Comments Add Comment

दशैंसम्म सरकारको आलोचना समाप्त हुन्छ : प्रधानमन्त्री

'मेरो भनाइ पत्याइदिनोस् भन्दिनँ, व्यवहारमा हेर्नोस्'

१४ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दशैंसम्म सरकारको आलोचना समाप्त हुने दाबी गरेका छन् ।

सरकारले राम्रो काम गरे पनि कानून निर्माणमा व्यस्त भएका कारण जनतालाई भन्न नपाएको उनको दाबी छ । नयाँ आर्थिक वर्षसँगै नयाँ गतिमा अगाडि बढ्ने र दशैंसम्म सरकारमाथिको आलोचना समाप्त हुने उनले बताए ।

कामहरुमै व्यस्त रहँदा रहँदै ठिक्क भो, जनतालाई भन्नै पाएको छैन । साउन र भदौको दुई महिना हेर्नुहोस् । दशैंसम्ममा सरकारमाथिको आलोचना समाप्त भएर जान्छ

मदन भण्डारी जन्मजयन्तीको अवसरमा शनिबार कार्यक्रममा आयोजित कार्यक्रममा नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सरकारले धेरै राम्रो काम गरेको दाबी गरे । उनले अघि भने, ‘एक वर्ष अघि र अहिले काठमाडौंको सडक हेर्नुस् । म प्रधानमन्त्री हुँदा आधा जनसंख्या माक्स लगाएर हिँड्थे, अहिले मास्क नै लगाउनुपर्दैन ।’

प्रधानमन्त्री ओलीले आफ्ना कुरा पत्याइदिनोस् भनेर आग्रह नगर्ने बताउँदै व्यवहारमै हेर्न जनतालाई आग्रह गरे । उनले भने, ‘साथीहरुलाई भन्न चाहन्छु- ‘मेरो भनाइ पत्याइदिनोस् भनेर म भन्दिनँ । मेरो भनाइ व्यवहारमा हेर्नोस्, कानून कति बने । केके काम भए । केके फरक पर्‍यो । ती कुराहरु व्यवहारमा हेर्नोस् । मेरो त्यही आग्रह हो ।’

सरकारको बचाऊमा प्रधानमन्त्रीले गरेको तर्क उनकै शब्दमा

सरकारले राम्रो काम गरेको छ ।  म दृढताका साथ फेरि दोहोर्‍याएर भन्न चाहन्छु- सरकारले राम्रो काम गरेको छ । सरकार आफ्ना महान उद्देश्यहरुमा दृढ छ । लोकतन्त्रको रक्षा गर्ने कुरामा, लोकतन्त्रलाई सुदृढ गर्ने कुरामा, लोकतन्त्रको वास्तविक अर्थमा कार्यान्वयन गर्ने कुरामा र लोकतन्त्रका व्यापक उद्देश्यहरु साकार पार्ने कुरामा । देशमा सुशासन र विकास हासिल गर्ने कुरामा । र, समृद्ध नेपाल सुखी नेपालीको हाम्रो राष्ट्रिय आकांक्षा पूरा गर्ने कुरामा सरकार स्पष्ट पनि छ, दृढ पनि छ ।

र, यस ठाउँमा हामी यत्तिकै पुगेका होइनौं । बडो कठिन संघर्ष, बलिदानीपूर्ण संघर्ष, होसियारीपूर्ण संघर्षका साथ पुगेका छौं र यो बलिदान हामीले देखेका छौं बुझेका छौं र जनताले हामीलाई जुन विश्वास दिएका छन्, त्यस विश्वासलाई डग्मगाउन खस्किन नदिने त्यो प्रतिवद्धता, त्यो कर्तव्य पनि हामीले बुझ्या छौं । त्यसकारण म तपाईहरुलाई भन्न चाहन्छु, मैले भनेको छु, म भ्रष्टाचार गर्दिनँ र अरुलाई पनि गर्न दिन्न । सुशासन कायम गरेर छोडिन्छ । विकासका कामहरु अगाडि बढाएर छोडिन्छ ।यहाँसम्म अरु कसैले ल्याइदिएको अवस्था हामी काम गरिरहेका छैनौं ।

म प्रधानमन्त्री भएका बेला भनेको थिएँ, अब काठमाडौंमा नाक समातेर हिँड्नुपर्दैन । मास्क लगाउनुपर्दैन भनेको थिएँ ।

म स्मरण गर्छु, मैले जतिबेला झापा आन्दोलनको सुरुवात गरेको थिएँ, एउटा नयाँ अभियानको सुरुवात गरेको थिएँ, चारजना मान्छे थिएनन् । चारजना मान्छे नभएको ठाउँबाट आज  हामीसँग ७५३ स्थानीय तहहरुमध्ये अधिकांश हामीले विजय गरेको अवस्थामा छौं । स्थानीय तहका ३६ हजार स्थानीय प्रतिनिधिहरुमध्ये  २० हजार भन्दा बढी हामीले जितेका छौं । ७ वटा प्रदेशमध्ये ६ वटा जितेका छौं, सरकार नबनाएको ठाउँमा पनि प्रमुख पार्टी हामी हौं, सबभन्दा बढी सीट हामीसँग छ ।  बढी भोट पनि हामीसँग छ त्यस प्रदेशमा पनि ।

सबै कुराहरु एकैनासले सधैं अगाडि बढ्दैनन् । हामी यो गएको एक वर्षभित्र  कानून निर्माण गर्नपर्ने थुप्रै यस्ता चुनौतीहरुका वीचमा पुग्यौं  कि हामीले नयाँ कानुन, मौलिक हकहरुको कार्यान्वयनका लागि नयाँ कानून निर्माण गर्नैपर्थ्यो । संविधानसँग बाझिएका कानूनहरुको संशोधन गर्नुपर्थ्यो । संविधान कार्यान्वयनका लागि आवश्यक पर्ने नयाँ कानून बनाउनैपर्थ्यो । १६५ भन्दा बढी कानूनहरु संशोधन गर्नुपथ्र्यो । एउटा कानून संशोधन गर्ने अनेक कानून सम्बिन्धत हुन्छन्, ती हेर्नपर्थ्यो । संरचना त नयाँ बन्यो, तर ती संरचनाहरु, सैद्धान्तिक तवरमा बनेका ती संरचनालाई व्यवहारिक रुपमा खडा गर्नुपर्थ्यो । अनि संरचना सँगसँगै बस्ने ठाउँ छैन । सभा गर्ने ठाउँ छैन । सरकार त बन्यो, सरकार चलाउने ठाउँ छैन । प्रदेश सभा बन्यो, सभा गर्ने ठाउँ छैन । मन्त्रिपरिषद बन्यो, मन्त्रिपरिषद बस्ने ठाउँ छैन । यस्तो अवस्थाबाट हामीले सुरु गर्नुपर्‍यो ।

चारसय वटा झोलुंगे पुल यसै वर्ष बने । इतिहासमा कहीँ कहिल्यै यसै हिसाबमा यसै रफ्तारमा निर्माण कार्य हुन्थ्यो भने नेपाल कहाँ पुगिसक्थ्यो । एक वर्षभित्र जुन संरचना हामीले तयार गर्‍यौं, त्यो असाधारण थियो । यसमा अलिकति अल्मलिनुपरेको हुनाले ७.१ प्रतिशत मात्रे उत्पादन वृद्धि भो । यो उत्पादन वृद्धि नेपालको इतिहासमा ऐतिहासिक हो, यो भन्दा अगाडि कहिल्यै पनि भएको थिएन ।

एक हजार किलोमिटर भन्दा बढी बाटो स्तरोन्नति गरिएको छ, कालोपत्रे गरिएको छ । तैपनि आलोचना छ, किनभने हामीले जनतालाई बताउनै पाएका छैनौं । हामीलाई त कानून बनाउँदा, संरचना तयार गर्दा, कामहरुमै व्यस्त रहँदा रहँदै ठिक्क भो, जनतालाई भन्नै पाएको छैन । साउन र भदौको दुई महिना हेर्नुहोस् । दशैंसम्ममा सरकारमाथिको आलोचना समाप्त भएर जान्छ ।

किनभने, अब हामी नयाँ चरणमा प्रवेश गरेका छौं । मैले अगाडि पनि भनेको छु कि यो वर्ष आधार वर्ष हो । संविधा कार्यान्वयनको । सुशासन र विकासको । अगाडि बढ्ने कामहरुको आधार वर्ष हो । र, यो आधार हामीले तयार गरेका छौं । अब अगाडि बढ्छौं ।

म तपाईहरुलाई सोध्न चाहन्छु, तपाईहरुको काठमाडौंमा बस्नुभएको छ । काठमाडौंका सडक एकवर्ष अगाडि र अहिलेको भिन्नता हेर्नोस् । आफैं निस्पक्ष ढंगले विचार गर्नोस्, भन्नोस् । म प्रधानमन्त्री भएका बेला मैले भनेको थिएँ, अब काठमाडौंमा नाक समातेर हिँड्नुपर्दैन । मैले मास्क लगाउनुपर्दैन भनेको थिएँ । म प्रधानमन्त्री भएका बेला आधा जनसंख्या मास्क लगाएर हिँड्थ्यो कमसेकम, अहिले मास्क लगाएर कोही पनि हिँड्दैन ।

म यहाँहरुलाई भन्न चाहन्छु, दुईटा अध्यक्षले यो नबुझिकन हामी अगाडि हिँडिरहेका छैनौं । यो बुझेरै अगाडि बढेका छौं, हाम्रो काँधमा के अभिभारा छ र त्यो हामीले कसरी बहन गर्नुपर्छ, हाम्रा अगाडि बस्ता चुनौती छन् र तिनको सामना कसरी गर्नुपर्छ, त्यो हामीले देखेका छौं । त्यसकारण म सबैलाई आश्वस्त पार्न चाहन्छु ।

म साथीहरुलाई मेरो भनाइ पत्याइदिनोस्  भन्दिनँ । मेरो भनाइ व्यवहारमा हेर्नोस्, कानून कति बने । केके काम भए । केके फरक पर्‍यो ।

हामीले नयाँ नयाँ अभियानहरु यो एक वर्षभित्र मान्छेले कल्पना नगरेका रोजगार सिर्जनाका कार्यक्रमहरु होउन्, अथवा रोजगारीको प्रतिवद्धता यति गरेको छ कि रोजगारी नपाएमा, नभएमा हामी सय दिनको रोजगारीको ग्यारेन्टी गर्छौं । त्यो गर्न सकेनौं भने सयदिनको रोजगारीको आधा तनाखा भत्ताको रुपमा ग्यारेन्टी गर्छौं ।

ज्येष्ठ नागरिकको निशुल्क स्वास्थ्य विमाको बसैले कल्पना गर्‍याथ्यो ? पोहोरसाल हामीमाथि अलिकति आलोचना थियो, ज्येष्ठ नागरिक भत्ता बढेन । त्यसको कारण मैले बताएको थिएँ । यसपल्ट भत्ता बढ्  । प्रशंसा आएन । पैसा बाँड्यो, छर्‍यो भन्ने नै आरोप आयो । तर, हामी परिस्थिति अनुसार बहुत दृढताका साथ, सावधानीका साथ र अभिभारावोधका साथ अगाडि बढेका छौं । अगाडि बढ्छौं ।

मेरो भनाइ व्यवहारमा हेर्नोस् । मलाई विश्वास गर्नोस् हैन, परीक्षण गरेर हेर्नोस् । मेरो कुरा जाँचेर हेर्नोस् । विज्ञान भनेको त्यही हो । र, म साथीहरुलाई पनि भन्न चाहन्छु- मेरो भनाइ पत्याइदिनोस् न भनेर म भन्दिनँ । मेरो भनाइ व्यवहारमा हेर्नोस्, कानून कति बने । केके काम भए । केके फरक पर्‍यो । ती कुराहरु व्यवहारमा हेर्नोस् । मेरो त्यही आग्रह हो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment