Comments Add Comment

‘पपुलिजम’सँग युरोप कसरी नाच्नेछ ?

युरोपेली संसदको निर्वाचन हालै सम्पन्न भएको छ । सुखद समाचार के छ भने चुनावमा पहिलेभन्दा धेरै मतदाताले भाग लिएका छन्, जसका कारण त्यसले ऐतिहासिकरुपमै धेरैको ध्यान खिच्न सफल भएको छ ।

युरोपेली चुनावबारे संसारभर यति धेरै चासो हुनुको कारण के थियो भने यसलाई युरोपका मूलधारका पार्टीहरू र लोकप्रियतावादी (पपुलिस्ट) पार्टीहरूको ‘मुठभेड’ का रुपमा हेरिएको थियो । यसै कारण मतदाताहरूको चाख पनि बढेको थियो ।

युरोपमा देखिएको परिघटना रोचक छ । युरोपेली राजनीतिमा विगतका केही वर्षहरूमा पातलो जनसहभागिता देखिने गरेको छ । तर, यसपालि के देखिएको छ भने जब युरोपमा राजनीतिक चुनौतिहरू आइपर्छन्, तब युरोपको दोस्रो दर्जाको चुनावको रुपमा हेरिने संसदीय चुनाव सबैको चर्चाको विषय बन्छ ।

अधिकांश युरोपेली देशमा देखिएको तीव्र राजनीतिक ध्रुवीकरण र विभाजन अब इयूको तहसम्म आइपुगेको छ । युरोपमा दबदबा जमाइरहेका नरम वामपन्थी र दक्षिणपन्थीहरूको स्थिति खस्किएको छ । उदारवादी, हरित र उग्र दक्षिणपन्थीहरू शक्तिशाली भएका छन्

निर्वाचनको सुखद पक्ष भए पनि यसको दुखद पक्ष बढी महत्वपूर्ण छ । अधिकांश युरोपेली देशमा देखिएको तीव्र राजनीतिक धु्रवीकरण र विभाजन अब इयूको तहसम्म आइपुगेको छ । युरोपमा दबदबा जमाइरहेका नरम वामपन्थी र दक्षिणपन्थीहरूको स्थिति खस्किएको छ । उदारवादी, हरित र उग्र दक्षिणपन्थीहरू शक्तिशाली भएका छन् ।

चुनावको नतिजालाई लिएर आम युरोपेलीको प्रतिक्रिया कै छ भने अवस्था त्यति साह्रो खस्किएको छैन । लोकप्रियतावादी पार्टीहरूले एकतिहाइ सिट पनि जितेका त छैनन् । तर, यो चुनावको नतिजाले इयूको राजनीतिमा नयाँ समस्याहरू खडा गर्नेछ ।

यसो भइरहँदा, लोकप्रियतावादी शक्तिहरूले एक चौथाई सिट मात्र जितेका छैनन्, आफ्नो स्थिति मजबुत बनाएका छन् र पहुँच पनि सुधारेका छन् । अष्ट्रियाली फ्रिडम पार्टीको एउटा विवादास्पद भिडियो चुनावअघि सार्वजनिक नभएको भए पार्टीले चुनावमा अझै धेरै मत बटुल्थ्यो ।

युरोपेली चुनावको अन्त्यसँगै युरोपमा अबका ५ वर्षको राजनीतिक खेलको सुरुवात भएको छ । लोकप्रियतावादी पार्टीहरूले मूलधारका पार्टीहरूलाई ठूलै व्यवधान उत्पन्न गराउन वा विधायकी बाधा ठड्याउन र बजेट निर्धारणलाई प्रभाव पार्न नसक्लान् । तर, प्राविधिक विषयलाई उठाएर संसदको सञ्चालनमा हस्तक्षेप गर्न सक्ने छन् ।

त्यस्तै लोकप्रियतावादी पार्टीहरूको सफलताले युरोपेली राजनीतिलाई दक्षिण पन्थतिर धकेल्ने देखिन्छ । युरोपेली चुनाव र सदस्य देशहरूमा हुने चुनाव भिन्न त हुन्, तर यदि लोकप्रियतावादले अहिलेकै समर्थन पायो भने यसले युरोपेली मानसिकतामा गहिरो छाप छोड्ने छ ।

लोकप्रियतावादी दलहरू आफूले युरोपेली चुनावमा पाएको सफलता राष्ट्रिय चुनावहरूमा पनि हासिल गर्न लालायित छन् । मूलधारका पार्टीहरूको वर्चस्व रहने गरेको युरोपमा अब लोकप्रियतावादी दलहरूको पनि दीर्घकालसम्म उपस्थिति देखिनेछ ।

अमेरिका खुशी

यति भनिरहँदा अमेरिका र युरोपका राजनीतिहरूले एक अर्कालाई कसरी प्रभाव पार्लान् भनेर पनि हेर्न जरूरी छ । ट्रम्प र उनका पूर्वसहायक स्टिभ बानोन युरोपमा लोकप्रियवाद फस्टाएकोमा आशातीत रूपमा खुशी छन् । युरोपमा लोकप्रियतावादीहरूले पाएको सफलताले ट्रम्पलाई दोस्रो कार्यकाल जित्ने वातावरण मिलाइदिएको छ ।

ट्रम्प र उनका पूर्वसहायक स्टिभ बानोन युरोपमा लोकप्रियवाद फस्टाएकोमा आशातीत रूपमा खुशी छन् । युरोपमा लोकप्रियतावादीहरूले पाएको सफलताले ट्रम्पलाई दोस्रो कार्यकाल जित्ने वातावरण मिलाइदिएको छ

युरोपेली चुनावले देखाएको राजनीतिक धरातलले अनिश्चितता र अशान्तितर्फ इङ्गित गर्छ । इयु र यसका सदस्य राष्ट्रहरूवीच टकरावको स्थिति बढ्ने देखिन्छ । सहकार्य तथा मेलमिलापतर्फ बढेका कदमहरू प्रभावित हुनेछन् र छलफल तथा निर्णय गर्ने प्रक्रियाहरू झन्झटिलो र चाहिने भन्दा लामो हुँदै जानेछन् । प्रशासन र प्रजातन्त्रवीचको अन्तरविरोध चर्केर जानेछ ।

त्योभन्दा महत्वपूर्ण चिन्ताको विषय हो यस्ता परिवर्तनहरले युरोपेली नीतिमा पार्ने प्रभाव । युरोपेली मान्यताहरूको दुहाई दिने मूलधारका दलहरूले पनि कथित जनमतका नाममा लोकप्रियतावादी पथ नै पछ्याएको देखिन्छ । इयूले समान अवसरका नाममा हालै विदेशी सामानहरूको आयातलाई कसेको छ । यसलाई युरोपमा आएको आन्तरिक परिवर्तनले उसको परराष्ट्र नीतिमा पारेको असरको रुपमा हेर्न सकिन्छ ।

चीनको चिन्ता

इयूको महत्वपूर्ण साझेदारका रूपमा चीन त्यहाँ अबको ५ वर्षमा लोकप्रियतावादी दलहरू र इयूको सम्बन्ध कस्तो रहनेछ भनेर चिन्तित छ ।

इयू र चीनको निकट सम्बन्धका कारण त्यहाँ हुने परिवर्तनको प्रभाव चीन र युरोपको सम्बन्धमा पनि देखिनेछ ।

इयूमा फरक धारका राजनीतिक दलहरूको आगमनसँगै चीन इयू अझ परिपक्क र स्थिर हुनेछ भन्ने आशा गर्छ । उसले संसारमै एकता, उत्तरदायित्व र स्थायित्वका लागि योगदान गर्ने (न कि त्यसको विरुद्धमा कदम चाल्ने) चीनको अपेक्षा छ ।

(लेखक चाइना इन्स्टिच्युट अफ इन्टरनेशनल स्टिडिज अन्तरराष्ट्रिय अध्ययन इन्स्टिच्युट अन्तरगत युरोपियन अध्ययन विभागका डाइरेक्टर हुन् । उनको यो लेख चिनियाँ पत्रिका ग्लोबल टाइम्सबाट अनुवाद गरिएको हो ।)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment