Comments Add Comment

भारतबाट आउने तरकारी र फलफूल कुहिएपछि बजारमा !

विषादी परीक्षण प्रयोगशाला नहुँदा ब्यवसायी मारमा

१२ असार, बुटवल । काठमाडौंको कालिमाटीमा पुगेर विषादी परीक्षण गर्नुपर्दा हुने ढिलाइले भारतबाट आयात हुने तरकारी र फलफूल कुहिएपछि मात्रै नेपालका थोक बजारसम्म पुग्ने गरेको छ ।

सरकारले जीवनाशक विषादीको अवशेष परीक्षण गरेर मात्र आयात गर्न पाइने कानून अघिल्लो हप्ताबाट लागू गरेको छ । तर, सबै भन्सार नाकाहरुमा प्रयोगशाला नहुँदा देशभरका नाकाबाट आयात हुने तरकारी र फलफूलको विषादी परीक्षण कालिमाटी पुर्‍याएर गर्नुपर्ने बाध्यता छ ।

तरकारी र फलफूलका नमूना त्यहाँ पुर्‍याएर रिपोर्ट आउन कम्तिमा दुई दिन लाग्ने गरेको व्यवसायीहरु बताउँछन् ।

दुई दिनसम्म नाकामा रोकिएर नेपालका थोक बजारसम्म आइपुग्दा तरकारी र फलफल कुहिएर/बिग्रेर आउन थालेको लुम्बिनी तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष केशव कुँवरले बताए ।

सरकारी प्रयोगशालाले विषादीरहित छ भनेर प्रमाणित गरेका तरकारी र फलफूल नेपाली बजारमा आइपुग्दा कुहिएर आइपुग्नुले प्रयोगशालाको विश्वसनीयतामाथि नै प्रश्न उठेको पनि कुँवरले बताए ।

‘बुटवलको थोक बजारमा आउने तरकारी र फलफूल मात्रै लाखौं मूल्य बराबरको कुहिएर आइपुगेको छ,अन्य ठाउको हिसाब गर्दा करोडौंको तरकारी र फलफूल कुहिएर आएको छ,’ कुँवरले भने, ‘व्यवसायीलाई हुने नोक्सान एकातिर छ,त्यो भन्दा महत्वपूर्ण यसरी कुहिएका वस्तुलाई ठीक छ भनेर प्रमाणित कसरी गरियो ? यसको जिम्मेवारी सरकारले लिने कि नलिने ?’

अध्यक्ष कुंवरका अनुसार अहिले मुलुकका सबै नाकाबाट आउने तरकारी र फलफूलको विषादी अवशेष परीक्षण काठमाडौंमै लगेर गर्नुपर्छ ।

एउटा मात्रै प्रयोगशालाले समयमै परीक्षण गर्न नभ्याएर ढिलाइ हुँदा व्यवसायीले यो बीचमा करोडौं नोक्सानी बेहोर्नुपरेको कुँवरले बताए ।

सामान्यतया अधिकांश तरकारी र फलफूलको विषादी अवशेष परीक्षण ६ देखि १२ घण्टाको बीचमा गरिसक्नुपर्छ । तर, कालिमाटी पुर्‍याएर गर्दा कम्तीमा दुई दिन लागेको व्यवसायीहरु बताउँछन् ।

धनगढी, महेन्द्रनगरका लागि त झन् बढी समय लाग्ने व्यवसायी बताउँछन् । समयमै विषादीको अवशेष परीक्षण हुन नपाउँदा प्रयोगशालाले सही रिपोर्ट दिन नसकेका कारण कुहिइएको तरकारी र फलफूल भित्रिन थालेको व्यवसायीको भनाइ छ ।

बुटवल कृषि उपज थोक बजार केन्द्रका तरकारी व्यवसायी मेघराज पौडेलले सरकारले हचुवाको भरमा यस्तो नियम लागू गर्दा ब्यवासायी र उपभोक्ता दुबै मारमा परेको बताउँछन् ।

विषादी परीक्षणमा भइरहेको ढिलाइले बजारमा बिगि्रएको तरकारी र फलफूल भित्रिन थालेको र अभाव सिर्जना भइ मूल्य आकाशिएको उनले बताए । ‘आलु,प्याज,गोलभेंडा सबै बिग्रेर आउन थालेको छ, माग अनुसार आपूर्ति नहुँदा मूल्य पनि झण्डै दोब्बरले बढेको छ,’ पौडेलले भने ।

व्यवसायीहरुले सबै नाकामा विषादी अवशेष परीक्षण प्रयोगशाला तत्काल स्थापना नगर्ने हो भने व्यवसायीको अर्बौं रुपैयाँ नोक्सान हुने र मूल्यसमेत थप आकाशिने दावी गर्छन् । ‘सरकारले सिंहदरबार र बालुवाटारमा फलाएर बाँड्ने त पक्कै हैन होला,’ कुँवरले भने, ‘हामी विषादी परीक्षणको पक्षमै छौं तर अन्यथा पहिले नेपाल तरकारी र फलफूलमा आत्मनिर्भर हुनुपर्‍यो ।’

नयाँ व्यवस्थामा तरकारी तथा फलफूल आयातकर्ताले विषादीरहित छ भन्ने व्यहोराको प्रमाण लिएपछि मात्रै भन्सारले सम्बन्धित ठाउँमा लैजाने अनुमति दिन्छ ।

बुटवलमा भएको विषादी अवशेष द्रूत परीक्षण इकाइ (प्रयोगशाला) ८ महिनादेखि बन्द छ । भैरहवा भन्सार, क्वारेन्टाइन चेकपोष्ट र क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयसँग विषादी जाँच गर्ने पेस्टीसाइड एनलाइसिस प्रोमोटोग्राफी मेसिन छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment