Comments Add Comment

नेपालको पानीमा भारतको मनोमानी : रोपाई सकिएपछि बल्ल आयो पानी

३ साउन, वीरगञ्ज । धान रोपाई सकिसकेपछि गण्डक नहरमा पानी आउँदा पर्सा र बाराका किसानलाई हर्ष न विस्मात भएको छ ।

चाँडै नै मनसुन शुरु भएका कारण यसवर्ष पर्सा र बारा दुवै जिल्लामा लगभग रोपाई सकिन लागेको छ ।

वर्षे धानबालीका लागि वर्षेनी मे १० तरिखदेखि अक्टुबर २५ तारिखसम्म पानी दिने गण्डक सम्झौतामा उल्लेख छ । त्यसअनुसार वैशाख २७ गते नै पानी आइसक्नुपर्ने भए पनि त्यसको झण्डै दुई महिनापछि असार ३१ गते भारतीय पक्षले गण्डक नहरमा पानी छोडेको छ ।

नहरमा ३ साउनमा जम्मा ३ सय ५८ क्युसेक पानी छोडिएको छ । पानी विस्तारै बारा जिल्लातर्फ गइरहेको छ । दक्षिणतर्फ बग्ने सहायक नहरमा अझै पानी छोडिएको छैन ।

अहिले नहरमा पानी आउनुको कुनै अर्थ नरहेको किसान बताउँछन् । पर्साको पोखरिया नगरपालिकाका १० शिवर्वाका किसान शिवकुमार साह गोढ खेत रोपिसकेपछि पानी आएको बताए । ‘पानी चाहिएको बेला आउँदैन, अब आएर के काम ?’ उनले हाँस्दै भने ‘अब धानमा पानी सुक्यो भने हाल्न मिल्छ । त्यही पनि अब आकाशे पानी परिरहन्छ ।’

१ विघा रोपाई गरिसकेका उनले ढिलो गरी आए पनि जेठ १५ भित्र पानी आइसकेको खण्डमा मात्रै किसानलाई फाइदा पुग्ने बताए ।

गण्डक नहरको पानीको भर परेर नहुने भएपछि किसानहरुले विभिन्न विकल्पको प्रयोग गरेर धान रोपाई गर्दै आएका छन् । आकाशे पानी नपरेको खण्डमा पनि गाउँमा रहेका पोखरी, तलाउ, नदीको पानी मोटरबाट तानेर खेतमा पटाउने, बोरिङमार्फत सिञ्चाई गर्ने गरिएको किसान बताउँछन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना तरकारी जोनका पर्सा जिल्ला प्रमुख विरेन्द्र सिन्हा पर्सा जिल्लामा झण्डै ९५ प्रतिशत जमिनमा रोपाई सकिसकेको बताउँछन् । पर्सा जिल्लामा मात्रै ४५ हजार हेक्टर जमिनमा धान खेती हुँदै आएको छ । गण्डक नहरदेखि उत्तरी क्षेत्र चुरेको फेदमा भएकोले अझैसम्म स्थानीय स्तरमा पानीका स्रोतहरु छन् ।

सम्झौताअनुसार गहुँ बालीका लागि डिसेम्बर २५ देखि मार्च २५ तारिखसम्म नहरमा ८ सय ५० क्युसेक पानी छोड्नुपर्ने हो । तर गत वर्ष साउन २७ र २८ गते आएको विनाशकारी बाढीले गण्डक नहरका विभिन्न स्थान भत्किएका कारण पानी आउन सकिरहेको थिएन ।

नहर मर्मतमा ढिलाइ गरेका कारण गण्डक नहरमा पानी आउन ढिलाइ भएको किसानहरु बताउँछन् । नेपाल र भारतबीच १९७३ जुन ३ मा गण्डक सम्झौता भएको थियो । बाँध बाँधिएको स्थल भैसालोटनबाट १ सय किलोमिटर डोन ब्रान्च केनल हुँदै नेपाली नहरसम्म पानी आउने गरेको छ । गण्डक नहरको पानीले नेपालको पर्सा, बारा, रौतहटको ३७ हजार हेक्टर जमिनमा सिञ्चाइ गर्ने लक्ष्य राखिएको छ ।

नहरमा समयमा पानी नआएको खण्डमा पर्सा, बाराको झण्डै ३० हजार हेक्टर जमिनमा सिञ्चाइको समस्या टर्छ । नहरले रौतहटसम्म सिञ्चाइ गर्ने लक्ष्य राखे पनि वि.स. २०४३ सालमा आएको बाढीले नहर बिगारिदिएको कारण पानी रौतहटसम्म भने पुग्न सकेको छैन । रौतहटका किसानका लागि जमुनी खोलामा बाँध बाँधेर सिञ्चाइको व्यवस्था मिलाउने काम भइरहेको छ ।

पानी आउनु सकारात्मक : नेपाली अधिकारी

नारायणी सिञ्चाई व्यवस्थापन कार्यालय गण्डक बहुअरीका सूचना अधिकारी सुरेश साह भारतीय पक्षले नेपालमा पानी पठाउनु सकारात्मक रहेको बताए । उनले भारतीय पक्ष भारतको घोडासहनमा पानी नदिएर भए पनि नेपाली किसानलाई पानी दिन तयार देखिएको बताए ।

‘नहरमा पानी नआएर हाम्रो टाउको दुखिरहेको थियो, पानी आउन थालेपछि टाउको हल्का भयो । पर्साको पश्चिमी क्षेत्रमा अहिले सिञ्चाइ भइरहेको छ’ उनले भने ‘ केही दिन अघि पटनाका चिफ इन्जिनियर रामपुकार रञ्जनलाई भेटेका थियौं, उहाँहरु नेपाललाई आवश्यक र सम्झौता अनुसार पानी दिन सकारात्मक हुनुहुन्छ ।’

पानी सम्झौता अनुसार नआएको कुरालाई ढाकछोप गर्दै उनले नहर मर्मतसम्भारको काम भर्खरै सकिएकोले नहरमा धेरै पानी नछोडिएको बताए । ‘भारततर्फ बाढीले नहर एकदमै क्षत विक्षत भएको थियो । एकैपटक ठूलो पानी छोड्दा फेरि क्षति पुग्छ भनेर नछोडिएको हो’ उनले भने ‘विस्तारै पानी बढाउँदै लैजाने कुरा छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment