Comments Add Comment

नेकपा बैठक : राजनीतिक प्रतिवेदन पुनर्लेखन गर्ने ओलीको प्रस्ताव

७ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा राजनीतिक प्रतिवेदनलाई लिएर विवाद बढ्ने संकेत देखिएको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पुनर्लेखनको प्रस्ताव गरेका छन् । तर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका नेताहरुले विरोध गरेका छन् ।

पार्टी एकताका क्रममै राजनीतिक प्रतिवेदन तयार पारेको थियो, जसलाई सम्पादन गरेर प्रकाशित गर्ने जिम्मावारी अध्यक्षलाई दिइएको थियो । तर लामो समयसम्म प्रकाशित भएन ।

पछिल्लो समय एक ठाउँमा उभिएका प्रचण्ड र माधवकुमार नेपाल पक्षले राजनीतिक प्रतिवेदन सार्वजनिक गर्न दबाव दिएको छ । शनिबारको बैठकमा अध्यक्ष ओलीले पुनर्लेखनको प्रस्ताव राखेको एक नेताले जानकारी दिए । उनले भने, अरु नेताहरुले भाषिक सम्पादन गरेर प्रकाशित गर्नुपर्छ भनेका छन् ।’

ओलीले प्रतिवेदनको कुनकुन खण्ड पुनर्लेखन गर्न चाहेको मुख खोलेका छैनन् । तर पार्टीमा देखिएको नयाँ ध्रुविकरणलाई हेरेर फेरि जनताको बहुदलीय जनवाद (जबज) को बहस चलाउन खोजेको हुनसक्ने नेताहरुको विश्लेषण छ ।

पछिल्लो समय उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक रुपमा जबजबाट पछि हट्न नसक्ने र यसलाई बहसमा लैजाने बताएका छन् ।

प्रचण्ड–माधव नेपाल पक्षले भने जबज र २१ औं सताब्दीको जनवाद लगायतका सैद्धान्तिक विषयलाई महाधिवेशनबाट टुंगो लगाउने पूर्व सहमति भएकाले अहिले विवाद गर्न नहुने बताएका छन् ।

बैठकपछि महासचिव विष्णु पौडलले भने राजनीतिक प्रतिवेदनमा अन्तिम सम्पादनको क्रम चलिरहेको बताए । उनले भने, ‘अध्यक्षद्धयले सम्पादनको प्रक्रिया कसरी अगाडि बढेको छ, कस्ताकस्ता विषयमा छलफल गरेर कुन ढंगले सम्पादन गरेका छौं भनेर जानकारी दिनुभयो । र, यो प्रतिवेदन सिध्र सम्पादन गर्ने र प्रकाशनमा लैजाने बैठकको निर्णय छ ।’

बैठकमा जिल्ला इञ्चाज तथा सहइञ्चाज तोक्ने लगायतका विषयमा भने खासै छलफल भएन । प्रधानमन्त्री ओली इदुल फित्रको कार्यक्रममा जानु पर्ने भएकाले छलफल हुन नपाएको नेता बामदेव गौतमले बताए । उनले भने, ‘आज जानकारी लिने र दिने काम मात्र भयो । कुनै निर्णय भएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment