Comments Add Comment

छोरा ! उठ न

मेरा आफन्त दाइ थिए दुवईमा, पौडी खेल्दा समुद्रले निल्यो । शरीर बाँकी राख्यो, सासमात्र निल्यो ।

दाइ- राजु सुनार । भर्खर ३७ वर्षका थिए ।

दाइले बाग्लुङ दुदिलाभाटीको गाउँमा घाँस दाउरा गरेर हात गोडा बलियो बनाए । बलियो शरीर जोताउन बालुवाको देश लागे । यस्तो कथा मेरो देशको लागि कुनै नौलो होइन ।

दाइ बालुवाको देश छोडेर हरियाली देशमा दशैंमै आउने कुरा थियो । श्रम बढाएर केही केही महिना काम गरे । केही दिनअघि घरको पूजा भेट्टाउन आउने कुरा पनि थियो । साइत दशैंलाई सारे, आएनन् । दाइलाई त दशा लागेको रहेछ, ३ जेठमा गए ।

राजु दाइ घर परिवार सोचेरै खडी गएका थिए । स-सना दुई छोरा एक छोरी सम्झिरहेका थिए होला । उनीहरुकै लागि त नौ वर्षदेखि दुवईमा सामान डेलिभरी गरिरहेका थिए । यो कुरा समुद्रले सम्झिएन । समुद्रको न मुटु हुन्छ न मस्तिष्क ।

१२ जेठमा राजु दाइको फ्लाइट थियो । मान्छे होइन, वस्तु आउने जहाजमा । १३ मा मान्छे आउने जहाजमा दाइको भाइ रामबहादुरको । दुबै एउटै कम्पनीमा काम गर्थे । दाइसँग सँगै खान्थे, सँगै सुत्थे । तर, अचानक दाइको बेड खाली भएपछि कति रात उनी सुत्नै सकेनन् । कति दिन दाइको ‘डेथ सर्टिफिकेट’ लिन रुँदै हस्पिटल, प्रहरी कार्यालय र दूतावास धाए ।

०००

रामबहादुर ६ः३० मा एयरपोर्ट ओर्लिदै थिए । आफन्तहरु ६ः३० हुनुअघि नै एयरपोर्ट पुगेका थियौं । तर, रामबहादुर लामो समय भित्रै अल्झिए, म कान्छो अंकलमा गएर अल्झिरहेँ । यस्तो लाग्छ घटनाहरु, घटनाहरु सम्झाउनका लागि बढ्छन् ।

‘मलेशियाको अंकल त वित्नुभएछ केरे !’, आमाले फोनमा भन्दा थचक्कै बसेको थिएँ ।

आमा सुक्क-सुक्क गर्न थाल्नु भो । मेरो ओठ बन्द भो । तर, ओठ खुलाउनु त छँदै थियो- ‘कसरी त्यस्तो भएछ आमा ?’

‘खै राति राम्रै सुतेको रे ….’, आमाले पुरै बाक्य बोल्न सक्नुभएन ।

मैले अंकल नन्दलाल विकलाई सम्झिएँ । हट्टाकट्टा, भरिलो ज्यान, गोरो वर्ण, सर्लक्क हाइट । त्यस्तो मान्छे कसरी यस्तो हुनसक्छ । सँगै जोत्न पुगेको सम्झिए, बाउसो गर्न गएको सम्झिएँ, ठट्टा गर्दै स्कुलको झराली गएको सम्झिएँ । त्यसअघि दिल्ली गएको सम्झिएँ, फर्किँदा छोकोडा र चक्लेट ल्याइदिएको सम्झिएँ । अब बाँकी सम्झना मात्र त थियो । मान्छेले मान्छेलाई सबैभन्दा बढी कुन समयमा सम्झन्छ होला !

र, मेरा मस्तिष्क कुदेर धम्जा, ओखडाडा पुग्यो । एकातर्फ भैंसी बाँध्थे र अर्कोतर्फ परिवार बस्थेँ । अंकल मलेसिया लागेपछि पीडामाथि खरको छाना हटेर टिनमा आइपुगेको थियो । सबैभन्दा पहिला सम्झिए, त्यो टिनको छानामुनी झेरुङमा बस्ने काखे बालक । भर्खर दुई वर्ष भएको थियो भाइ । यस्तो भाइ, जसले जिन्दगीभर बाबाको अर्थ अनुभव गर्न पाउने छैन । यही कथाको पृष्ठभूमिमा गायक प्रकाश सपुतले ‘बोल माया’ गीत तयार पारे ।

वहिनी थिइन्, भर्खर छ कक्षा पढ्दै गरेकी । एसएलसीको तयारीमा जुट्नु पर्ने भाइ कोरामा बस्नुपर्ने भयो । कान्छी आमालाई सम्झेर म सम्झनै नसक्ने भएँ । त्यतिबेला कान्छी आमाको मुटु, चर्किएहोला की पडि्कएहोला !

हो, त्यही बेला म एयरपोर्ट पुगेको थिएँ । आजभोलि गरीबहरु अक्सर लास लिन अन्तराष्ट्रिय विमानस्थल पुग्छन् ।

आज म अर्को आफन्तको लास लिनको लागि विमानस्थलमा छु । त्यतिबेला दिउँसो पुगेर शव कुरिरहेको थिएँ, अहिले झमक्क साँझ परिसकेको छ ।

खै किन हो आज विमानस्थलमा चहलपहल अलि कम छ । पानीको फोहोराअघि अझै सेल्फी खिच्दै छन् । झल्किरहेका झलमल्ल लाइटहरु रोमान्टिक बनाउने खालको छ । कसैको मुहार खुशीले झपक्क बोलेको छ । उनीहरु विदेशबाट आएका आफन्तसँगै उभिएका छन् । कति लुकेर आँशु पुछिरहेका छन् । उनका आफन्त भर्खर वहिर्गमनको गेटबाट भित्र छिरेका छन् ।

०००
रामबहादुर गेटबाट फुत्त लगेज गुडाउँदै निस्किए । वारि हामी सीसाबाट पारी हेरिरहेका छौँ । म रामबहादुरलाईर् हेरिरहे । उनले देख्ने वित्तिकै बरर आँशु खसाले । उनको आँखा रातो होइन, राऽऽऽऽतो छ । पाकेको खुर्सानीजस्तो । अनुहार काऽऽऽऽलो । खाडीको घामले डढेर होला कि पीरले !

हतारिएका रामबहादुरलाई आफ्नो कहानी सुनाउने फुर्सद छैन । सरासर कागज पत्रको लागि प्रशासनतर्फ लाग्यो । रातो टिसर्ट र पाइन्ट अनि स्पोर्ट जुत्तामा कुदिरहेका रामबहादुरसँग आँखा ठोक्किरहन्छन् । उनको अनुहार खुम्चिरहन्छन् । तर, उनीसँग बोलि ठोक्किँदैन ।

साँझको आठ बजिसकेको छ । शवको कागज पत्र बुझाउने ठाउँमा एक कर्मचारी छन् । उनले भने, ‘खै ओर्जिनल कागजपत्र दिनुस् त ।’ दाइले कागजपत्र खोले, फ्याट्ट राजु दाइको हरियो राहदानी खस्यो । हतार-हतार टिपेर कर्मचारीलाई दिए । यसरी कि आफ्नो दाइको राहदानी फिटिक्कै हेर्न मन छैन ।

केही छिनमै काम सकियो, हामी राजुलाई भेट्न भन्सारतर्फ कुद्यौं । प्रहरीको चेकिङ कट्यो, दर्ता गराउने शाखामा पुग्यौं । त्यहाँ दिदी हुनुहुन्थ्यो । उहाँले पनि अघिल्लो कर्मचारीले जस्तै, सक्कली कागजपत्र माग्नुभयो । र, भन्नुभो, ‘नागरिकता छैन ?’

रामबहादुर दाईले भन्नुभो, ‘ओहो ! नागरिकता त पास लिने ठाउँमा पो छोडेको छु ।’ दिदी झर्कनु भो, ‘होइन नगरिकता चाहिन्छ, चाहिन्छ ।’ इमिग्रेसनबाट किलोका किलो सुन भित्रिँदा उनीहरुले सुनवालालाई कुन चाहीँ कागजपत्र मागेका होलान् ?

आखिर कागजपत्रमै नागरिकता नम्बर रहेछ । दिदी ढुक्क भएर कम्प्युटरको किवोर्ड थिच्न थाल्नुभयो ।

त्यहाँ सकियो, फेरि अर्को ठाउँमा दर्ता गर्नु पर्नेरहेछ । त्यहाँ पनि रामबहादुर कागजपत्र बुझाए । हामीसँगै अर्को टोली पनि हतारिँदै कगजपत्र बुझाउँदै थिए । मैले कर्मचारीसँग सोँधे, ‘आज कति वटा पुग्यो ?’ जवाफ आयो, ‘चार वटा भैसक्यो ।’

अर्को शव पनि दुवईबाटै !

अलि तडकभतक गर्ने राजन बलामी थिए । उनैलाइ सोधेँ, ‘कतिभयो घटना भएको ?’ उनले औँला भाँचे, ‘आज एक महिना १० दिन भयो ।’ रामबहादुरबाट बोली फुत्किहाल्यो, ‘धन्न हाम्रो त चाँडै भयो । १० दिनमै आइपुग्यो ।’
कस्तो अचम्म ! १० दिनमै मृतक आफन्तलाई लिन पाउँदा पनि खुशी हुनुपर्ने विवसता ?

छेउमा टोलाएर उभिरहेका छन्, एक बृद्धा । शिरमा ढाकाटोपी थियो, खुइलिएको कोठे कमिज । कपडाको पाइन्ट । ओठ कलेटी परेको छ, ओठमाथि झप्प अस्तव्यस्त जुँगा । र, खुट्टामा चप्पल छन् । जुत्ता भएको भए त लगाएर आउँथे होला नि !

हेर्दा सोझो लाग्छन् । सायद उनी के बोल्ने र के गर्ने ठूलो दुविधामा छन् ।

पहिले घर सोधेँ – मकवानपुर ।

कुरा लम्बाउन चाहन्थेँ, त्यसैले सोधे, ‘तपाईँको पनि आफन्तको मृत्यु भएको हो ?’

हिरिक्क भए र भने, छोरा । छ महिना पहिला गएको थियो ।’

म हेरेको हेरै भएँ । उनको मुख विग्रारिरहे । मानिसले निराशामा टाउको र ओठ हल्लाउँछ नि ! हो त्यसैगरि हल्लिरह्यो । आँखाको डिलमै आँशु आए, जवरजस्त रोक्न खोजे । आज, उनले जीवनमा पहिलो पटक विमानस्थल टेकेको दिन हो ।

मैले थप कुरा गरिनँ । राजन बलामीलाई उनीबारे जानकारी लिएँ, ‘कसरी भयो यस्तो ?’

उबेला मेरी आमाकै दिएजस्तै जवाफ थियो उनको ।

मेनपावरहरु कति ठाउँमा धाउँदा पनि केही सिप नलागेपछि राजनको शरणमा रुन पुगेका रहेछन् बृद्ध भीमबहादुर । राजनले पनि १० वर्ष दुवई बसेर फर्किएका कुमार वलामीलाई खवर गरेछन्, एनआरएनले पहल गरेछ । बल्ल भीमबहादुरले छोराको शवलाई नेपालसम्म ल्याउन सफल भए ।

दुई तीन जना प्रहरी आए । त्यसपछि हामी दुई-दुई वटा ट्रली गुडाउँदै भन्सार हलमा प्रवेश गर्‍यौं । ठूलो न ठूलो हल । धेरै सामाग्री छैनन् । दुई वटा ठूला ट्रलीमाथि दुई सेतो कफिन हामीलाई कुरिरहेको छ ।

हामी कफिन नजिक पुग्यौं । एक जना कर्मचारी आए र भेरिफाई गरे । कागजमा केही लेख्दै थिए । मैले पुलुक्क अर्कोतर्फ हेरे । संसारको सबैभन्दा कारुणिक दृश्य आँखा अगाडि थियो ।

एउटा लाचार बाबा, छोरा लुकाइएको सेतो बाकस हेर्दैछ । न छुन सकेको छ, न रुन सकेको छ । भीमबहादुर पल्याकपुलुक यताउता हेर्छन्, फेरि छोरातर्फ एकोहोरिन्छन् । भन्न चाहन्थे, छोरा ! उठ न । तर, बोली फुटेन ।उनको अनुहार अझ विगि्रएको छ, रङ उडेको छ । मुख कच्याककुचुक पार्छन्, आफूलाई सम्हाल्न खोज्छन् ।

त्यो बाकस सानो ट्रलीमा नखन्याई सुख छैन । राजु दाइको शव पनि त्यसरी नै ट्रली खनायौं र गुडाउन थाल्यो । दुई वटा कफिन बाबा र भाइले लाइन लागेर गुडाएको दृष्य अझ कारुणिक थियो ।
त्यही बेला एक जना साथीलाई भेटेँ । व्यवसाय प्रमोट गर्न थाइल्याण्ड गएका उनी हाँस्दै फर्किएका थिए ।

०००

अर्को दिन रामाबहादुरलाई फोन गरेँ । उनी समसानघाट दाइलाई छोडेर घर फर्किँदै रहेछन् । सोधेँ, ‘तपाईँ त फेरि र्फकनुहुन्छ होला नि !’ जवाफ अपेक्षित नै थियो, ‘एक महिनामा गइहाल्छु नि !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment