+

यू-१६ क्रिकेटको उपाधिका लागि पुलिस स्कुल र डीएभी खेल्ने

२०८३ जेठ  २५ गते १७:४४ २०८३ जेठ २५ गते १७:४४
यू-१६ क्रिकेटको उपाधिका लागि पुलिस स्कुल र डीएभी खेल्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • यू–१६ इन्टरस्कुल क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस स्कुल र डीएभी स्कुलबीच मंगलबार फाइनल भिडन्त हुने भएको छ ।
  • सोमबार भएको सेमिफाइनल खेलहरूमा डीएभी स्कुलले जेम्सलाई ४४ रनले र पुलिस स्कुलले सैनिक आवासीय महाविद्यालयलाई ८ रनले पराजित गरे ।
  • काठमाडौं जिल्ला क्रिकेट संघद्वारा आयोजित यस प्रतियोगिताको विजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

२५ जेठ, काठमाडौं । तेस्रो संस्करणको एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति’ यू–१६ इन्टरस्कुल क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस स्कुल र सुशील केडिया विश्व भारती स्कुल (डीएभी) खेल्ने भएका छन् ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा सोमबार सम्पन्न पहिलाे सेमिफाइनलमा डीएभी स्कुलले जेम्स स्कुललाई ४४ रनले पराजित गर्दै फाइनल यात्रा तय गरेको हाे ।

टस जितेर पहिले ब्याटिङ गरेको डीएभीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३० रन बनाएको थियो । डीएभीका लागि प्रसिद्ध जैशीले २८ बलमा ९ चौकासहित ४९ रनको उत्कृष्ट इनिङ्स खेले । विराज जैसवालले ३७, सत्याम बस्नेतले १६ तथा मयंक शाहले १० रन जोडे ।

जेम्सका स्वराज चौलागाईंले ३ विकेट लिए भने प्रगव पाण्डे, प्रचेत लखोटिया र अन्जन झाले समान १–१ विकेट लिए ।

१३१ रनको लक्ष्य पछ्याएको जेम्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ८६ रन मात्र बनाउन सक्यो । स्वराज चौलागाईंले २७ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । सुदिश पौडेलले १६ तथा प्रचेत लखोटियाले १५ रनको योगदान दिए ।

डीएभीका लागि कुञ्जन आचार्यले २ विकेट लिए भने प्रसिद्ध जैशी, कमल शाही र केशव अग्रवालले समान १–१ विकेट लिए । डीएभीका प्रसिद्ध जैशी ‘पिक पोइन्ट प्लेयर अफ द म्याच’ घोषित भए ।

दोस्रो सेमिफाइनलमा पुलिस स्कुलले सैनिक आवासीय महाविद्यालयलाई ८ रनले पराजित गर्दै डीएभीसँगकाे भेट पक्का गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको पुलिस स्कुलले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४६ रन बनायो । पुलिसका लागि प्रियंशुकिशोर राउतले ३६ रनको योगदान दिए । यस्तै मोहम्मद अब्बास साफीले ३२, राकेशकुमार साहले अविजित २१ तथा सुनिल ठाकुरले २० रन बनाए ।

सैनिकका सफल पौडेलले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । आभाष केसी र रोशन तिवारीले समान २–२ विकेट हात पारे ।

१४७ रनको लक्ष्य पछ्याएको सैनिकले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १३८ रन मात्र बनाउन सक्यो । उसका लागि राजदिप आचार्यले सर्वाधिक ६४ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । ऋषव साहले १९ तथा रोशन तिवारीले ११ रन जोडे ।

पुलिसका प्रियंशुकिशोर राउत, सुनिल ठाकुर, आर्यन साह, सुजित यादव र सागर सिंहले समान १–१ विकेट लिए । खेलमा पुलिसका प्रियंशु ‘पिक पोइन्ट प्लेयर अफ द म्याच’ घोषित भए ।

अब प्रतियोगिताको उपाधिका लागि पुलिस स्कुल र डीएभीबीच मंगलबार फाइनल प्रतिस्पर्धा हुनेछ । माथिल्लाे मुलपानी क्रिकेट मैदानमा हुने खेल बिहान १० बजेबाट सुरु हुनेछ ।

काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा जेठ १९ गतेदेखि सुरु भएको प्रतियोगितामा २४ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १ लाख ५० हजार रुपैयाँ तथा उपविजेताले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

जयकुमारनाथ शाह मेमोरियल यू–१६ क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय