Comments Add Comment

छापामा आज : नियतवश उडान घटाएर घाटा बढाउँदै वायुसेवा निगम !

३१ जेठ, काठमाडौं । गुठी विधेयक आज पनि मुख्य दैनिक पत्रिकाहरुको प्राथमिकतामा परेको छ । त्यस्तै, यातायातमा गरिएको भाडा वृद्धि र फिर्ता, ओम अस्पतालको लापरबाहीलगायतका विषयलाई पनि आजका पत्रिकाहरुले प्राथमिकतापूर्वक छापेका छन् । साथमा केहीले वायुसेवा निगमलगायतको बेथिति पनि आज खोतलेका छन् ।

नयाँ पत्रिका दैनिकले नेपाल वायुसेवा निगमभित्रको बेथितिबारे मुख्य समाचार लेखेको छ । समाचार अनुसार, राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम नेतृत्वले अन्तर्राष्ट्रिय उडानका जहाज पनि नियतवश पूर्ण क्षमतामा नउडाएको खुलेको छ ।

नयाँ पत्रिका लेख्छ– निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेका सेक्टरमा जानाजान उडान कटौती मात्र गरेको छैन, जापान र कोरियामा हुने भनिएको उडान नियतवश ढिला गरेको देखिन्छ ।

जेट एयरवेज ग्राउन्डेड हुँदा नेपाल एयरलाइन्सलाई भारतमा उडान थप्ने अवसर थियो । तर, त्यो अवसर सदुपयोग गर्नुको साटो जहाजलाई आधा क्षमता मात्रै चलाएर बाँकी समय थन्क्याएर राखिएको नयाँ पत्रिका समाचारमा उल्लेख छ । उदेकको कुरा त के छ भने निगमका न्यारोबडी र वाइडबडी शुल्क तिरेर पार्किङमा थन्क्याइएको छ । दुबई उडानको हालत पनि उस्तै छ । दैनिक उडान घटाएर सातामा तीन दिनमा झारिएको छ ।

निगम बेथिति यतिमै सकिँदैन । पाइलट छनोटमा पनि उस्तै समस्या छ । नेपाली हुँदाहुँदा ११ विदेशी पाइलट राखिएका छन् । जसकारण निगमलाई २ करोड ४२ लाख अनावश्यक भार परेको नयाँ पत्रिका समाचारमा लेखिएको छ ।

धरानमा डेंगु नियन्त्रणबाहिर गएको खबर पनि नयाँ पत्रिकामा छ । पानीको हाहाकार रहेको धरानमा स्थानीयले संकलित पानी फाल्न नमान्दा संक्रमण झन् फैलिएको नयाँ पत्रिका समाचारको सार छ ।

अन्नपूर्णले ‘मुठीमा गुठी’ शीर्षक दिएर गुठीमाथि बढ्दो अतिक्रमणबारे चिरफार गरेको छ ।

अन्नपूर्णमा गोपीकृष्ण ढुंगाना लेख्छन्– मौकामा चौका हान्नुपर्छ भन्ने भनाइ पछिल्लो समय गुठीका जग्गामा लागू भएको छ । पहिले गुठीका जग्गा चलाए पाप लाग्ने डर थियो । अहिले भेटेसम्म लुट्नुपर्छ भन्ने देखिएको छ । धन देखेपछि महादेवका तीन नेत्र भनेझैं गुठीको जग्गा हत्याउन व्यक्तिदेखि सरकारसम्म सक्रिय छन् ।

गुठी संस्थान केन्द्रीय कार्यालयका अनुसार गुठीका जग्गा व्यक्ति, क्लब, संघ, संस्था र सरकारबाट अतिक्रमण भएका छन् ।

सरकारले अस्ट्रेलियाको राजदूत नियुक्तिका लागि महेशराज दाहाललाई गरेको सिफारिस विवादमा परेको खबर पनि अन्नपूर्णको पहिलो पृष्ठमा छ । दाहालको पत्नी अमेरिकाको स्थायी बासिन्दा भएको पाइएपछि उनको सिफारिस विवादमा परेको समाचारमा उल्लेख छ ।

राजदूत नियुक्तिसम्बन्धी निर्देशिका बेवास्ता गर्दै सरकारले गत साता अस्ट्रेलियासहित चार मुलुकका लागि राजदूत नियुक्तिको सिफारिस गरेको थियो । अस्ट्रेलिया राजदूतमा सिफारिस दाहाल पत्नी अमेरिकाको स्थायीबासिन्दा भएपछि उनको नियुक्ति सिफारिस थप विवादमा परेको छ ।

बुङमतीस्थित रातो मत्स्येन्द्रनाथ मन्दिरका ३१ पुजारीले गुठीसम्बन्धी विधेयक फिर्ता नभए सामूहिक राजीनामा दिने भनेर दिएको चेतावनीलाई कान्तिपुरले मुख्य समाचार बनाएको छ । दैनिक नित्य पूजा, चारपटक आरती, जात्रा सञ्चालन गर्दै आएका पुजारीले विधेयक जबर्जस्ती पारित गरिए मत्स्येन्द्रनाथ जात्रा सञ्चालनमै समस्या आउने भन्दै राजीनामाको चेतावनी दिएका हुन् ।

रातो मत्स्येन्द्रनाथ ३२ पानेजु संघअन्तर्गत ३१ पुजारी छन् । ७ बज्राचार्य र २४ शाक्य कुलका । कान्तिपुरका अनुसार, उनीहरु प्रत्येक १५ दिन पालैपालो मन्दिरमा खटिने गरेका छन् । त्यसबापत प्रत्येकलाई १० देखि १५ रोपनी खान्की जग्गाको व्यवस्था गरिएको छ । पुजारीका लागि छुट्याइएको जग्गा व्यक्तिको हुँदैन । जो पुजारी छ, उसले भोगचलन गर्ने हो ।

राष्ट्रिय मानवअधिकार आयोग आफैंले गरेको सिफारिसका आधारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आयोगलाई आफू मातहत राखेको खबर राजधानीमा छ । राजधानीका अनुसार आयोगका अध्यक्ष अनुपराज शर्मा र सचिवसहितले बुझाएको प्रतिवेदनमा आयोग प्रधानमन्त्री कार्यालय मातहत बस्ने उल्लेख छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र फ्रान्सका समकक्षीबीचको भेटवार्तालाई गोरखापत्रले मुख्य समाचार बनाएको छ भने कारोबारले यातायात भाडा वृद्धिसँगै फिर्ता गरेको लेखेको छ ।
हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment