Comments Add Comment

जाँगर हराएका सांसद !

वि सं ०७४ मंसिरमा २७५ सदस्यीय प्रतिनिधिसभाको चुनाव भयो । संसदमा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सदस्य छन् । कम्युनिष्टहरुले लेनिनको शब्द सापटी लिँदै संसदलाई खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने ठाउँ पनि भन्ने गर्छन् । केही वर्ष पहिलेसम्म धेरै नै सुनिने उक्त शब्द आजभोलि बिरानो भएको छ । सायद वामपन्थीहरुको झण्डै दुईतिहाइ भएर होला ।

वर्तमान संसदमा त्यतिका धेरै अनुहार छन् । महिला र जातजातिका अनुहारहरु पनि थुप्रै छन् । जातजाति र महिलाहरु हुँदैमा ती जनताको आवाज संसदमा उठ्ने रहेनछ भन्ने कुरा लगातार पुष्टि हुँदै गइरहेको छ ।

संसदमा जनताको आवाज बोल्ने अनुहारहरु अत्यन्तै कम देखिएका छन् । यसको सीधा अर्थ के हो भने धेरै सांसदले रोष्टम वा कुर्सीको अगाडि उभिएर जनताको आवाज निकाल्न छोडेका छन् । जुनसुकै जातका होउन् कि क्षेत्रका, उनीहरु धेरैले आफ्नो स्वार्थको आवाज निकालिरहेका छन् । जब स्वार्थ मिल्छ, कांग्रेस, कम्युनिष्ट सबै एक ठाउँ उभिन्छन् । जब स्वार्थ बाझिन्छ, अनि आरोप प्रत्यारोपमा उत्रिन्छन् । तर, जति आरोप प्रत्यारोपमा उत्रिए पनि जनताको कुरा चाहिँ गर्दैनन् । आक्कल झुक्कल गरेजस्तो गर्छन् ।

संसदमा उभिएर बोल्नका लागि विचार चाहिन्छ । विचारले बोल्ने शक्ति निर्माण गर्छ । त्यही शक्तिलाई संसदमा प्रस्तुत गर्दा नै त्यसको वजन गह्रुंगो हुने हो । शान्ता चौधरी र प्रेम सुवालले जोडतोडले भाषण गर्दैनन् । उनीहरु औसत बोल्छन् । तर, २७३ सांसदलाई उनीहरुले उछिनेका छन् । यसबारे लेखमा केही चर्चा गरिनेछ ।

अन्तरिम संसदभन्दा कमजोर प्रस्तुती

गिरिजाप्रसाद कोइराला मात्रै यस्ता व्यक्ति हुन्, जसले संसद्को शक्ति कति हुन्छ भनेर ०६३ मा देखाइदिए । तर, तिनै गिरिजाप्रसाद कोइरालाले आफ्नै बहुमतको सरकार हुँदा पनि संसद विघटन गरेका थिए । ०५८ मा विघटन भएको समयदेखि पुनस्थापनाका लागि ०६३ सम्म निरन्तर ढिपी गरिरहे । त्यति ठूलो आन्दोलन एउटै मागमा अडिएको थियो, त्यो हो प्रतिनिधिसभाको पुनस्थापना ।

विसं. ०६३ बैशाख ११ गते त्यही पुनस्थापित संसद्ले बेलायती म्याग्नाकार्टा शैलीमा राजाका धेरै अधिकारहरु कटौती गरिदियो । राजालाई संसदबाट अलग गरिदियो । केही दिन पहिलेसम्म शक्तिशाली राजा ज्ञानेन्द्रलाई खोपीमा पुर्‍याइदियो । र, त्यसको केन्द्रमा थिए, गिरिजाप्रसाद कोइराला ।

अहिलेको संसदले पुनस्थापित संसद जत्तिको शक्तिशाली निर्णय गर्ने सामर्थ्य राख्दैन । एउटा गुठी विधेयकमा अल्झिएर बसेको छ । एउटा मिडिया विधेयकमा अल्झिएर बसेको छ । सांसदहरुका कुर्सी खाली छन् । वजनदार कुरा धेरैले गर्दैनन् । जनताका आवाज कसैले उठाइरहेका छैनन् । भत्ता पचाउनकै लागि उनीहरु संसदमा उपस्थित भएका छन् भनेर सजिलोसँग भन्न सकिन्छ । बरु उनीहरुले भत्ता वापतको काम गरेका छैनन् ।

कुनै पनि घटनाक्रमलाई राजनीतिक विश्लेषण गर्न सक्ने शक्ति सांसदहरुमा देखिएको छैन । धेरै सांसदहरु अर्थहीन प्रतिक्रिया दिइरहेका छन् । कुनै पनि राजनीतिक घटनाक्रमको विश्लेषण गर्दैनन् । सैद्धान्तिक, दार्शनिक, राजनीतिक विश्लेषण गरेको देखिँदैनन् । उनीहरु आरोप, प्रत्यारोप, वादविवादमा रुमल्लिइरहेका छन् ।

उनीहरुमा पढ्ने जाँगर छैन् । संसद सचिवालयमा रहेको पुस्तकालयमा सांसदहरु जाँदैनन् । पुस्तकहरु पढ्दैनन् । लेखहरु लेख्दैनन् । कुनै पनि सांसदहरुले मिडिया विधेयक, गुठी विधेयक, मानवअधिकार विधेयक आदिका बारेमा लेखेको भेटिएको छैन । उनीहरुमा जनतालाई बुझाउन सक्ने हैसियत पनि छैन भन्ने देखाइरहेका छन् ।

कुनै पनि विधेयकमा यति धेरै बहस, विवाद, विरोध हुँदा कुनै पनि सांसदले कुरा यस्तो हो भनेर एउटा लेखमार्फत् जनतालाई जानकारी दिने जाँगर गर्दैनन् भने सांसदहरुको हालत कति खराब छ भनेर बुझ्न सकिन्छ । अझै तिनीहरुलाई लाख/लाखको ल्यापटप चाहिएको छ । के यो आठौं आश्चर्य होइन ?

कमजोर प्रतिपक्ष

नेपाली कांग्रेस प्रतिपक्षमा छ । तर, उसले प्रतिपक्षी भूमिका खेल्ने नैतिकता पुनस्थापित सकेको छैन । देशमा जे जति विकृतिहरु भित्रिए, तीमध्ये धेरैजसो कांग्रेसको सरकारले नै भित्र्याएको थियो । त्यसैले नेकपाको सरकारका सामु प्रतिपक्ष कांग्रेस नैतिकवान हुने हैसियत नै राख्दैन ।

प्रधानमन्त्री केपी शर्मा ओली रोष्ट्रममा उभिए भने कांग्रेस थला पर्छ । प्रधानमन्त्रीलाई नै आच्छु आच्छु पार्नुपर्ने प्रतिपक्षलाई उल्टै प्रधानमन्त्रीले थला पारिदिन्छन् । प्रधानमन्त्रीले थला पार्ने कस्तो प्रतिपक्षी देशले पाएको छ ? स्वयं प्रतिपक्षका सांसदहरुले बुझ्नुपर्ने कुरा हो । जब उनीहरु आफैँ स्वार्थमा डुबेका छन् भने उनीहरुले सत्तापक्षका कमजोरी पत्ता लगाउन सक्ने कुरा भएन । लगाएका छैनन्, सक्दैनन् ।

भनिन्छ, संसद् प्रतिपक्षको हो । तर, प्रतिपक्षका सांसदहरु जतिसुकै चिच्याए पनि तिनीहरुको विचारमा, व्यहारमा कुनै दम देखिएको छैन । नेपाली कांग्रेसका मीन विश्वकर्मा, मिनेन्द्र रिजाल, बालकृष्ण खाँड, गगन थापाहरु खुबै कराएको सुनिन्छ । तर, त्यसमा जनताको आवाज छैन । सत्ता गुमेको पीडाबाहेक त्यो आवाजमा दम छैन । मसी सुकेको कलम जति घोटे पनि अक्षर लेख्न सक्दैन । निम नै खिइने हो । आज कांग्रेसका सांसदहरुको हालत मसी सकिएको कलमको निमको हालत भएको छ ।

अहिले उठेको कुरा गुठी विधेयकको मात्रै होइन । विगतका सरकारले देश र जनताकै विरुद्ध पनि कैयौं विधेयकहरु संसदमा पेश गरेका धेरै उदाहरणहरु छन् । गरिब जनताको पक्षमा नबोल्ने जुन संसद बानेश्वरमा विद्यमान छ, त्यसले विषयवस्तुलाई गहिराइमा होइन, छिपछिपे तरिकाले बुझ्छ र समस्याको समाधान गर्दैन ।

संसदलाई कानुन बनाउने पूरापूर अधिकार छ । सरकारले कुनै विधेयक ल्याएन भने संसदले व्यक्तिगत रुपमा विधेयक दर्ता गराउन सक्छन् । सार्वजनिक महत्वका विषयहरु दर्ता गराएर छलफल गराउन सक्छन् । तर, संसदको भेंडीगोठ मौन जस्तै छ ।

जिउँदा सांसद !

गुठी विधेयकमा छलफल चलिरहँदा संस्कार, संस्कृति, जात्रा र पर्वको नाममा लुट र भ्रष्टाचारलाई सदियौंसम्म निरन्तरता दिन चाहन्छन् भन्ने कुरा काठमाडौंका कम्युनिष्ट र कांग्रेस सबै एक देखिए । फरक देखिए त केवल भक्तपुरका प्रेम सुवाल । अरु सबैलाई काठमाडौंका सम्पदा र गुठीहरुको माया लाग्ने, तर प्रेम सुवाललाई माया लाग्दैन होला त ? प्रेम सुवाल पनि काठमाडौंको सम्पदालाई माया गर्ने मान्छे हुन् ।

सांसद सुवाल धेरैजसो विधेयकमा संशोधन हाल्छन् । यो भएन, त्यो भएन भनेर संसद्मा कैयौंपटक एक्लै बोल्छन् । सभामुखले संशोधन फिर्ता लिनका लागि समय दिन्छन्, तर उनी कुनै पनि हालतमा फिर्ता लिँदैनन् । कुनै दिन पटक-पटक रोष्टममा जान्छन् । र, आफूले हालेको संशोधनको औचित्यको बारेमा प्रष्ट्याउने प्रयत्न गर्छन् ।

सत्ताका गल्तीहरुको खुलेर विरोध गर्छन् । आफ्नो पार्टीका कुरा लेखेरै प्रष्ट राख्छन् । तर्कवितर्क पेश गर्छन् । तर, उनी एक्लै छन् । कारण नेपाल मजदुर किसान पार्टीले एउटा मात्रै सीट जितेको छ ।

काठमाडौंमा धेरै गुठीहरु नेवार संस्कार, संस्कृति, जात्रा, पर्वहरुसित सम्बन्धित छन् । ती पर्वहरुको कसैले विरोध गरेको छैन र गरिनु पनि हुँदैन, विरोध उनले पनि गर्दैनन् । ती जनताले मनाउने पर्व हुन् । तर, प्रेम सुवाल नेवार भएर पनि काठमाडौंको गुठीले गरिरहेको शोषणका विरुद्ध बोलेका छन् । उनले गुठीले जनतामाथि गरिरहेको शोषण, त्यहाँ हुने भ्रष्टाचार, अनियमितताको तीब्र विरोध गरेका छन् र गरिबहरुको पक्षमा अडान लिएका छन् । गुठी केही धनीमानी र शोषक सामन्तका मात्रै होइनन्, गरिबहरुका पनि हुन् भन्ने मान्यता स्थापित गर्न खोजेका छन् ।

उनी नेवार हुन् र पनि सामन्तवादको विरुद्ध बोल्न सके, त्यसैले उनी संसदमा जीउँदो भएर प्रस्तुत भएका छन् । तर, नेकपाका काठमाडौंका सांसदहरुले गुठीले गरिरहेको शोषणको बारेमा एक शब्द बोल्न सकेनन् । गुठीमा भएको लुट, भ्रष्टाचार, त्यसले जनतालाई गरेको शोषणको विरुद्धमा बोल्नु काठमाडौंका जात्रा, परम्परा, संस्कार र संस्कृतिको विरुद्धमा बोल्नु हो भनेर जुन अर्थ लगाइँदै आइएको छ, त्यो गरिब जनताप्रतिको बेइमानी हो ।

गुठीभित्रका भ्रष्टहरुको समर्थन प्राप्त गर्नका लागि यिनीहरुले जनताको पक्ष लिन सकेनन् । नेकपा सांसदहरु कम्युनिष्ट होइनन्, यिनीहरु दास मानसिकता बोकेका व्यक्तिहरु हुन् भन्ने कुरा पुष्टि भएको छ । यिनीहरुले गुठीको माध्यमबाट भइरहेका शोषणहरुलाई निरन्तरता दिन चाहन्छन् । यिनीहरु सामन्तवादलाई चरम पक्षपोषण गर्न चाहन्छन् । तर, प्रेम सुवालले गुठीले गरिरहेको शोषण, त्यहाँ भइरहेका भ्रष्टाचार र लुटको विरोधमा बोल्ने हिम्मत गरे ।

उनले सदैव किसान, गरिब, मजदुरको बारेमा बोलेकै हुन्छन् । हरेक विधेयकहरुमा गरिब, किसानका मुद्दाहरु समेटिनुपर्ने बताउँदै आएका छन् ।

त्यसैगरी स्वर्गद्वारी गुठीको आवरणमा दाङका गरिब थारुहरुमाथि भइरहेको लुट र शोषणलाई सांसद शान्ता चौधरीले उजागर गरिन् । हजारौं थारुहरु घरबार र जग्गाजमीन विहीन भएको कुरा उठाइन् ।

सांसद चौधरीले प्रश्न गरिन् कि गरिब मान्छेलाई रुवाएर हाँस्ने भगवान कहाँ हुन्छन्, सभामुख महोदय ? मन्दिरका लागि बोल्ने, मूर्तिका लागि बोल्ने, तर गरिबका लागि बोल्न नपाउने ? यति दमदार भाषण गर्न सक्ने तागत शान्ता चौधरीलाई कुन कुराले दियो ? निश्चय पनि थारुहरुको गरिबीको पीडाले, भोकमरीले, सदियौंदेखि दास भइरहेका थारुहरुमाथिको शोषणले नै उनमा दमदार विचार अभिव्यक्तिको प्रष्फुटन भयो ।

गुठीका नाममा भइरहेका शोषणहरुको खुलेर विरोध गर्न सकिन् । त्यसैले शान्ता चौधरी संसदमा जिउँदो छिन् भन्ने कुरा प्रष्ट हुन्छ ।

शान्ता चौधरी तिनै नेता हुन्, जसले थरुहट आन्दोलनको कडा विरोध गरिन् । उनले थारु राज्य चाहिंदैन भन्दै भाषण गरिन् । उनले देश भन्दा ठूलो केही छैन भन्दै थारुहरुको बीचमा पुगिन् । कथित थरुहट आन्दोलनलाई भुत्ते बनाउनको लागि उनले जुन भूमिका खेलिन्, त्यसले उनलाई राष्ट्रको नेताको रुपमा उपस्थित गरायो ।

शोषक, सामन्त, ठूला, ठालु, दलाल र पुँजीपतिहरुका लागि बोल्ने मान्छेको संसदमा केही कमी छैन । एक से एक छन् । निजी मेडिकल कलेज र विश्वविद्यालय, क्याम्पस र विद्यालयका मालिकहरुका पक्षमा बोल्ने दर्जनौं सांसद छन् । मेडिकल माफियाका पक्षमा बोल्ने सांसद पनि दजनौंको संख्यामा छन् । तर, गरिब विद्यार्थीको पक्षमा, गरिब विरामीको पक्षमा बोल्ने सांसदहरु संसदमा कति छन् ? तिनीहरु कति देखिए ? यो नेपालको संसदको अत्यन्तै लाजमर्दाे पक्ष हो ।

चित्रबहादुर र नारायणमानको सम्झना

जसरी नारायणमान बिजुक्छेको उचाइ प्रेम सुवालले लिन सकेका छैनन्, त्यसरी नै चित्रबहादुर केसीको उचाइ दुर्गा पौडेलले लिन सकेकी छैनिन् । दुर्गा पौडेल राष्ट्रिय जनमोर्चाको तर्फबाट प्रतिनिधिसभामा एक्लै उपस्थित छिन् ।

पौडेलले विदेशमा भएका नेपालीहरुको मत हाल्ने अधिकारका पक्षमा, शिक्षा र स्वास्थ्यमा भइरहेका लुटको विरुद्धमा प्राकृतिक सम्पदाहरुमाथि भइरहेका दोहन र लुटका विरुद्धमा लगातार आवाज उठाइरहेकी छिन् । उखु किसानको पक्षमा, विदेशमा अलपत्र परिरहेका नेपालीहरुको पक्षमा आवाज उठाएकी छिन् । तर, दुर्गा पौडेल संसदमा एक्ली पात्र जस्तै देखिन्छिन् ।

चित्रबहादुर केसी र नारायणमान विजुक्छे संसदमा छैनन् ।  नारायणमान बिजुक्छे र चित्रबहादुर केसी संसदमा हुँदा संसदको जुन वजन थियो, त्यो धेरै हदसम्म हराएर गएको छ ।

नारायणमान र चित्रबहादुर देशको पक्षमा बोल्थे । राष्ट्रघातको विरुद्ध बोल्थे । विदेशी हस्तक्षेका विरुद्ध बोल्थे । सधैंभरि जनताको पक्षमा बोल्थे । शासक, भ्रष्टाचारी, माफिया, दलालहरुको विरुद्धमा बोल्थे ।

जब चित्रबहादुर केसी र नारायणमान विजुक्छे संसदको रोष्टममा बोल्न पुग्थे, सबै नेपाली जनताले चाख मानेर सुन्थे । उनीहरु जनताको आवाजलाईर् संसदमा जस्ताको तस्तै राख्ने क्षमता राख्ने । तर, अहिले दुवैजना प्रतिनिधिसभामा छैनन् । अहिले शान्ता चौधरी र प्रेम सुवाल जनताको पक्षमा बोल्ने सभासदको रुपमा देखिएका छन् ।

यद्यपि निर्णय प्रक्रियामा शान्ता चौधरी नेपाल कम्युनिष्ट पार्टीको घेरा भन्दा बाहिर जान सक्दिनन् । त्यो संसदीय बाध्यता उनलाई छ । तैपनि बोलिरहून् । शुभकामना ।

(पोखरेल राष्ट्रिय जनमोर्चानिकट अखिल छैठौंका नेता हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment