Comments Add Comment

चितवनको पर्यटन प्रर्वद्धनमा सहयोग गर्छु : कामीरिता शेर्पा

३० जेठ, चितवन । सबभन्दा धेरै २४ पटक विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर कीर्तिमान बनाएका सोलखुम्वुका कामीरिता शेर्पा यसै हप्ता चितवनमा भेटिए । पहिलो पटक चितवन झरेका उनलाई यहाँको उखरमाउलो गर्मी निकै सतायो ।

गर्मीले अत्याए पनि चितवनका पर्यटकीय क्षेत्र र यहाँका जंगली जनावरले भने उनलाई लोभ्यायो । ४९ बर्षमा हिँडिरहेका कामिरितालाई हिमाल र शेर्पाबारे डकुमेन्ट्री बनाइरहेका विनोद अधिकारीले चितवन ल्याएका थिए ।

चितवनका अधिकारीले हिमाली अतिथिलाई चितवन राष्ट्रिय निकुञ्ज घुमाएर हात्ती, गैंडा लगायतका वन्यजन्तु र चराचुरुङ्गी देखाए । ‘चितवन त साँच्चै सुन्दर रहेछ’, कामीरिताले भने, ‘अब यहाँको पर्यटन प्रवद्र्धनमा सहयोग गर्छु ।’

५० वर्षको उमेरमा २५ औं पटक सगरमाथा चढेर नयाँ रेर्कड बनाउने सोच बनाएका उनले आरोहण अनुभवसम्बन्धी किताव लेख्ने योजना पनि सुनाए । उनका अनुसार, सगरमाथाको चुचुरोमा हावा नचलेको बेला १५–२० मिनेटसम्म बस्न सकिन्छ नत्र १० मिनेट । सन् १९९४ मा पहिलो पटक चुचुरोमा पुग्दा उनी अब सजिलै काम पाइन्छ भन्ने सोचेर १० मिनेटमा फर्केका थिए रे ।

कामीरिता शेर्पा सगरमाथामा भइरहेको परिवर्तनका साक्षी हुन् । प्रविधिका कारण पहिलेभन्दा अहिले आरोहण सजिलो भए पनि सगरमाथा आफैं भने अप्ठ्यारो बन्दै गएको उनको अनुभव छ ।

‘अहिले हिउँ नै पर्दैन, भएको हिउँ पनि पग्लिएको छ’ उनले भने, ‘पहिले ६५ सय मिटर माथि हिउँ मात्रै हुन्थ्यो, अहिले ढुंगा देखिन थालेको छ, चढ्न गाह्रो हुँदैछ ।’

सगरमाथाबाट फोहर र शव हटाउन सरकारी पहल अपर्याप्त भएको उनको गुनासो छ । यही कारण देखाएर सगरमाथाको बदनाम गर्ने काम पनि भइरहेको उनले बताए । ‘ट्राफिक जामले मान्छे म¥यो भन्ने झुटो समाचार दिनेहरुबारे सरकारले छानबिन गर्नुपर्छ’ उनले भने ।

कीर्तिमानधारी यी आरोहीले मृत्युलाई नजिकबाट नियालेका छन् । सन् २०१४ मा खुम्बु क्षेत्रमा हिउँ पहिरोले १६ जना शेर्पाको ज्यान जाँदा उनी आधार शिविरमा थिए भने १९९६ को हिमआँधीमा आठ जना मर्दा दोस्रो शिविरमा ।

उनका अनुसार, आधार शिविरभन्दा माथि पुग्नेहरुको मृत्यु अनुपात १ प्रतिशत भन्दा कम छ । २०१० यता आधारशिविरभन्दा माथि पुगेका सातहजार ९५४ मध्ये ७२ जनाको मृत्यु भएको उनले बताए । ‘अधिकांश मृत्यु हिमपहिरोमा परेर वा चढ्दा वा झर्दा खसेर हुन्छ’, कामिरिता भन्छन्, ‘कतिपय त हिमालमै मर्न भनेर पनि आएका हुन्छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment