+
+

भन्सारको अन्योलले वायुयानको पार्टपूर्जा आयातमा झमेला

अच्युत पुरी अच्युत पुरी
२०७६ जेठ २३ गते १८:४४

२३ जेठ, काठमाडौं । वायुसेवा सञ्चालक संघ (आयोन)ले सोमबार विज्ञप्ति जारी गर्दै पार्टपूर्जा अभावले २३ जेठबाट हवाई सेवा ठप्प हुने चेतावनी दियो । वायुसेवा कम्पनीहरुसँग भएको जगेडा स्पेयर्स पार्ट्स   ले जेठ २२ सम्म मात्र धान्ने र त्यसपछि जगेडा स्पेयर्स पार्ट्सकै अभावले उडान नै ठप्प हुने संघले उल्लेख गरेको थियो ।

एकाएक वायुसेवा नै ठप्प हुने गरी समस्या सिर्जना किन भयो ? संघका अध्यक्ष पवित्रकुमार कार्कीले सार्वजनिक गरेको विज्ञप्तिअनुसार अहिले वायसेवा कम्पनी र सरकारबीच भन्सार महसुलको विषयमा विवाद छ । त्यसमा महालेखा परिक्षकको कार्यालयले देखाएको बेरुजु मूख्य कारण हो ।

भन्सार स्रोतका अनुसार आर्थिक ऐनमा एक प्रतिशत भन्सार लिनेगरी नाम उल्लेख भएका हवाईजहाजका पार्टपूर्जाबाहेक अन्य उपकरणमा १० प्रतिशत भन्सार लाग्ने र सोही अनुसार उठाउनु पर्ने महालेखाको राय थियो । महालेखाको रायपछि विमानस्थल भन्सार कार्यालयले आर्थिक ऐनमा नाम उल्लेख भएका बाहेक अरु उपकरणमा १० प्रतिशत भन्सार नतिरी आयात गर्न रोक लगायो । त्यसपछि वायुसेवा कम्पनीहरुले विगतमा झै सबै प्रकारका पार्टपूर्जा १ प्रतिशत भन्सारमा नछुटेसम्म सामान नछुटाउने अडान लिए । करोडौं रुपैयाँ पर्ने यस्ता उपकरणमा लाग्ने महंगो भन्सार शूल्कले सञ्चालन खर्च ह्वात्तै बढ्ने व्यवसायीहरुको दावी थियो ।

सोमबार संघको विज्ञप्ति सार्वजनिक हुनासाथ सोही दिन अर्थ मन्त्रालयले विमानस्थल भन्सारलाई पार्टपूर्जा १ प्रतिशत भन्सार लिएर छुटाउन निर्देशन दियो । त्यसअनुसार अहिले अवस्था सामान्य भइसकेको अध्यक्ष कार्कीले बताए ।

‘तत्कालका लागि त समस्या समाधान भयो, पार्टपूर्जा साविकमा झै १ प्रतिशत भन्सारमा छुटेका छन्, तर यो समस्या फेरि बल्भिmन सक्छ,’ उनले भने, ‘त्यसकारण यसको दीगो समाधान खोजिनुपर्छ ।’

आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको आर्थिक विधेयकमा पनि हवाईजहाजका पार्टपूर्जाको भन्सार महशुल १ प्रतिशत तोकिएको छ । हवाई सेवा प्रदायक संस्था वा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट इजाजत प्राप्त गरेका कम्पनीले पैठारी गर्ने सामानमा १ प्रतिशत भन्सारको प्रावधान छ । त्यसमा हवाईजहाज, हेलिकोप्टर, गेयर बक्स, इन्जिन, टर्वो जेट इन्जिन र टर्वो प्रोपेलर्स, टायर, ट्यूव, ब्याट्री, नट, बोल्ट, रिभेट, रोटर र ब्लेड, हव, एक्यूटर, हृविल, ब्रेक, एपीयू, फ्लयूल कन्ट्रोल यूनिट, विङ्ग, स्टेरिङ्ग सेलेक्टर भल्भ, भाइब्रेसन आइसोलेटर, पिष्टन र अन्य पार्टपूर्जामा भन्सार उपशीर्षक नै तोकेर १ प्रतिशत भन्सारको व्यवस्था गरिएको छ । ल्याण्डिङ गेयर र विण्डसिल्डमा पनि १ प्रतिशत नै भन्सार लाग्छ ।

के भन्छ महालेखा ?

विश्व भन्सार संगठनको वर्गिकरण अनुसार एयरक्राफ्ट उपकरणभित्र नपर्ने तर, हवाई सेवा सञ्चालनका लागि आवश्यक उपकरणको आयातमा १० प्रतिशत भन्सार महसुल असुल गर्नुपर्ने सिफारिस गरिएको महालेखा स्रोतको भनाइ छ । स्रोतअनुसार कार्यालयले गत माघमै भन्सार कार्यालयलाई प्रारम्भिक प्रतिवेदन दिई एयरक्राफ्टको भित्री पार्टपूर्जामा नपर्ने भर्‍याङ, ब्याटि्र सेभिङजस्ता सामग्री आयात गर्दा १० प्रतिशत भन्सार लाग्ने उल्लेख गरेको थियो ।

महालेखाको रायपछि पनि त्यसमा अन्तिम निर्णय गर्ने अधिकार सरकारसँगै रहेको महालेखाका एक अधिकारीले बताए । ‘जुन उपकरण जहाज वा हेलिकोप्टरको पार्ट नै होइन, त्यस्ता सामग्रीलाई १० प्रतिशत भन्सार लिने सूचिमा राख्न सुझाव दिइएको हो,’ स्रोतले भन्यो, ‘यदि अन्य सामग्रीलाई पनि छूट नै दिने हो भने सरकारले आर्थिक ऐनमार्फत सूची सच्याउन सक्छ ।’

कति हुन्छ आयात ?

भन्सार विभागको तथ्यांकअनुसार अघिल्लो वर्ष हवाईजहाज र पाट्र्सपूर्जा आयातमा करिब २५ अर्ब रुपैयाँ विदेशिएको थियो । ठूला जहाज आयात गरेको वर्ष यो रकम अझ बढी हुन जान्छ । खरिद गरिएको बाहेक लीजमा पैठारी भएका हवाईजहाज, हेलिकोप्टर र त्यसको इन्जिन पैठारी गरेको मितिले तीन वर्षभित्र फिर्ता गरेमा पैठारी हुँदा तिरेको भन्सार फिर्ता हुने प्रावधान रहेको छ ।

नेपालमा भाडामा ल्याइएका एयरक्राफ्ट र त्यसको पार्टपूर्जा नेपालमा दूर्घटना भएर पुन सञ्चालन नहुने अवस्था आएमा वा फिर्ता लैजान नसकेमा पनि त्यस्ता जहाज भित्राउँदा लाग्ने भन्सार महसुल फिर्ता हुने प्रावधान राखिएको छ । वायुसेवा कम्पनीहरुले इन्जिन या अन्य पार्टपूर्जा भित्राएपछि त्यसलाई पूँजिकरण गरी वित्तीय विवरणमा उल्लेख गर्नुपर्छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?