Comments Add Comment

किरण लामालाई जोगाउन बाउन्सर बने नक्कली ड्राइभर !

१६ असार, काठमाडौं । सवारी दुर्घटनापछि फरार रहेका किरण लामालाई जोगाउन नक्कली ड्राइभर बनेर जिल्ला प्रहरी कार्यालय पुगेका एक व्यक्ति पक्राउ परेका छन् ।

किरणलाई जोगाउन नक्कली ड्राइभर बनेर पुगेका उनका सहयोगी रोम थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

मिटर ब्याजदेखि जग्गा कारोबारमा सक्रिय लामाको टेन एलाभेर रेष्टुरेन्टका बाउन्सर हुन्, उनी । प्रहरीका अनुसार लामो दूरीको यात्रा गर्दाका बैकल्पिक ड्राइभर समेत उनै थिए ।

शनिबार राति विराटनगर एयरपोर्ट मोडमा रहेको ह्याज ट्याग होटलबाट मापसे गरी निस्किएका लामाले करिब ११ बजे बिराटनगर–४, बरगाछीमा मोटरसाइकललाई ठक्कर दिएर फरार भएका थिए ।

लामा सवार बा २० च ७४० नम्बरको कारको ठक्करबाट को ३ प ५६३४ नम्बरको मोटरसाइकलमा सवार शंकरकुमार मिश्रको मृत्यु भएको थियो । बरगाछी चोकमा ठक्कर दिएका लामा विराटनगर– ६ स्थीत घरमा गाडी लुकाएर फरार भएका थिए ।

राति करिब २ बजे लामाको घरबाट गाडी लिएर आएको प्रहरीले फरार रहेका लामाको खोजी गरिरहेको छ । लामाको खोजीमा प्रहरी परिचालित भएको अवस्थामा एक व्यक्ति आफूले कार चलाएको भन्दै प्रहरी कार्यालय पुगेका थिए ।

प्रहरीले केरकार गर्दा लामाको आग्रहमा सहयोग गर्न आएको बताएपछि नियन्त्रणमा लिएको हो । नक्कली ड्राइभर बनेर आएका व्यक्तिलाई नियन्त्रणमा लिएको डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

कहिले काहीँ लामाको गाडी चलाउने व्यक्ति आफूले चलाएको बताउँदै आएपछि सोधपुछ गरिएको उनले बताए । प्रहरी प्रारम्भिक अनुसन्धानमा लामाले नै गाडी चलाएको देखिएको डिएसपी श्रेष्ठ बताउँछन् ।

नेकपा नेताको संगतले आर्थिक उन्नति

किरण लामा बिराटनगरलाई आधार बनाएर लामो समयदेखि गुण्डागर्दीमा संलग्न व्यक्ति हुन् । विराटनगर– ६ मा नेपाल बजार पश्चिम दुई कट्ठा जग्गामा तीन तले घर बनाएका लामाले गुण्डागर्र्दीको बाटोबाट छोटो समयमा ठूलो आर्थिक प्रगति गरेका छन् ।

३० वर्षीय लामाले कुनै जागिर खाएका छैनन् । तर, करिब १० वर्ष अघिबाट एक जना स्थनीय नेकपा नेताको संगतमा उनले राम्रो आर्थिक हैसियत बनाएका छन् ।

विराटनगरको मुख्य बजारमा घर बनाएका उनले अहिले ती नेतालाई क्रस गरेर छुट्टै समूह चलाउँछन् ।

मिटरब्याजदेखि जग्गा करोवारमा संलग्न लामाले करिब ६ महिना अघि नयाँ कार किनेको प्रहरी स्रोत बताउँछ । कार खरीद गरेका उनले ड्राइभर राखेका छैनन् ।

लामा विराटनगर महेन्द्र चोकमा रहेको होटल टेन एलाभेन पनि चलाउँछन् । सोही होटलका साझेदार मध्येका एक प्रह्लाद गुरागाईलाई ३ फागुनमा बन्धक बनाएर कुटपिट गरेको प्रहरीले जनाएको छ ।

कुटपिट मुद्दामा सात दिन प्रहरी हिरासतमा बसेका उनीविरुद्ध अभद्र व्यवहार मुद्दा पनि चलाइएको थियो । सात दिनपछि उनी पाँच हजार धरौटी बुझाएर छुटेका थिए ।

मिटरव्याजकै लगानी उठाउने क्रममा उनले विराटनगर रानीमा जगदिश साहलाई पनि बन्धक बनाएर कुटपिट गरेको प्रहरीमा उजुरी परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment