Comments Add Comment

निबन्ध : दृश्य (अ) दृश्य

दृश्य

आमा आउनुभएपछि सुरु हुन्छ चहल–पहल उसको भाडाघरमा । दुबै छाक बज्न थाल्छ, कुकरको सिट्ठी । सुरु हुन्छ आमाको गफ । कहिल्यै नटुंगिने गरी आइरहन्छन् गाउँघर, आफन्त र छरछिमेकका कुरा ।

उसले बिश्राम दिनुपर्छ पढिसक्नैपर्ने केही पुस्तक र भाका मिलाउनुपर्छ आमाको गफसँग । ढुक्कै हक जमाउनुहुन्छ टेलिभिजन, भान्छा, सुत्ने कोठा जतात्यतै । उसले पटक्कै हेर्न पाउँदिन टेलिभिजनमा समाचार, टक सो वा चाहेको कुनै कार्यक्रम । किनकि आमालाई मनपर्छ नेपाली कमेडी र केही भारतीय सिरियलहरु ।

ऊ बाध्य भइजान्छे चल्दै गरेको सिरियलतिरै आँखा तेर्साउन । दिक्क हुन्छे महिला पात्रहरुको अनावश्यक द्वन्द र षडयन्त्रमा अल्झिरहेको लम्बेतान कथा देख्दा । मेकअप, गरगहना र फेसनदार कपडामा सजिएका ती पात्रहरु उसलाई बेस्सरी निरीह लाग्छन् । वस्तुकरण गरिएका महिला शरीर टेलिभिजन पर्दामा छ्यालब्याल छरिँदा उसलाई भाउन्न हुन्छ । पुँजीवादको अनेकन संस्करणले टाउको दुखाउँदा मुर्मुरिन्छे भित्रभित्रै । फेरि सोच्छे, के बिनाबित्थामा टाउको दुखाई बस्नु आ… । अनि चुपचाप बस्छे ।

आमाको आफ्नैखाले अनुशासन सुरु हुन्छ कोठामा । ऊ आफ्नै कोठाबाट बाहेक भएको महसुस गर्छे । उहाँकै खटनमा खानुपर्छ पेटभरि साँझको खाना । खानुपर्छ अलि बढी पिरो, मसालेदार तरकारी, दूध हालेको चिया र आलुका परिकारहरु । सधैँ आफ्नो पारामा चिटिक्क रहने उसको कोठाको चालले आमाको लय समाउन थाल्छ । काइँयोमा झुण्डिन सुरु हुन्छन् केसका केही त्यान्द्राहरु । दिक्क मान्दै बारम्बार फालिरहन्छे काँइयोबाट कपाल । उसले राखेको सामानको ठाउँ सारी सुरु हुन्छ । र, बज्न थाल्छ साँझ ढल्न नपाउँदै लगातार उसको फोन । यति भइसक्दा ऊ निकै डिस्टर्ब महसुस गर्छे । खासमा ऊ बानी परिसकेकी छे, कसैको खटन–पटन बेगरको फुक्काफाल जीवन बाँच्न ।

धेरै भैसक्यो, उसले एक्लै बस्न थालेको यस सहरमा । गाउँबाट केही दिनका लागि आमा आउनुहुँदा ऊ आमाको शासनमा पर्छे र दिक्क मान्छे । घर पुग्नेवित्तिकै कडै स्वरमा बोलीपठाउँछे, कतिसारो पछि लाग्नुभाको के यो बुढी भइसकेको छोरीको ?

रात परिसक्यो आउँदैनस् त । ( आमाको स्पष्टीकरण )

सात बजे पनि केको राति ? ( सजिलै फुस्काउछे जवाफ र गम्न थाल्छे)

(सहरमा पनि रात पर्छ र ? खासमा रातको उक्लाइसँगै झन् बढी उज्यालिँदै गुल्जार हुन्छ सहरको समय । )

सहर

दिनहरु निकै बिराना छन् । धुम्म, सिमसिम पानी र चिसो । बेफाकमा बैशाखमा पानी परिबस्छ । पर्यावरणीय परिवर्तनको असर सायद । काठमाण्डौका कहिले बनिनसक्ने बाटाहरु, धुलो र कोलाहलको चपेटा । मन बिलकुल ठीक छैन । अरुका पनि ठीक छैनन् होला । तर, धेरै कुरा ठीक नहुँदा नहुँदै पनि वाचाल छ सहर । रोकिदैन पटक्कै । यहाँ सबै महत्वाकांक्षी यात्रामा छन् ।

यही सहरमा आजकल म साझा बस चढ्न थालेकी छु । केही दिन अघिको स्कुटर चिप्लाई, अलिअलि घाउचोट अनि आँट फुस्केको मन । साझा बस जिन्दाबाद । बसमा कति धेरै कथाहरु ओहोरदोहोर गरी बस्छन् । म हेरिबस्छु । कसै कसैलाई सुन्छु पनि । अघिल्लो सिटमा बसेकी महिलाले आफुछेउकी महिलालाई आफ्नो कथा कहेको प्रष्ट सुनिन्छ ।

सुरुमा त उनीहरु आफन्त हुन् भन्ने लागेको थियो, तर कुरा सुन्दै जादा हैन भन्ने बुझेँ । अपरिचितहरुले कथा–व्यथा सुनिदिन्छन् । तर, आफन्तहरु भने बिराना लाग्छन् सहरमा ।

ती महिलाले दाहिने हातको कुइनामा डम्म ब्यान्डेजले कसेकी छन् । एकाएक त्यस हातले भर दिन छाडेको कुरा आँसु थोपा झार्दै कहदै छिन् । अनेक गर्दा पनि केही उपाया नलागेको सुनाउँछिन् । निराशा छपक्कै पोतिएको छ उसको बोलीमा । भर्खर भेटेको अपरिचित सामु पनि सहजै झर्छ ती अधबैंसेको आँसु । पीडाको अभिव्यक्ति । मन त हो, पोखिन्छ । को रै’नछ र पीरमा । हेर्दा, बुझ्दा कति हो कति कथा व्यथा । म आफैंभित्र पनि त छ पीडाको सिंगै पहाड ।

अस्ति एउटी साथी भन्दै थिई, ‘सबैसँग कथा हुन्छ ।’ मैले स्वीकारोक्तिमा टाउको हल्लाएकी थिएँ । त्यति भनिसकेपछि उसले पहिलोपटक खोलेकी थिई आफ्नो कथा । टुटेको एउटा आत्मीय सम्बन्धको कुरा । लगभग एक बर्षको सहयात्रामा बल्ल त उसले मन खोल्न सकी । कसैलाई कति गाह्रो लाग्छ कुरा खोल्न अनि कसैलाई फेरि कति सहज । जस्तो कि, आधाघण्टे बस यात्रामा ती महिलाले सबै कुरा भनिदिई । सायद त्यसपछि हलुंगो भई ऊ ।

बिमार हुनुअघि ३०÷४० केजीको भारी जुरुक्कै पार्ने हात र आजको त्यो भर नदिने लुलो हातबीचको दुरी केबल विडम्वनाले जोडेको छ । आफूतिर सोझिएको नियतिको सायद निकास खोज्छ मन । र, कहिलेकाहीँ अचिनारु अघिल्तिर पनि सहजै पोखी जान्छ व्यथा । मानव अस्तित्व कति बिडम्बनापूर्ण छ है । अनि हामी यसैबीच आफ्नो अस्तित्व दाबीको ढोल पिट्छाैं ।

आजकल मेरो मन बिथोलिई बस्छ । राति अनेक सपना देख्छु । तर, टुंग्यौनी नै बेगर छरपस्ट भैजान्छ, हामीले बाँच्दै गरेको विपनाजस्तै । दौडधुप, कामको लस्कर, पढ्न बाँकी किताबहरु, लामो लामो थकित यात्रा, अनि रित्तो मन र रित्तो कोठा । यति कुरा मन बिगार्न काफी छैनन् त ?

तीतो भएको मनलाई एकातिर थन्क्याउँछु र टिप्छु एउटा किताब । पढ्न नभ्याएर दराज कुनामा थन्क्याएको पनि निकै भइसकेछ । एकछिन सुम्सुम्याउँछु । मिल्कम्यान, आना बन्र्स् । सन् २०१८ को म्यान बुकर प्राइज पाएपछिको पुस्तकले पाएको बिश्वव्यापी चर्चा लोभलाग्दो छ । नर्दन आयरल्यान्डकी यस लेखकलाई खै कतिले पो चिनेका थिए यस अघि ? मैले त उसको नामै सुनेको थिइनँ । तर, कहिले काहीँ अन्तराष्ट्रिय पुरस्कारले गज्जब गर्ने रैछ । जस्तो कि, आज निकै टाढा चुपचाप साहित्य लेखन गरिरहेकी आना एकाएक सबैतिर पुगेकी छिन् । नेपालमा पनि आइपुगिन् ।

अनौठो र दिमाग रिंग्याउने खालको छ कथा । नामविहीन छन् पात्रहरु । अठार बर्षे बेनाम युवतीले कथा सुनाउँछे । उसका प्रेमीको र अन्य पात्रको पनि नाम छैन । उसले प्रेमीलाई मे वि ब्वाइफ्रेण्ड भन्छे । कति अचम्म । ‘मे बी’ ले अनिश्चितता देखाउँछ । के ऊ त्यस सम्बन्ध अघि बढ्नेमा ढुक्क छैन ? को पो छ र आजकल निश्चित ? आधुनिक जीवनशैलीको एक विसंगत पाटो । केही कुराको पनि ठेगान छैन । न मायाको न सम्बन्धको । तर, त्यस युवती आफ्नो मेबि ब्याइफ्रेण्डसँग अनिश्चित नै सही, स्वतन्त्र जीवन बाँच्न चाहन्छे । त्यसैले आफ्नो प्रेमीलाई रेड लाईट स्ट्रिटमा कोठा सार्न आग्रह गर्छे । त्यो ठाउँ सामाजिक मान्यता नमान्ने युवाहरु बस्ने बस्ती हो, जहाँ उनीहरु विवाह नगरी नै स्वतन्त्रतापूर्वक बस्न पाउँछन् । के मान्छेले रोज्ने एउटै कुरो स्वतन्त्रता नै हो ?

स्वतन्त्रता चाहने आजका मानिस अनिश्चितता बाँचिरहेका छन् । केवल अनिश्चितता । जीवनहरु अड्याउने, अडिने मियो हराएको छ आजकल । त्यसैले छिन्न–भिन्न भइरहन्छन् सम्बन्धहरु, मनहरु । केन्द्रमा देखिन्छ व्यक्ति र उसको स्वतन्त्रता । सायद म पनि त्यस्तै नै छु ।

भर्खरको एउटा खबरले निकै उदास बनाएको छ । मलाई बेस्सरी मन पर्ने ब्रिटिस गायक एडेलको पनि पारपाचुके भइसके छ । केही बर्ष अघि त हो उसको बिहे भएको । आजकल जताततै किन यति सारो टुटी बस्छ सम्बन्ध ?

एक झोक्का रित्तोपनले मन डम्म ढाकिदिन्छ ।

(अ) दृश्य

साँझ थकित शरीर बोकेर ऊ कोठा पस्छे । शान्त छ भान्छा । हतारमा गाँस टिपी छाडेका बिहानको जूठाभाडा कट्कटिई बसेका छन् जुठेल्नामा । उँघ्दै उसैलाई पर्खिरहेझैँ लाग्छ, कुकरमा बाँकी रहेको बिहानैको चिसो भात । चुपचाप छ टेलिभिजन । किताब, पत्रिका र अरु सामानहरु यथास्थानमा टोलाइरहेका छन् ।

यसो बाहिर हेर्दा देख्छे बिहान सुकाएका लुगाहरु साँझको स्याँठले चिस्सिएर झुण्डिरहेका छन् डोरीमा । कोठामा सबै कुरा उसले राख्ने गरेकै ठाउँहरुमा चिटिक्क छन् । काँइयोमा अल्झिएको छैन आज कपालको त्यान्द्रो । एकदमै चुपचापझैँ लाग्छन् सबै थोक । निर्जीव वस्तुहरु पनि चलाइराख्दा सजीव झैँ लाग्ने रहेछन् । तर, यतिखेर कोठामा सिर्फ सल्बलाइरहेछ मौनता ।

रात छिप्पिँदै छ । भोक र थकाई उक्लिँदो छ । उसले एकपटक आँखा डुलाउँछे भान्छातिर । अघिभन्दा पनि बढी कक्रक्क देखिन्छ बासीभात । तताएर खाने जाँगर चल्दैन । समाचारको सम्झना आउँछ । तर, टीभी खोल्न पनि मन लाग्दैन । खिन्न छ मन । रातको चकमन्नताले छोप्दै छ । भोक सोक छेऊ लाउँछे र घुप्लुक्क सुतिदिन्छे ।

सपनामा देख्छे आमा । र सुन्छे आमाको बोली– भात खान उठ् ।

आजै बिहान त हो, आमा गाउँतिर लाग्नु भा’को ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment