Comments Add Comment

साहसी निर्मल : ३१ दिनमा चढे ६ हिमाल

काठमाडौं । सात महिनामा विश्वका अग्ला १४ हिमाल चढ्छु भन्दा निर्मल पुर्जा मगरलाई हेरेर मानिस हाँस्थे । पूर्वबेलायती सैनिकसमेत रहेका म्याग्दीका पुर्जा हुँदा खाँदाको जागिर छाडेर हिँडेका थिए । त्यसैले धेरैले उनलाई मूर्ख भने थोरैले आँटिलो ।

तर पुर्जाले आफूलाई ‘मुर्ख’ भन्नेहरुलाई गलत सावित गरिसकेका छन् । ३१ दिनमा ८ हजार मिटर अग्ला ६ हिमाल चढिसकेका उनी पहिलो चरणको विश्राममा छन् ।

‘प्रोजेक्ट पोसिबल’ नाम दिएर ८ हजार मिटर अग्ला १४ हिमाल ७ महिनामा चढ्ने लक्ष्य बनाएर बढेका पुर्जा आफ्नो कामले मानव जातिकै साहस र कर्मको कथा भनिरहेको विश्वास गर्छन् । सकारात्मक सोच र मेहनतले हरेक कुरा सफल हुन्छ भन्ने ठान्ने पुर्जालाई हेर्दा लाग्छ, साच्चै नसकिने भन्ने काम नै पो छैन कि !

आफू कुनै कीर्तिमान बनाउन हिमाल नचढेको बताउने पुर्जाले गरेका कामले भने हरेक पटक केही कीर्तिमान बनिरहेका छन् । उनले सगरमाथा, लोत्से र मकालु हिमाल ४८ घण्टामै आरोहण गरे । यसअघि पाँच दिनमा आरोहण गरेर आफैंले बनाएको कीर्तिमान उनले तोडेका हुन् ।

वैशाख १० गते ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालबाट पहिलो चरणको आरोहण सुरु गरेका पुर्जाले त्यसको १८ दिनपछि वैशाख २९ मा ८ हजार १ सय ६७ मिटर अग्लो धवलागिरी हिमाल चढे ।

धवगागिरी चढेको दुई दिनपछि जेठ १ गते उनले ८ हजार ५ सय ८६ मिटर अग्लो कञ्चनजङ्घा, जेठ ८ गते ८ हजार ८ सय ४८ मिटरको सर्वोच्च शिखर सगरमाथा र ८ हजार ५ सय १६ मिटरको लोत्से साथै जेठ १० गते ८ हजार ४ सय ८१ मिटरको मकालु हिमालको सफल आरोहण गरे ।

मकालुपछि पहिलो चरणको विश्राममा रहने पुर्जाले अब पाकिस्तानको ८ हजार ६ सय ११ मिटर अग्लो माउन्ट केटु, ८ हजार १ सय २६ मिटर अग्लो नागा पर्वत, ८ हजार ४७ मिटर अग्लो ब्रोड पिक, ८ हजार १० मिटर अग्लो जी वान र ८ हजार ३५ मिटर अग्लो जी टु, तिब्बततर्फबाट ८ हजार १ सय ८८ मिटर अग्लो चो यु र ८ हजार २७ मिटर अग्लो शिशापाङ्गमा साथै नेपालकै ८ हजार १ सय ६३ मिटर अग्लो मनासलु हिमाल आरोहण गर्ने छन् । जसलाई उनले दुई चरणमा पूरा गर्ने छन् ।

पहिलो चरण पूरा गरेका उनले दोस्रो चरणमा आउँदो १८ गतेदेखि असार १६ गतेसम्म के टु, नागा पर्वत, ब्रोड पिक, जी वान र जी टु चढ्ने छन् । तेस्रो चरणमा भदौ १५ देखि कात्तिक १५ सम्ममा मनासलु, शिशापाङ्गमा र चो यु चढ्ने छन् ।

१४ अग्ला हिमाल ७ महिनामा आरोहण गर्न लागेका पुर्जाले भन्दाअघि १४ हिमाल आरोहणको कीर्तिमान ७ वर्ष, ११ महिना १४ दिनको रहेको छ । जसलाई पोल्याण्डका जर्जी कुकुज्काले १९८७ मा पूरा गरेका थिए । त्यसअघि १६ वर्ष लगाएर १९८६ मा इटालीका रिइनहोल्ड मेस्नेरले पनि ८ हजार मिटर अग्ला १४ हिमाल चढेका थिए ।

त्यही कामलाई पुर्जाले ७ महिनामा आँटेकैले उनलाई मानिसहरु मुर्खको संज्ञा दिइरहेका थिए । हुन पनि केही नौलो काम गर्न थोरै मुख्र्याइँ चाहिने भएरै पनि हो कि पुर्जा आफूले आँटेको काममा दृढ छन् । पहिलो चरणमा ६ हिमालको आरोहण गरेर फर्किएपछि काठमाडौंमा भेटिएका उनमा थकानको श्लेष पनि देखिँदैन । बरु अगाडिका दुई चरणको आरोहणका लागि आवश्यक सहयोग कसरी जुट्ला भन्ने सोचमा मग्न देखिन्छन् ।

‘पहिलो चरण सफल बनाउन धेरै कुराबाट अघि बढ्नुपर्‍यो । मैले मेरो घर बेचेँ, केही सहयोग जुट्यो । यो सबैका बीच मानिसहरुले असम्भव भनेका काम मैले गरेर देखाएँ । अझै दोस्रो र तेस्रो चरण पनि पूरा गर्न सक्छु भन्ने विश्वासमा छु’ उनले भने ।

मौसम र अन्य कठिनाइका कारण समस्यामा परेका आरोहीलाईसहयोग गर्दै अघि बढेका पुर्जाले मकालुबाट फर्किएपछि केही समय परिवारसँग बिताइरहेका छन् । पुर्जाको टोली अन्नपूर्णमा चढेर फर्किँदा चौथो क्याम्पमा आइपुग्दा एक आरोही हराएको सुने । अन्नपूर्णमा हराएका सिंगापुरका डाक्टर विइ किन चिनलाई पुर्जाकै साहसले भेटिएको थियो । ‘त्यो समय ‘प्रोजेक्ट पोसिबल’लाई बिर्सिएर हामी हराएकाको खोजीमा लागेका थियौं । हुन पनि मान्छेको जीवनभन्दा ठूलो कुरा अर्को छैन, तर पनि मेहनतका बाबजुद हामीले बचाउन सकेनौं’ उनले सुनाए ।

यस्तै पुर्जाको टोलीले कञ्चनजङ्घामा भारतीय आरोही विप्लव बैद्य, कुन्तल करारलाई पनि आफूले लगेको अक्सिजन दिएर सहयोग गरेका थिए ।

यसपटक अन्नपूर्णमा बाटो पहिल्याउन चार पटकसम्म लागेको उनलाई धवलागिरीमा भने हावाको तीव्र गतिका कारण केही कठिनाइ पनि आइपरेको थियो । सगरमाथामा भएको ‘ट्राफिक जाम’को तस्वीर पनि उनी पुर्जाले आफ्नो क्यामेरामा कैद गरेका थिए, जुन विश्वभर फैलियो । यो सबैका बीच पुर्जाको उत्साह भने अझ उचो बनिरहेको छ ।

‘हामी सबैको जीवनमा केही न केही कथा हुन्छ । जीवन जिउन केही ठूला कारण आइदिँदा तब परिवार र नजिकका साथीले केही सम्झौता गरिदिनु पर्छ’ आरोहणमा जानुअघि आमासँग बिदाइ भएको तस्वीर इन्स्टाग्राममा राख्दै उनले लेखेका थिए, ‘बेलायती सेनामा हुँदा परिवारलाई सहयोग गरिरहेको म अहिले भने फरक भएको छ । आमालाई मैले हिमाल चढेको मनै पर्दैन । तैपनि उहाँले मेरो मिसनका लागि शुभकामना दिनुभएको छ ।’

यसबाट पनि पुर्जाले हिमाल आरोहणको कठिन यात्रामा कसरी साहस जुटाइरहेका छन् भन्ने थाहा हुन्छ । गएको वर्ष पाँच दिन लगाएर सगरमाथा, लोत्से र मकालुको सफल आरोहण गरेपछि नै पुर्जाले ७ महिनामा विश्वका अग्ला १४ हिमाल चढ्ने योजना बनाएका थिए ।

‘म त्यो बेला थाकेको थिइनँ । म अझै गर्न सक्छु भन्ने लागिरहेको थियो । हिमालको वातावरण मेरो शरीर अनुकुल नै छ । तर मानिसहरु मैले असम्भव काम आँटेको बताइरहेका थिए’ उनले भने, ‘विश्वमा मानव जाति जस्तो गजव कुरा अरु केही छैन । आँट्ने हो भने सकिन्छ, होइन भने बेलायती आर्मीको जागिर छाडेर म किन यहाँ आए त ?’

उनलाई लाग्छ मानिस कहाँबाट आयो भन्ने भन्दा महत्वपूर्ण मान्छेले के गर्‍यो भन्ने हुन्छ । आफूलाई कमजोर सोचर पछाडि पर्न जरुरी छैन । आँट गरेर अगाडि बढ्ने हो भने विश्व जित्न सकिन्छ ।

‘यो मेरो कसैसँग प्रतिस्पर्धा होइन, घमण्ड पनि होइन, आफ्नो विश्वास र सपनाको यात्राको निरन्तरता मात्रै हो’ उनी भन्छन्, ‘मैले जे गरिरहेको छु त्यो राष्ट्रिय गौरवकै काम हो जस्तो लाग्छ । मानव जातिकै कर्मको विश्वास बढाउन केही गर्न सकेँ कि भन्ने लाग्छ ।’

नेपाल भ्रमण वर्ष २०२० लाई पनि सहयोग पुगोस् भन्ने सोचिरहेका पुर्जा हिमाल आरोहणमा आफू मात्र अगाडि देखिए पनि त्यसका पछाडि सहयोग गर्ने धेरै जना रहेको बताउँछन् । ‘म एक्लैले त यो सबै सम्भव नै छैन । मेरो टिम हुँदा मात्रै पनि सबै सम्भव छैन । हरेक मान्छेको सहयोगले मात्रै यो सम्भव बनिरहेको हो’ उनले भने ।

पुर्जाका लागि कुनै हिमाल सजिलो या कुनै हिमाल अप्ठ्यारो भन्ने छैन । उनलाई हिमाल आरोहणमा सबै कुरा मिल्दै जाँदा पनि सहज हुने लाग्छ । हुन पनि विश्वमै सजिलो भनिएका हिमालले नै आफूलाई ठूला पाठ सिकाएको उनी सुनाउँछन् ।

पहिलो चरणमा ६ वटा हिमालको आरोहण सकाएपछि अब उनलाई एउटै डर छ, यसपछिको आरोहण रकम अभावका कारण समस्यामा पो पर्छ कि । थोरै हाँसो मिश्रित भावमा उनी भन्छन्, ‘किड्नी बेच्ने कुरा भएन त्योबाहेक सक्ने जति सबै गरिसकेको छु । अब बाँकी आठ हिमालका लागि झण्डै ५ लाख डलर आवश्यक छ ।’

प्रोजेक्ट पोसिबलका लागि आवश्यक आर्थिक सहयोग विभिन्न व्यक्ति र संस्थाहरुबाट भइरहे पनि त्यो पर्याप्त नरहेको उनका सहयोगी वेन्डी फोउक्स बताउँछन् । त्यसका लागि प्राजेक्ट पोसिबलको ‘गो फण्ड मि’ मार्फत सहयोगी हातहरु जुट्ने विश्वासमा उनी छन् ।

उनको विश्वास पुर्जाले गरेर देखाएको काम र आँटसँग जोडिएको छ । ७ महिनामा १४ हिमाल चढिसक्ने योजनामा बढेका उनी कुनै पनि हालतमा त्यसालाई नलम्ब्याउने पक्षमा छन् । भन्छन्, ‘त्यसका लागि सतप्रतिशत मेहनतका साथ अघि बढ्छु । यदि आर्थिक अभावमा सकिएन नै भने पनि दुःखी हुने छैन, कुनै अर्को कामका लागि मेहनतमा लाग्नेछु ।’

हेर्नुहोस् निर्मल पुर्जाको हिमाल आरोहणको भिडियो

 

View this post on Instagram

 

A post shared by Nirmal Purja MBE – Nimsdai (@nimsdai) on

 

View this post on Instagram

 

A post shared by Nirmal Purja MBE – Nimsdai (@nimsdai) on

 

View this post on Instagram

 

A post shared by Nirmal Purja MBE – Nimsdai (@nimsdai) on

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment