Comments Add Comment

निगममा आर्थिक संकट ! प्रधानमन्त्रीको चेतावनीले काम गर्ला ?

१६ असार, काठमाडौं । २०७४ साउनदेखि २०७५ जेठसम्म नेपाल वायुसेवा निगमको जहाज चढेर विदेश उड्ने यात्रुको संख्या ३ लाख ४७ हजार ५ सय २८ थियो । २०७५ साउनदेखि २०७६ जेठसम्मको १० महिनामा यो संख्या ५ लाख ६९ हजार ७ सय ३४ पुग्यो जुन ६३.५ प्रतिशतको वृद्धिदर हो ।

यस अवधिमा निगमले दुइ वाइडबडी जहाज ए३३०-२०० र दुई न्यारोबडी जहाज ए३२०-२०० उडाइरहेको छ । सन् २०१८ मा नेपालबाट उड्ने जहाजमध्ये सबैभन्दा बढी यात्रु बोक्ने वायुसेवा कम्पनी नेपाल एयरलाइन्स हो । यसरी कागजी तथ्यांक हेर्दा निगममा यात्रुको संख्या उल्लेख्य बढेको देखिन्छ, जसको अर्थ यात्रुले निगमको सेवा मन पराएका छन् । तर, निगमका उच्च अधिकारीहरु भनिरहेका छन्, कम्पनी आर्थिकरुपमा धराशयी छ ।

६१ औं वाषिर्कोत्सवको अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा नेपाल वायुसेवा निगमका उपमहाप्रवन्धक गणेश चन्दले निगम चरम आर्थिक संकटमा रहेको बताए । ३५ करोड अधिकृत पूँजी रहेको निगममा करीव ३६ अर्ब ऋण पुगेको उनको भनाई थियो । दुईवटा वाइडबडी जहाज किन्न कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणको किस्ता निगमले तिर्न सकेको छैन ।

गत चैतमा तिर्नुपर्ने एक किस्ताको भाका सारेको निगमले असारमा पनि तिर्न नसक्ने जानकारी गराइसकेको छ । एक किस्तामा निगमले दुई निकायलाई ८० लाख रुपैयाँ तिर्नुपर्छ । तीन/तीन महिनामा तिर्नुपर्ने किस्ता एकपटक मात्र भाका सर्दा पनि त्यसले ठूलो आर्थिक व्ययभार थपिन्छ । जति बढी सिट जोड्यो, त्यति नै निगम किन घाटामा छ ?

यो पनि पढ्नुहोस यथास्थितिमा वायुसेवा निगमलाई एक पैसा पनि दिन सकिन्न : प्रधानमन्त्री

नेपाल वायुसेवा निगमको आधिकारिक कर्मचारी यूनियनका अध्यक्ष सुवास डाँगी भन्छन्, ‘एकपटकमा ७/८ घण्टासम्म निरन्तर उड्नुपर्ने जहाज डेढ घण्टाको दूरीमा उडेका छन् । चिनियाँ जहाज विमानस्थलमा घाम तापेर बसेका छन् ।’

निगम व्यवस्थापनले वाइड बडी ल्याउनासाथ लामो दूरीमा उडाउन गतिलो व्यवसायिक योजना बनाउन सकेन । वाइडबडी ल्याएको १ वर्षभित्र पनि नयाँ गन्तब्यमा उड्न सकेको छैन । यसको समग्र असर निगमको वित्तीय स्वास्थ्यमा परेको छ ।

निजी कम्पनीले माग्छन् निगमका जहाज

नेपाल वायुसेवा निगम धरासायी बन्दा सबैभन्दा ठूलो फाइदा निजी क्षेत्रका वायुसेवा कम्पनीलाई हुने गर्छ । अध्यक्ष डाँगीका अनुसार निजी कम्पनीले चिनियाँ जहाज किन्न खोजिरहेका छन् । केही निजी कम्पनीले चिनियाँ जहाजलाई ५० हजार डलरमा किन्न प्रस्ताव गरेका छन् ।
कर्मचारीहरु कतै निगमका जहाज नउडाएर काम नलाग्ने सावित गरी निजी कम्पनीलाई बेच्ने चलखेल पो चलिरहेको छ कि भन्ने आंशका गर्छन् । कहिले बाहृय आक्रमण त कहिले सरकारबाट हुने नीतिगत त्रुटीका कारण पनि निगममा चलखेलको वातावरण बनेको कर्मचारीहरुको चिन्ता छ ।

यो पनि पढ्नुस्–

‘वायुसेवा निगम चलाउन दिउँ’ भन्दा प्रधानमन्त्रीले सोधे : सेना कबाडीखाना हो ?

निगमका कर्मचारी यूनियनका अध्यक्ष तारिणीप्रसाद दाहाल पनि निगममा बाहिरियाको चलखेल रहेको दावी गर्छन् ।

उनले भने, ‘निगमलाई बाहिरिया केही तत्वले दुख दिइरहेका छन् । एउटा जहाज किन्दा दुई वर्ष झगडा हुन्छ र ५ वटा मुद्दा पर्छ । यस्तो परिस्थितिमा निगमले नयाँ जहाज थप्न सक्दैन ।’

समस्याको चुरो

वायुसेवा निगमले अहिले वाषिर्क झण्डै १० अर्ब हाराहारीको व्यापार गर्छ । तर, नेपालमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको व्यापारको कूल हिस्सा १ खर्बभन्दा माथि छ । विजेनशको ठूलो सम्भावना भएपनि निगमले यसबाट लाभ उठाउन भने सकेको छैन ।

निगम व्यवस्थापनले घाटा र नाफा हुने क्षेत्रको विश्लेषण गर्दै उडान व्यवस्थापन नै गर्न सकेको छैन । निगम जहाँ जहाँ उडेको छ, त्यहाँ घाटा छैन । वाइडबडी जहाज काठमाडौं-नयाँ दिल्ली रुटमा उड्दा जहाज त भरिएकै छ, तर त्यो रुटबाट हुने नाफाले जहाजको संचालन खर्च नै धान्न धौधौ पर्छ ।

निगममा कार्यकारी अध्यक्ष मदन खरेलका अनुसार बजेट एयरलाइन्सको बढ्दो चापले गर्दा निगमले आफ्ना गन्तब्यहरुबाट सोचेजति नाफा गर्न सकिरहेको छैन । निगमले आफ्ना जहाजलाई अधिकतम क्षमतामा उडाउने, उत्पादन खर्च घटाउन समेत ध्यान दिइएको उनले बताए । मितव्ययिता कायम गर्न खर्च कटौती गरिरहेको उनको भनाइ छ ।

निगमले अहिले २० अर्ब रुपैयाँ पूँजिवृद्धिका रुपमा लगानी गर्न सरकारसँग प्रसा माग गरिरहेको छ । यो रकममध्ये १८ अर्ब रुपैयाँ जहाजहरु किन्दा लिएको ऋणको ५० प्रतिशत ऋण तिर्ने र २ अर्ब व्यवस्थापीय सुधारमा खर्च गर्ने निगमका कार्यकारी अध्यक्ष खरेल बताउँछन् । यसबाट निगमले बुझाउनु पर्ने साँवा ब्याज घट्ने र कम्पनी आर्थिक रुपमा सवल हुने उनको तर्क छ ।

निगमका जहाजको वर्तमान अवस्था

अन्तर्राष्ट्रिय

ए३३०-२०० : २ संचालनमा
ए३२०-२०० : २ संचालनमा

आन्तरिक

एमए ६० : १ ग्राउण्डेड १ संचालनमा
वाई १२ : ३ वटा उडान योग्य, १ ग्राउण्डेड
ट्वीनअटर : २ संचालनमा, १ ग्राउण्डेड

प्रधानमन्त्रीको चेतावनी

वाषिर्कोत्सव कार्यक्रममा प्रमुख वक्ताका रुपमा बोलाइएका प्रधानमन्त्री केपी शर्मा ओली निगमसित निकै असन्तुष्ट देखिए । निगमले अब सरकारसित पैसा मागेर नभई उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गरी व्यापारमार्फत पैसा कमाउनु पर्ने उनले बताए ।

पाइलटको व्यवस्था नभई जहाज किन्ने, जहाज आइसक्दा पनि रुटको व्यवस्था गर्न नसक्ने परिपाटीले निगमले कसरी आम्दानी गर्न सक्छ भन्ने प्रश्न प्रधानमन्त्री ओलीका थियो । जहाज किन्दाकिन्दै साथमा अन्य तयारी किन नगरेको भन्दै उनले निगम व्यवस्थापनसँग प्रश्न गरे ।

सरकारले निगमलाई सहयोग गर्ने मात्र नभइ काँध थाप्न पनि तयार रहेको भन्दै ओलीले तर, आँखा चिम्लेर पैसा दिन भने नसक्ने स्पष्ट पारे । वर्तमान व्यवस्थापनको कार्यशैलीमा आफूलाई विश्वास नभएको भन्दै उनले स्पष्ट कार्ययोजना ल्याउन आग्रह गरे ।

सरकारले कुनै पनि बेला हस्तक्षेप गर्न सक्ने भन्दै त्यसका लागि तयार रहन आग्रह गरे । ‘निगममा यात्रु, पाइलट, व्यवस्थापन, कर्मचारी कोही घाटामा नजाँदा निगम मात्र कसरी घाटामा ?,’ प्रधानमन्त्रीले प्रश्न गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment