+

विश्वकपअघि लस एन्जलस स्टेडियममा हड्तालको चेतावनी, अमेरिकाको पहिलो खेल प्रभावित हुनसक्ने

२०८३ जेठ  २५ गते १७:३७ २०८३ जेठ २५ गते १७:३७
विश्वकपअघि लस एन्जलस स्टेडियममा हड्तालको चेतावनी, अमेरिकाको पहिलो खेल प्रभावित हुनसक्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ शुरू हुनअघि आयोजक राष्ट्र अमेरिकाको लस एन्जलस स्टेडियमका करिब २ हजार आतिथ्य क्षेत्रका कामदारहरूले हड्तालको पक्षमा मतदान गरेका छन् ।
  • कामदारहरूले तलब वृद्धि र ठेक्का प्रणाली अन्त्यको माग गरेका छन् भने हड्ताल भएमा जुन १२ मा हुने अमेरिका र पाराग्वेबीचको खेल प्रभावित हुनसक्छ ।
  • हड्तालको पक्षमा ९६ प्रतिशत कामदारहरूले मतदान गरेका छन् भने यसले विश्वकपकै सुरुआती चरणको सञ्चालन व्यवस्थापनमा असर पर्ने चिन्ता बढाएको छ ।

२५ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ सुरु हुन केही दिनअघि आयोजक राष्ट्र अमेरिकाका लागि चिन्ताजनक खबर आएको छ । लस एन्जलसस्थित विश्वकपका खेल हुने स्टेडियमका करिब २ हजार आतिथ्य (हस्पिटालिटी) क्षेत्रका कामदारले हड्तालमा जाने पक्षमा मतदान गरेका छन् ।

५.५ अर्ब डलर लागतमा बनेको सोफी स्टेडियममा विश्वकपका आठ खेल आयोजना हुनेछन् । फिफाको नियमअनुसार प्रतियोगिताका क्रममा यसलाई ‘लस एन्जलस स्टेडियम’ नामले चिनिनेछ ।

वाल स्ट्रिट जर्नलका अनुसार भाँडा माझ्ने कर्मचारीदेखि बारटेन्डर, सर्भर र कुकसम्मका कामदारले हड्तालको पक्षमा मतदान गरेका हुन् । ९६ प्रतिशत सदस्यले हड्ताललाई समर्थन गरेका छन् ।

हड्ताल भएमा जुन १२ मा सह-आयोजक अमेरिका र पाराग्वेबीच हुने विश्वकपको खेल प्रभावित हुनसक्ने बताइएको छ । कामदारहरू जुनसुकै समयमा काम छाड्न सक्ने युनियनको चेतावनी छ ।

कामदारहरूले तलब वृद्धि, ठेक्का प्रणालीबाट हुने असुरक्षाको अन्त्य तथा सम्भावित आप्रवासन कारबाहीबाट सुरक्षा माग गरेका छन् । हालै अमेरिकी गृह सुरक्षा विभागका अधिकारीहरू विश्वकप खेलका क्रममा सुरक्षा व्यवस्थाका लागि उपस्थित रहने जानकारी सार्वजनिक भएपछि कामदारहरूको चिन्ता बढेको बताइएको छ ।

युनियनका सह-अध्यक्ष कर्ट पीटरसनले विश्वकपबाट अर्बौं डलरको आम्दानी हुने भए पनि कामदारहरू अझै आधारभूत अधिकारका लागि संघर्ष गर्नुपरेको बताएका छन् ।

स्टेडियमको खानपान तथा सेवा व्यवस्थापन गर्ने कम्पनी लेजेन्ड्स ग्लोबलले भने वार्तामार्फत समस्या समाधान हुने विश्वास व्यक्त गरेको छ ।

विश्वकप जुन ११ मा मेक्सिको सिटीमा हुने मेक्सिको र दक्षिण अफ्रिकाबीचको उद्घाटन खेलबाट सुरु हुनेछ । हड्ताल भएमा विश्वकपकै सुरुआती चरणको सञ्चालन व्यवस्थापनमा असर पर्ने चिन्ता बढेको छ ।

फिफा विश्वकप फिफा विश्वकप २०२६ लस एन्जलस स्टेडियम
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय