Comments Add Comment

एक जटिल कथा : बालोन डि’ओरका दाबेदार डिफेन्डर

काठमाडौं । इंग्लिस क्लब लिभरपुलका डिफेन्डर भर्जिल भ्यान डाइक गत वर्षदेखि नै चर्चामा छन् । यसवर्ष टोटनह्यामलाई हराएर च्याम्पियन्स लिगको उपाधि जितेपछि त उनलाई बालोन डि’ओरमा दाबेदारका रुपमा समेत हेर्न थालिएको छ ।

फुटबलमा सर्वाधिक ठूलो व्यक्तिगत पुरस्कारका रुपमा लिइने बालोन डि’ओरमा सिजनका सर्वाधिक गोलकर्ता बार्सिलोनाका लियोनल मेस्सीसँगै भ्यान डाइकको नाम किन आइरहेको छ त ? च्याम्पियन्स लिग विजयी टिममा पनि विशेष त स्ट्राइकरको नाम अगाडि आउने परिपाटीमा एक डिफेन्डर कसरी चर्चामा छन् ?

भ्यान डाइकले नै भने मेस्सीको तारिफ गर्दै भनेका छन्, ‘विश्व फुटबलमा सबैभन्दा उत्कृष्ट खेलाडी मेस्सी हुन् । च्याम्पियन्स लिग फाइनलमा नपुगे पनि उनैले बालोन डिओर जित्नुपर्छ । मैले जित्ने सोचेको छैन तर जितेँ भने खुशी हुनेछु ।’

फुटबललाई लिएर हुने चर्चामा सधैँस्ट्राइकरको नाम आउँछ । गत वर्ष मिडफिल्डर लुका मोडरिकले त्यसलाई गलत सावित गरे । यो पटक भ्यान डाइकको नाम चर्चामा छ । कुनै समय होटलमा भाँडा माझ्ने काम गरेका नेदरल्याण्ड्सका भ्यान डाइक लिभरपुलमा ७५ मिलियन पाउण्डका डिफेन्डर कसरी बने त ?

भ्यान डाइकलाई सुरुवाति दिनमा प्रशिक्षण गरेका प्रशिक्षक रोब्बी हेन्डरिक्स उनलाई अप्ठ्यारा बच्चाका रुपमा चिन्छन् । जसलाई हरेक कुरामा घुलमिल गराउनै समस्या थियो । त्यसैले उनलाई व्यावसायिक फुटबलर बनाउन सकिन्छ भन्नेमा उनले विश्वास गरेका थिएनन् ।

तर अहिले २०१९ मा फुटबल सिजन सकिँदा भने उनै भ्यान डाइक बालोन डिओरका दाबेदारका रुपमा उदाइरहेका छन् । उनको यो लामो यात्राको सुरुवात २००८ बाट राम्ररी भयो । जतिबेला उनी १७ वर्षमा लागेका थिए ।

त्यसअघि होचा कद, सुस्त शरीर र असन्तुलित खेलका कारण उत्कृष्ट सेन्टर डिफेन्डर हुन नसक्ने भन्दै आलोचित बनिरहेका भ्यान डाइक एक्कासी हलक्क अग्लिएजस्तै खेलले पनि उचाई लिएको थियो । ६ फिट ४ इन्च अग्ला भ्यान डाइक राम्रो खेल्न थालिसक्दा पनि विलेम क्लबमा पहिलो रोजाइँमा भने पर्न सकेका थिएनन् ।

भनिन्छ, नेदरल्याण्ड्सका पूर्व फुटबलर मार्टिन कोम्यानले भ्यान डाइकलाई देखेका थिएनन् भने उनी होटल कामदारकै रुपमा रहन्थे । आफ्नो समयका राम्रा डिफेन्डर कोम्यानले नै भ्यान डाइकलाई ग्रोनिनगेन क्लबमा लगे, जहाँ उनको खेलले चिनिने मौका पायो । सेन्टर डिफेन्समा पिलरका रुपमा स्थापित भए ।

२०१० मा ग्रोनिनगेन क्लबमा गएका भ्यान डाइकले पहिलो रोजाइँको टिममा खेल्न २०११ सम्म कुर्नुपरेको थियो ।

अरुले विश्वास नगरे पनि त्यो समय भ्यान डाइकलाई आफूमाथि भने पूर्ण विश्वास थियो । अवसर पाएमा गरेर देखाउने त्यही इच्छाले नै उनको मेहनत बढिरहेको थियो ।

२०११ नेदरल्याण्ड्सको यु १९ टिममा रहेको उनी यु २१ हुँदै २०१५ मा राष्ट्रिय टिममा पुगे । क्लब फुटबलमा दुई वर्ष ग्रोनिनगेन क्लबमा नै रहेका भ्यान डाइक २०१३ मा स्कटल्याण्डको सेल्टिक क्लबमा गए । त्यहाँबाट २०१५ मा इंग्लिस क्लब साउथह्याम्पटनमा गएका भ्यान डाइक २०१८ देखि लिभरपुलमा छन् । जहाँ उनको फुटबल कला विश्वले नियालिरहेको छ ।

ग्रोनिनगेनका प्रशिक्षक रोबर्ट मासकान्ट भ्यान डाइकमा आलोचना सुन्ने र त्यसमा सुधार गर्न सक्ने ठूलो खुबी रहेको बताउँछन् । सानो क्लबमा नै रहँदा पनि उनी मानिसहरुको हरेक कुरा सुन्थे र त्यसलाई सहज रुपमा ग्रहण गर्थे । त्यतिबेला नै आफू एकदिन उचाइमा पुग्ने विश्वास उनमा देखिन्थ्यो ।

उनको फुटबल हरेक दुई वर्षमा अर्को उचाइ पुगिरहँदा २०१२ को एउटा घटनाले भने उनी झण्डै मृत्युको मुखमा पुगिसकेका थिए । के भएको थियो ? कसरी बाँचे ? यो उचाइ कसरी मिल्यो ? भ्यान डाइकको कथा उनकै शब्दमा:-

१९९१ को जुलाईमा म नेदरल्याण्ड्सको ब्रेडामा सामान्य परिवारमा जन्मिएँ । मेरो आमा सुरिनेम (१९७५ मा नेदरल्याण्ड्सबाट स्वतन्त्र भएको सानो एक देश) को र बाबा नेदरल्याण्ड्सको हुनुहुन्छ । त्यसैले दुईतिरकै सँस्कार ममा छ । म बेलाबेला सुरिनेम पनि पुगेको छु । त्यहाँ पनि रमाइलो लाग्छ ।

म १६ वर्षको हुँदासम्म होचो व्यक्तिको रुपमा चिनिन्थेँ । मेरो सानो भाइ नै मभन्दा अग्लो थियो । होचो हुनु समस्या भन्न खोजेको होइन तर, फुटबलमा रहर भए पनि एक डिफेन्डरका रुपमा मानिसहरु त्यसमा समस्या देखिरहेका थिए ।

मेरो घुँडामा पनि केही समस्या थियो । बढ्नुमा देखिएका समस्यासँगै अरु समस्याहरु पनि आइरहेका थिए । त्यसैले फिजियोमा गएर निरन्तर सुधारका लागि काम गरेँ । रिह्यावमा गएको ६ महिना जस्तोमा सुधार पनि देखियो ।

१६ वर्षको हुँदा म राइट ब्याक डिफेन्समा सुस्त रुपमा बढीरहेको थिएँ । सेन्टर ब्याकमा खेल्नका लागि  त्यही खेलले सोच पनि थिएन । तर जब म १७ वर्षको पुगेँ एकैपटक १८ सेन्टिमिटर बढेँ । त्यसले मेरो शरीरमा आएको परिवर्तनसँगै खेलमा पनि मद्धत पुग्यो ।

विलेमबाट ग्रोनिनगेनमा पुग्दा नेदरल्याण्ड्सको यु १९ र यु २१ राष्ट्रिय टिममा पनि अवसर पाएँ । नेदरल्याण्ड्सको उमेर समूह टिमबाट देखाएको खेलले नै मेरो खेलमा धेरै सुधार हुँदै गएको हो । त्यहाँबाट नै सेल्टिक क्लबमा जाने बाटो पनि बन्यो ।

सुरुमा ग्रोनिनगेनमा जाँदा अभ्यासमा बाइकमा जानुपर्ने हुन्थ्यो । त्यसैले त्यहाँको पहिलो तलब ड्राइभिङ सिक्नमा नै सकियो । ग्राेनिनगेनमा सम्झौता गर्नु अघिसम्म एउटा होटलमा भाँडा माझ्ने काम गर्थें । त्यसले नै जीवन चलाउन सजिलो भइरहेको थियो । सोमबार, मंगलबार र बिहीबार फुटबल अभ्यास गर्थें, शनिबार खेल्थेँ अनि बुधबार र आइतबार बेलुका ६ बजेदेखि रातिसम्म होटलमा भाँडा माझ्ने काम गर्थें ।

महिनामा त्यस्तै ३५० युरो जति कमाउँथें । त्यसले नै साथीहरुलाई बजारमा म्याकडोनाल्डसम्म लगेर केही खुवाउनसमेत पुग्थ्यो । त्यसले मलाई धेरै खुशी दिन्थ्यो । ती दिनहरुमा नै पैसाको महत्व मैले बुझेको थिएँ । पैसा महत्वपूर्ण हो तर सबैभन्दा महत्वपूर्ण भने होइन ।

यस्तै गरी चलिरहँदा म एक्कासी एकपटक १३ दिन हस्पिटलमा भर्ना हुन पुगेँ । ती रातहरु असाध्यै कष्टकर थिए । एपेन्डिक्सको समस्याले जटिल रुप लिइसकेको रहेछ । पेटमा नै इन्फेक्सन भइसकेको थियो । त्यसको जानकारी पनि २०१२ को अप्रिल १ मा भएको थियो । त्यसैले त कसैले पनि मेरो समस्यामा विश्वास गरेनन् र मद्धत पाउनै गाह्रो भयो ।
अस्पतालमा हुँदा पनि मेरो आमा र म लगातार भगवानसँग प्रार्थना गरिरहेका थियौँ । त्यतिबेला त फुटबल पनि मेरो दोस्रो रोजाइँ बनिदिन पुग्यो । स्वास्थ्यको अगाडि अरु कुरा गौण हुने नै भए । उपचारमा मलाई हस्ताक्षर गराइएका कागज हेर्दा म मर्न पनि सक्ने कुरा लेखिएका थिए । त्यसले मेरो आँखामा मृत्युको भय छाएको थियो ।

ग्रोनिनगेनमा त्यो समय मैले राम्रै खेल्न थालिसकेको थिएँ । हिरेनभिन क्लबसँगको महत्वपूर्ण खेलअघि म बिरामी परेको थिएँ । बिरामी परेपछि मैले आफ्नो खानपानमा पनि ध्यान दिएको थिइनँ भन्ने याद भयो । अस्वस्थकर खानेकुराले नै रोग झनै बढाएको हो कि जस्तो लाग्यो । अपरेसन अगाडिको दुई हप्ता असाध्यै गाह्रो भयो । त्यसपछिको अस्पतालको समय पनि सजिलो भने भएन ।

ती दिन धेरै समय टेलिभिजन हेरेरै बिते । एक दिन टिभि लगाइरहँदा ‘भिभा ला भिडा’ बोलको गीत आयो । त्यो गीतमा व्यक्त भएका शब्दहरुले त असाध्यै भावुक बनायो । अहिले पनि त्यो गीत सुन्दा अप्ठ्यारा दिनहरुको सम्झना आउँछ । अहिले आफूमाथि गर्व हुने यो अवस्थासम्म आइपुग्दा ती दिनहरु बिर्सन पनि त हुँदैन ।

अपरेसन पछि पनि १० दिनसम्म त अस्पतालमा ओछ्यानमा नै थिएँ । हिँड्ने रहर लागिरहेको थियो । जब अस्पतालबाट उठेर पहिलोपटक हिँड्न पाएँ तब पागलपन सवार भएजसरी म १० मिटर हिँडे । केही समयमा फिजियोसँग काम गर्न थालेँ र विस्तारै ठीक हुँदै गयो । त्यसपछि ठिक भएर नै म सेल्टिक क्लबमा गएको थिएँ ।

सेल्टिकमा दुई सिजन बिताएर म साउथह्याम्पटनमा गएँ । साउथह्याम्पटनमा पनि दुई सिजन बसेपछि लिभरपुलमा जाने अवसर आयो । साउथह्याम्पटनमा अन्तिमतिर खेलिरहँदा पनि घाइते भएर बसेको आठ महिना भइसकेको थियो । त्यसैले अन्तिमका दिनहरुमा मैले असाध्यै मेहनत गरेँ । त्यही मेहनतले नै लिभरपुलमा जाने बाटो बन्यो जस्तो लाग्छ ।

२०१७ को च्याम्पियन्स लिग फाइनलमा युभेन्टस र रियल मड्रिड खेल्दा खेल हेर्न म कार्डिफ पुगेको थिएँ । त्यहाँ लिभरपुलका समर्थकहरुले मलाई लिभरपुल आउन आग्रह गरे । उनीहरुको स्वभाव र भन्ने शैली असाध्यै राम्रो र सम्मानजनक थियो । लिभरपुल आएपछि त मैले सक्नेसम्मको मेहनत गरिरहेको छु ।

फुटबलभन्दा बाहिरको संसारमा पनि अहिले उत्तिकै घुलमिल छु । विभिन्न चलचित्रदेखि टेलिभिजन कार्यक्रमहरुसमेत हेरिरहेको हुन्छु । पहिले भन्दा निकै फेरिएको संसार देख्दा कहिलेकाहीँ दिक्क पनि लाग्छ । मानिसहरुमा सामाजिक सञ्जालको प्रभाव चाहिने भन्दा बढी परिरहेको हो कि जस्तो पनि लाग्छ । त्यसले मानिसहरुलाई देखावटी बनाएको छ ।

जस्तो कि हामी खेलमा जितेका बेला सामाजिक सञ्जालमा संसारकै उत्कृष्ट टिमका रुपमा मानिसहरु चिनाइरहेका हुन्छन् । म संसारकै उत्कृष्ट सेन्टर ब्याक डिफेन्डर भइरहेको हुन्छु । हारेका बेलामा हामी सबैभन्दा नराम्रो भइरहेका हुन्छौँ । हामीले जिएको जिन्दगी नै यस्तैमा छ ।

जे होस्, लिभरपुलमा हामीसँग राम्रा खेलाडीको समूह छ । त्यसैले हरेक उपलब्धी हासिल गर्न चाहन्छौँ र त्यसमा सक्षम पनि छौँ । लिभरपुलमा आएको दिनदेखि नै परिवारको एक सदस्यका रुपमा स्वागत भएको छ । यही व्यवहारले पनि खेलमा अझ मेहनत गर्न मन लाग्छ ।

सक्दासम्म यसैगरी राम्रो फुटबल खेलिरहने छु । खेल्न छाडेपछिको दिन के हुन्छ भन्ने त थाहा छैन । यति चाहीँ थाहा छ मलाई शान्त भएर बस्न मन पर्छ ।

मेरो सासु ससुरा नेदरल्याण्ड्सकै गाउँमा हुनुहुन्छ । अहिले त्यहाँ पुग्दा मलाई असाध्यै खुशी लाग्छ । शान्तमा एक्लै आरामले बस्न पाइन्छ । कसैले झिँझो पार्दैनन् । मेरो फुटबल जीवन सकिएपछि त्यस्तै कुनै ठाउँमा शान्त जीवन बाँच्न मन छ ।

(यो सामग्री ईएसपीएन एफसी र बीबीसीको लेखमा आधारित छ । भ्यान डाइकको कथा बीबीसी रेडियोमा दिइएको उनको अन्तर्वार्तामा आधारित थियो ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment