
१५ असार, वीरगञ्ज । यसवर्ष मनसुन राम्रोसँग सुरु भएका छैन । जसले गर्दा आकाशे पानीको भरमा खेती गर्ने पर्सा, बाराका किसान चिन्तित छ ।
सिँचाइ सुविधा भएको गण्डक नहरभन्दा दक्षिणी क्षेत्रका किसानको पनि चिन्ता हटेको छैन । किनकी असारको १५ गते भइसक्दा पनि गण्डक नहरमा पानी आएको छैन ।
अहिले चुरेको दक्षिणमा पर्ने उत्तरी क्षेत्र जहाँ पानीको स्रोत छ । भदौरे धान काटेर त्यहाँ धमाधम रोपाइर्ं भइरहेको छ । बाँकी ठाउँका किसान पानीको प्रतिक्षामा छन् । बाराको परवानीपुर गाउँपालिकाका सदिक देवानलाई किसानको समस्यामा कसैले ध्यान नदिएको जस्तो लाग्छ ।
‘नजिकै गण्डक नहर छ । गण्डक नहर सफा पनि गरिएको छ तर पानी आएको छैन । धान लगाउन पानी आवश्यक भइसक्यो । समयमा पानी नआउँदा राम्रो उत्पादन हुँदैन,’ उनले भने, ‘कम्तिमा समयमा गण्डक नहरमा पानी आउने वातावरण त सरकारले बनाइदिनुपर्छ ।’
उनको जस्तै धारणा परवानीपुरकै मन्दिप यादवको पनि छ । गण्डक नहरको छेउमै खेत भए पनि नहरमा पानी नआएका कारण धान खेती गर्न नपाएको उनी बताउँछन् । ‘दुःखको कुरा के छ भने गण्डक नहरबाट सिंचाईबाट खेतमा पानी त जान्छ तर नहरमा पानी आएको छैन,’ उनले भने, ‘ आकाशे पानीकै भरमा खेती गर्नुपर्ने बाध्यता छ । समयमा मुख्य नहर र शाखाको नियमित मर्मत संभार गर्ने र जिम्मेवार अधिकारीले भारतीय पक्षलाई पानी छोड्न दवाव दिनुपर्छ ।’
वर्षे धानबालीका लागि वर्षेनी मे १० तरिखदेखि अक्टुबर २५ तारिखसम्म पानी दिने सम्झौतामा उल्लेख छ । त्यसअनुसार वैशाख २७ गते नै पानी आइसक्नुपर्ने भए पनि अहिलेसम्म नहरमा पानी आइसकेको छैन ।
सम्झौता अनुसार नहरमा ८५० क्युसेक पानी छोड्नुपर्ने हुन्छ । पानी नेपालको भए पनि गण्डकको सवालमा विगतदेखि नै भारतको मनोमानी चल्दै आएको छ ।
यो पनि पढ्नुस्–
नेपालको पानीमा भारतको मनोमानी : रोपाई सकिएपछि बल्ल आयो पानी
गतवर्ष पनि रोपाईं सकिएपछि नहरमा पानी छोडिएको थियो ।
गण्डक नहरको पानीको भर परेर नहुने भएपछि किसानहरुले विभिन्न विकल्पको प्रयोग गरेर धान रोपाई गर्दै आएका छन् । कतिपय किसानले गाउँमा रहेका पोखरी, तलाउ, नदीको पानी मोटरबाट तानेर खेतमा पटाउने, बारिङ मार्फत सिँचाइ गर्ने गरेका छन् ।
सिँचाइको उचित व्यवस्था नहुँदा धान खेती गर्न निकै समस्या हुने अर्का किसान कौशिला पटेलको भनाइ छ । ‘सिँचाइको व्यवस्था छैन । आकाशे पानीकै भर पर्नुपर्ने बाध्यता छ । पानी नपरे बाली हुन्न, भोकै मर्नुपर्ने हुन्छ,’ उनले भनिन् ।
कृषि ज्ञान केन्द्र पर्साका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत डा रामचन्द्र यादव पानी कै अभावमा अहिलेसम्म पर्सा जिल्लामा ५ प्रतिशत भन्दा कम जमिनमा धान रोपाई भएको बताउँछन् । ‘चैते धान लगभग काट्न तयारी अवस्थामा छ, वर्षे धान रोपाईं शुरु भएको छ । पानी प्रयाप्त परेको छैन, नहरमा पनि पानी छैन । बीउ पनि राम्रोसँग तयार भएको छैन,’ उनले भने, ‘अहिले त ५ प्रतिशत भन्दा कमै रोपाईं भएको छ ।’
लगातार पानी पर्दै जाने हो भने एक सातामा बीउ पनि तयार हुने र रोपाइर्ंले गति लिने उनको विश्वास छ ।
नहरमा छिट्टै पानी आउने दावी
नारायणी सिंचाई व्यवस्थापन कार्यालय, वीरगञ्जका प्रवक्ता ईन्जिनियर सुरेशप्रसाद साह भारततर्फ नहरमा समस्या आएकोले पानी आउन ढिलाइ भएको बताउँछन् ।
‘हामीले तीन महिना पहिला नै भारतीय पक्षलाई असार १० देखि १५ गतेभित्र पानी दिनुस भनेर पत्राचार गरेका हौं । उताबाट स्वीकृति आएको थियो । रक्सौलको नहरमा दुई महिनादेखि पानी चलिनै रहेको थियो, ‘ उनले भने, ‘असार १० गते ईनर्वा बोर्डरमा हामीले आफ्नो गेट उठाइदियौं । जमेको पानी नेपाल भित्र छिर्यो । अहिले ब्लक नं १ मा त्यही पानीले नेपाली किसानले सिँचाइ गरिरहेका छन् । तर भारतीय नहरको १०६ आरडी केनल स्थित साईफनमा पानी लिकेज भयो । उनीहरु त्यसलाई मर्मत गरिरहेका छन् । ‘
सिँचाइ व्यवस्थापन कार्यालयबाट नेपाली प्रतिनिधि गएर परिस्थति बुझेर आइसकेको जानकारी दिँदै उनले केही दिनभित्रै गण्डक नहरमा पानी आउने दावी गरे ।
नेपाल र भारतबीच वि.स. १९७३ जुन ३ मा गण्डक सम्झौता भएको थियो । बाँध बाँधिएको स्थल भैसालोटलनबाट १ सय किलोमिटर डोन ब्रान्च केनल हुँदै नेपाली नहरसम्म पानी आउने गरेको छ ।
गण्डक नहरको पानीले नेपालको पर्सा, बारा, रौतहटको ३७ हजार ४ सय हेक्टर जमिनमा सिँचाइ गर्ने लक्ष्य राखिएको छ ।
नहरमा समयमा पानी आएको खण्डमा पर्सा, बाराको झण्डै ३० हजार हेक्टर जमिनमा सिँचाइको समस्या टर्छ ।
नहरले रौतहटसम्म सिंचाई गर्ने लक्ष्य राखेपनि वि.स. २०४३ सालमा आएको बाढीले नहर बिगारिदिएकोले रौतहटसम्म पानी पुग्न सकेको छैन् ।
रौतहटका किसानका लागि जमुनी खोलामा बाँध बाँधेर जमुनी सिंचाई आयोजनामार्फत सिँचाइको व्यवस्था मिलाउन लागिएको छ ।
नारायणी सिँचाइ व्यवस्थापन कार्यालय, वीरगञ्जले आयोजनाको काम अन्तिम चरणमा पुगेको गत माघमा नै बताएको थियो ।
यो पनि पढ्नुस्–
जमुनी सिंचाइ आयोजनाको काम अन्तिम चरणमा
३ हजार ५ सय हेक्टर जमीनमा चैते धान रोपाई गरिएको पर्सा जिल्लामा यस वर्ष ४५-४६ हजार हेक्टर क्षेत्रफलमा खेती हुने अनुमान गरिएको छ ।
गत वर्ष ४५ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा प्रति हेक्टर ५.०५ मेटि्रक टन अर्थात २ लाख २७ हजार मेटि्रक टन धान उत्पादन भएको थियो । जुन अघिल्लो वर्षमा भन्दा १७.५ प्रतिशतले बढी हो ।
अघिल्लो वर्ष ४३ हजार हेक्टर जमीनमा धान खेति गरिएको थियो । १ लाख ९४ हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।
गतवर्ष समयमा पानी परेको, उन्नत बिउको प्रयोग, रोग किरा नलागेका कारण उत्पादनमा वृद्धि भएको कृषि प्राविधिकहरु बताउँछन् ।
प्रतिक्रिया 4