन्नपूर्णका अनुसार आफ्ना मान्छे उत्तीर्ण गराउन एउटै पदको परीक्षामा पनि फरक फरक प्रश्नपत्र सोधिएको पाइएको छ । एक वर्षअघि रेडक्रसले लेखाअधिकृतका लागि लिएको परीक्षामा यस्तो बदमासी गरिएको समाचार अन्नपूर्णले विस्तृतमा छापेको छ ।

१६ वर्षमै छोरीको बिहे गर्न पाउनुपर्ने माग राख्दै बाँकेस्थित जिल्ला प्रशासन कार्यालयमा महिलाले धर्ना दिएको अनौठो खबर पनि अन्नपूर्णमा पढ्न सकिन्छ ।

२० वर्षभन्दा मुनिको बिहेलाई राज्यले गैरकानूनी मानेको भन्दै बुधबार महिलाहरुले १६ वर्षमै बिहे गर्न पाउनु पर्ने माग राखेर दिनभर धर्ना दिए ।

बाँकेका प्रमुख जिल्ला अधिकारीका अनुसार धर्नामा बालविवाह गरेर सानैमा तीन–तीन सन्तान जन्माएका किशोरी लालाबालासहित थिए ।

बाँकेमा पछिल्लो समय बालविवाहमा कडाइ गरिएको छ । तर बालविवाह भने रोकिएको छैन । अन्नपूर्णका अनुसार पक्राउ पर्ने डरले अभिभावकले भारतमा लगेर छोरीको बिहे गरिदिने गरेका छन् ।

नयाँ पत्रिकाले भीआईपीका नाममा नेपालमा बारबार जनताले भोगिरहेका भुक्तमान र विदेशका उदाहरणीय नेताबारे एक सामग्री छापेको छ ।

नयाँ पत्रिकाका अनुसार, आफ्नो कारण ३८ मिनेट उडान ढिलो हुँदा मेक्सिकोकी मन्त्रीले राजीनामा दिएकी छन् । उनले जनतालाई दुःख दिने अधिकार नभएको भन्दै राजीनामा दिएकी हुन् ।

नयाँ पत्रिकाका अनुसार, नेदरल्यान्ड्सका प्रधानमन्त्री मार्क रुट पनि निकै सरल छन् । उनी अहिले पनि स्मार्ट फोन प्रयोग गर्दैनन् । नोकियाको सामान्य फोन चलाउँछन् । प्रधानमन्त्री भएपछि पनि सातामा एक दिन प्राथमिक विद्यालयमा पढाउन जान्छन् । अझै रोचक त के छ भने साइकल चढेरै कार्यालय आउने जाने गर्छन् ।

विश्वका कैयन नेताहरु सरल भए पनि नेपालको भने रवाफिलो भएको नयाँ पत्रिकाको समाचारको सार छ । गणतन्त्रमा पनि राजतन्त्रमा जस्तै भीआईपी संस्कार यथावत छ । विश्वका उदाहरणीय नेताको प्रसंग उल्लेख गर्दै नयाँ पत्रिकाले लेखेको छ– मोदीको शपथमा सहभागी हुन ओली भारत जाने क्रममा दिनभर उडान अस्तव्यस्त भएको छ । जनताले सास्ती पाएका छन् ।

सरकारी मुखपत्र गोरखापत्रमा मन्त्रिपरिषद् बैठक, बजेटलगायत विषयसँग सम्बन्धित खबर छन् भने राजधानी दैनिकको नजर आयुर्वेद अनुसन्धान केन्द्रमाथि परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment