 
																			१२ असार, काठमाडौं । बिहीबार सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजामा १७ हजार ५८० विद्यार्थीले ‘ए प्लस’ ग्रेड ल्याएका छन् ।
परीक्षा नियन्त्रण कार्यालयकाअनुसार उनीहरू मध्ये निजी विद्यालयमा अध्ययन गरेका १४ हजार ७८८ छन् भने सामुदायिकका जम्मा २ हजार ७९२ जना छन् । जबकी सहभागी संख्या निजीको तुलनामा समुदायिकमा झण्डै तीन गुणा बढी छ ।
२०७५ सालको एसईई परीक्षामा सामुदायिकबाट ३ लाख २५ हजार ३३० र निजीबाट १ लाख ३३ हजार ९४५ विद्यार्थी सहभागी थिए । सामुदायिक विद्यालयबाट कुल सहभागी मध्ये ०.८६ प्रतिशतले मात्रै एक प्लस ग्रेड ल्याएका छन् । निजी विद्यालयका भने ११.०४ प्रतिशत विद्यार्थीले ‘ए प्लस’ ग्रेड पाएका छन् ।
त्यस्तै ‘ए’ ग्रेड ल्याउने पनि सामुदायिकको तुलनामा निजीको तीन गुणा भन्दा बढी छन् । निजीका ३९ हजार ९१४ र सामुदायिकका जम्ममा ११ हजार २२३ जनाले ‘ए’ ल्याए । अर्थात निजीका २९.८ र सामुदायिकका ३.४५ प्रतिशतले मात्रै ‘ए’ ग्रेड ल्याए ।
गत वर्षको तुलनामा जीपीएको मापदण्ड घटाउँदा पनि सामुदायिकको नतिजामा सुधार आउन नसकेको हो । यसवर्ष ३ः६० देखि ४ः०० जिपिए ल्याएकालाई ‘ए प्लस’ ग्रेड दिइएको छ । अघिल्लो वर्ष भने ‘ए प्लस’ ल्याउनका लागि न्यूनतम जीपीए ३ः६५ तोकिएको थियो । त्यस्तै ‘ए’ देखि ‘डी’ ग्रेड ल्याउन आवश्यक जीपीए गतवर्ष भन्दा ०.५ प्रतिशत घटाइएको छ ।

सामुदायिक विद्यालयको नतिजा निरन्तर ओरालो लाग्दा पनि सुधारको प्रयास नगर्दा यस्तो परिणाम आएको शिक्षाविदहरू बताउँछन् । ७० प्रतिशत विद्यार्थी पढ्ने सामुदायिकको शिक्षामा ३० प्रतिशत मात्रै योगदान देखिएको उनीहरूको भनाइ छ ।
शिक्षाविद् डा. विद्यानाथ कोइराला एसईईको नतिजामा प्रष्ट वर्गीय विभाजन देखिएको बताउँछन् । भन्छन्, ‘एसईईको परिणाम हेर्दा गरिब हुनु नजान्ने हुनु हो भने जस्तो देखियो ।’
निजी कम्पनीले धमाधम नाफा कमाई रहँदा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम घाटामा गए जस्तै सामुदायिकको स्तरउन्नतीमा कसैको ध्यान नजाँदा यस्तो परिणाम आएको कोइरालाको भनाइ छ । ‘एकातिर सरकारले खुलेरै निजीको वकालत गरिरहेको छ भने कुनै पनि दलले सामुदायिक सुधार्नुपर्छ भनेका छैनन्’ उनी भन्छन्, ‘धेरै विद्यार्थीले पढ्ने विद्यालयको विषयमा नसोच्नु भनेको समग्र शिक्षाको गुणस्तरमा ह्रास आउनु हो ।’
परीक्षा नियन्त्रण कार्यालयकाअनुसार ग्रेडिङ प्रणाली लागू भएपछि सरकारी र निजी छुट्याएर हेरिएको थिएन । यो पटक ग्रेडसँगै सरकारी र निजीमा छुट्याएर हेर्दा सामुदायिक स्कुलको नजिता कमजोर हुँदै गएको थप प्रष्ट भएको छ ।
सामुदायिक विद्यालयतर्फ बहुसंख्यक विद्यार्थीले सी र सी प्लस ग्रेड ल्याएका छन् । सबैभन्दा धेरै ९० हजार ४५५ विद्यार्थीले सी ग्रेड ल्याएका छन् भने ८७ हजार ४४२ ले सी प्लस ग्रेड ल्याएका छन् । निजीतर्फ भने सबैभन्दा बढी ३९ हजार ९१४ ए र ३७ हजार ३२५ विद्यार्थीले बी प्लस ग्रेड ल्याएका छन् ।
यो पनि पढ्नुस्
५० जनाको एसईई रद्द, तीनखाले गडबडीले विद्यार्थीलाई तनाव
एसईईमा ‘बी प्लस’ आएपछि करिश्माले भनिन्–‘म खुशी छु, अब म्यानेजमेन्ट पढ्छु’
एसईईमा शान्ता चौधरीले ल्याइन् बी ग्रेड
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4