Comments Add Comment

कागती खेतीमा आकर्षित हुँदै गोरखाका कृषकहरु

२७ जेठ, गोरखा । पालुङटार नगरपालिका-८ झाँक्राकी उजेली आलेको खेतियोग्य जमीन दुई वर्ष बाँझो बस्यो । सोचे जस्तो उत्पादन नभएपछि खेती गर्न छाडेकी आलेले अहिले कागती रोपेकी छिन् ।

‘पहिले धान, मकै लगाउथे,’ उनले भनिन्, ‘दुःख गरेअनुसार नफलेपछि लगाउन छाडे, अहिले कागती खेती शुरु गरेको छु ।’ पाँच रोपनी क्षेत्रफलमा सुन कागती १ जातको सय विरुवा लगाएकी छिन् उनले । गत साउन महिनामा रोपीएको वेर्नाले तीन बर्षपछि फल दिने आशमा उनी छिन् ।

उनी मात्र होइन बाँझिएको जमीनमा कागती खेती गर्न झाँक्रा गाउँ आकर्षित भएको छ । स्थानीय कालिका महिला किसान क्लबले करिव एक सय रोपनी क्षेत्रफलमा कागती खेती शुरु गरेको छ ।

क्लवमा २२ घरधुरी आवद्ध छन् । आ-आफ्नो जग्गामा उनीहरुले कागतीको वेर्ना रोपेका छन् । सुन कागती १ जातको करिव १८ सय विरुवा रोपिएको क्लबकी कोषाध्यक्ष सुनिता थापा बताउछिन् ।

आफूले मात्र दुई सय विरुवा रोपेको बताउदै थापाले कागती खेती गाउँकै लागी नयाँ भएको जिकिर गरिन् । सिँचाइका लागि पधेरोखोलावाट पानी ल्याइएको छ ।

पानी संकलनका लागी चार वटा ड्रम राखिएका छन् । मलका लागी कतिपय स्थानीयले गड्यौला मल उत्पादन गर्छन् । उत्पादित कृषि उपज संकलनका लागी शून्य शक्ति शित भण्डारण पनि निर्माण गरिएको छ । बजार व्यवस्थापन नहुन्जेल उक्त भण्डारणमा उत्पादित कृषि उपज राख्न मिल्ने स्थानीय बताउछन् ।

सुन्तला खेतीसमेत गर्दै आएका मगरले अहिले कागती खेती सुरु गरेका हुन् । ‘अरु खेती गर्दा फल पाउन एक वर्ष कुर्नुपर्छ तर यो कागती बाह्रमासे फल्छ, फेरि बाँदरले पनि नखाने, त्यसैले यही खेती शुरु गरेका हौ,’ उनले भने । पाँच रोपनी जग्गामा एक सय कागती वेर्ना लगाएको उनले बताए ।

पालुङटार नगरपालिका-९ पाण्डेवेशीका लालीगुराँस किसान क्लबले पनि करिब ३० रोपनी क्षेत्रफलमा ५ सय कागती लगाएका छन् । गत साउन महिनाबाट खेती शुरु गरिएको सचिव देवनिधि पाण्डेले बताए । सोही क्लबका आवद्ध राज कुमार तामाङले कागतीको विरुवा उत्पादनका लागी नर्सरी समेत संचालन गरेका छन् । दश वर्षको साउदी बसेपछि उनी स्वदेश र्फकेर कृषि पेशामा लागेका हुन् ।

पानपामा मात्र होइन शहिद लखन गाउँपालिका-२ उम्लुङका मनकामना महिला कृषक समूहले पनि कागती खेती शुरु गरेका छन् ।

७० रोपनी क्षेत्रफलमा एक हजार कागतीको विरुवा रोपिएको समूहले जनाएको छ । सिँचाइका लागि दुई वटा पानी पोखरी निर्माण गरिएको छ ।

बाबुबाजेले गर्दै आएको सुन्तला खेती छाडेर स्थानीय खड्गबहादुर थापा पनि कागती खेती प्रति आकर्षित  भएका छन् । गत साउनबाट पाँच रोपनी जग्गामा उनले डेढ सय कागतीका विरुवा रोपेका छन् । उनी आफैले गड्यौला मल उत्पादन गर्छन् । कागती खेतीबाट राम्रै आम्दानी हुने बिश्वास किसानहरुलाई छ ।

सहमति संस्था र लुथरन वर्ल्ड रिलिफको साझेदारीमा संचालित अमिलो जातको फलफूलहरुको बजार विकास परियोजना अन्तरगत किसानहरुलाई कागती खेतीमा सहयोग गरिएको हो ।

कृषकलाई विरुवा वितरण, सिँचाइ सुविधा, तालिम प्रदानलगायतका सहयोग गरिएको परियोजना संयोजक शिव सुवेदी बताउँछन् ।

उत्पादन क्षेत्र बिस्तारको काममा सहयोग पुर्‍याउने उदेश्यले गोरखा, नवलपरासी र तनँहु जिल्लाका किसानहरुलाई सहयोग गर्दै आएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment