Comments Add Comment

जति धेरै सरल, उत्ति धेरै सहज जीवन

कहिले काहीँ हामीलाई आफ्नै जीवन बोझ लाग्छ । कहिले काहीँ हामी आफ्नो जीवनप्रति बढी नै संवेदनशिल हुन्छौ । कहिले काहीँ हामी जीवनप्रति यसै भयाभित हुन्छौ ।

बिहान आँखा खुलेदेखि जीवनकै बारेमा सोचमग्न हुन्छौ । जीवन कस्तो बनाउने ? कसरी बनाउने ? यस्तै यस्तै कुरामा घोत्लिरहेका हुन्छौ । जीवन आखिर यसैपनि बित्छ । तर, हामी आयु घट्दै गइरहेको जीवनसँग डराइरहेका हुन्छौ । जीवनमा केही गरिएन भन्ने बोधले पनि झस्काइरहन्छ । कतिपय इच्छा, आकंक्षा, रहरहरु पुरा गर्न नपाएको हुटहुटीले बेचैन बनाइरहेको हुन्छ ।

यस्तो गर्नुपर्ने थियो, यस्तो गर्नु हुँदैनथ्यो भन्ने कुराले पनि मनलाई अस्थिर बनाउँछ । हामी जीवनप्रति अलि बढी नै संवेदनशिल, बढी नै गंभिर पो हुँदैछौ कि ? सोचौं ।

जीवनलाई धेरै गंभिरतापूर्वक लिनु उचित हुँदैन । जीवनप्रति अनावश्यक सचेत र सर्तक हुन पनि जरुरी छैन । एकबारको जुनी हो, सबै कुरा भोग गर्नुपर्छ भन्ने आकंक्षाले पनि जीवनलाई जटिल बनाउँदै लगेको छ ।

हामी किन उदास हुन्छौ ? किन निरास हुन्छौ ? किन बेचैन हुन्छौ ? किनभने हामीले आफ्नै जीवनसँग पनि बढी अपेक्षा गर्‍यौं । यो भएन, त्यो पुगेन, यसो गरिएन भन्ने गुनासाहरु मनभरी गुम्साएर राख्यौं । यी कुराहरुले हामीलाई आफ्नै जीवन बोझिलो र झन्झटिलो लाग्न थाल्यो । जीवनलाई आवश्यक्ता भन्दा बढी गंभिर मान्यौ । त्यसैले हामीलाई जीवन जिउन सहज भएन ।

जीवनलाई जति हल्का र सहज रुपमा लिइन्छ, हामीलाई जिउन पनि उत्तिनै सजिलो हुन्छ ।

जीवनलाई सामान्य रुपले बुझौं । सरल ढंगले जिउने प्रयास गरौं । हामीलाई अनावश्यक डर, तनाव, बेचैनीले सताउनेछैन ।

भोलिको कुराले आज हामी भयाभित हुन जरुरी छैन । भोलि आएकै छैन । भोलि के हुन्छ ? हामीले देखेकै छैनौ । कहिल्यै नआउने भोलिसँग किन भयाभित हुने ?

हिजो गरेका गल्ती, कमजोरी सम्झेर बिलौना पनि नगरौं । हिजो जे भयो, सकियो । हिजो भएका कमी-कमजोरी आज सच्याउन सकिदैन । हिजोको कुरालाई मनमा नराखौं ।

हिजोलाई सम्झेर दुःखी हुने, भोलिलाई सम्झेर भयाभित हुने । अनि वर्तमानको जीवन कहाँ छ ? आज हामी हिजोको पीर पखाल्न र भोलिको भय हटाउनै खर्च गर्ने ? किन मनलाई अनावयश्क बोझ दिने ? किन मनमा अनावश्यक भय पाल्ने ?

वर्तमानमा बाँचौ । बर्तमान नै भूत हो र भविष्य पनि । आजलाई राम्रो बनाएर बाँचौ । वर्तमानमा रमाउन सिकौं, वर्तमानमा बाँच्न सिकौ । जीवनलाई अनावश्यक झमेलाको भारी नबोकाऔं ।

जीवनलाई धेरै गंभिर भएर नसोचौं । धेरै आकंक्षा नराखौं । सरल बन्ने प्रयास गरौं । हामी जति धेरै सरल हुन्छौ, जीवन उत्ति सहज हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment