
१३ माघ, वीरगञ्ज । गण्डक सम्झौताअनुसार गण्डक नहरबाट पर्सा, बारा र रौतहटका ३७ हजार ४०० हेक्टर जमिनमा सिंचाइ हुनुपर्ने हो, तर अझै ९ हजार ५०० हेक्टरमा सिंचाइ पगेको छैन ।
नेपाल र भारतबीच ४ डिसेम्बर १९५९ मा भएको सम्झौता अनुसार ८१ किलोमिटरको मूल नहरबाट सिंचित हुने क्षेत्रलाई १५ ब्लकहरुमा विभाजन गरिएको छ । तर, अहिलेसम्म १० वटा ब्लकबाट मात्र सिंचाइ पुगेको छ । पाँच वटा ब्लकका ९ हजार ५०० हेक्टर जमिनमा सिंचाइ पुगेको छैन ।
नारायणी सिंचाइ व्यवस्थापन कार्यालय, वीरगंजका प्रवक्ता रहेका इन्जिनियर सुरेश साह केही वर्षअघि बाराको लालबकैया नदीमा आएको बाढीले नहर कामै नलाग्ने बनाएर पानी जान नसकेको बताउँछन् । त्यसले गर्दा बारामा ११ र १२, रौतहटमा पर्ने १३, १४ र १५ नम्बर ब्लकमा सिंचाइ नपुगेको उनले बताए । ‘पुग्दो बजेट नआउँदा मर्मत गर्न सकिएको छैन’, उनले भने, ‘किसान मारमा परेका छन् ।’
६ महिनाभित्र नहरमा पानी
विश्व बैंकको अनुदानमा जमुनी सिंचाइ आयोजना निर्माणाधीन छ । बाराको आदर्श कोतवाल गाउँपालिका-८ स्थित जमुनी खोलामा बाँध बाँध्ने काम सकिन लागेको छ ।
नारायणी सिंचाइ व्यवस्थापन कार्यालयका प्रमुख इन्जिनियर राजेन्द्रप्रसाद साहले गेट हाल्ने र तटबन्धनको काम मात्र बाँकी रहेको बताए । उनले भने, ‘अकस्मात कुनै अवरोध नआए ६ महिनाभित्र नहरमा पानी पठाउने लक्ष्य छ ।’
साढे नौ हजार हेक्टर जमिनमा सिंचाइ पुर्याउने लक्ष्यका साथ २०७२ माघमा शुरु भएको आयोजनाको लागत २२ करोड ४० लाख ५१ हजार १४५ रुपैयाँ छ । आयोजनाले प्रतिसेकेन्ड साढे सात हजार पानी गण्डक नहरमा खसाएर बारा र रौतहटको ९ हजार ५०० हेक्टर जमिनमा सिंचाइ पुर्याउने छ ।
खोलालाई पुरानै ठाउँमा फर्काउने प्रयास
नारायणी सिंचाइ व्यवस्थापन कार्यालय वीरगञ्जले एकातर्फ बाँध र तटबन्धनको काम अघि बढाइरहेको छ भने अर्कोतर्फ खोलाको धार परिवर्तन गरिरहेको छ ।
बाँधको उत्तरतर्फ धार परिवर्तन गरेर घुमेको खोलालाई पुरानै ठाउँमा फर्काउन आवश्यक बजेट माग गरिएको कार्यालयका प्रमुख इन्जिनियर साहले बताए ।
उनका अनुसार, खोलालेे बनाएको नयाँ धारमा बाँधका कारण पानीको सतह बढ्दा जमिन कटान गर्नसक्छ । उनले भने, ‘त्यसकारण जमुनीको झुलेंगे पुलभन्दा दक्षिण बाँधसम्म दुबैतर्फ तटबन्ध बनाएर नियन्त्रण गर्न जरुरी भयो ।’
घुमेको खोलालाई सीधा पार्न ३० करोड हाराहारी खर्च लाग्ने अनुमान छ । त्यसका लागि १९ किलोमिटरको सर्भे भइसकेको उनको भनाइ छ ।
खोलाको दक्षिण-पश्चिम भागमा घर-जग्गा भएका पचरौता नगरपालिका- ९, कुडवाका जयनारायण प्रसादले खोलालाई पुरानै धारमा फर्काउँदा राम्रो हुने बताए । उनका अनुसार, २०-२५ वर्षअघि जमुनी खोला सीधा बग्थ्यो ।
अहिले दायाँबायाँ धार परिवर्तन गरेर बग्दा थुप्रै जमिन कटान गरिसकेको छ । ‘बाढी आउँदा हामीलाई रातभरी निन्द्रा लाग्दैन’, प्रसादले भने, ‘बाढी कता जाने हो ठेगान हुँदैन ।’
प्रतिक्रिया 4