Comments Add Comment

प्रकृतिसँग खेलौं, निरोगी जीवनका बाँचौं

जीवनशैली व्यवस्थापन

तपाईं प्रकृतिसँग जति धेरै आफ्नो जीवनको तालमेल मिलाउनुहुन्छ, उत्तिनै खुसी र सुख मिल्छ । शरीर निरोगी र तन्दुरुस्त हुन्छ ।

शरीर एक प्राकृतिक रचना हो । प्रकृतिसँग नै जीवनको लय मिलाउनुपर्छ । हामी जति धेरै प्राकृतिक जीवनशैलीमा आफुलाई अभ्यस्त गर्छौ, उत्तिनै स्वस्थ्य र खुसी हुन्छौं । प्रकृतिले खाने, बस्ने, सुत्ने, उठ्ने, काम गर्ने सबै तालिका बनाइदिएको छ । त्यही तालिकामा आफ्नो दैनिकीलाई डोहोर्‍याउनुपर्छ । रोगमुक्त जीवन बाँच्ने यो भन्दा ठूलो उपाय अरु छैन ।

निरोगी र खुसी जीवन बाँच्न गाह्रो छैन । हामीले आफ्नो दिनचर्या, खानपान र सोंच-चिन्तनमा सामान्य सन्तुलन मिलाए पुग्छ । प्राकृतिक जीवनशैली अपनाउने, सात्विक भोजन सेवन गर्ने, क्रियाशिल रहने, प्रकृतिसँग नजिक हुने । वस् यति नै काफी छ । अरु केही गर्नैपर्दैन ।

प्राकृतिक तालिका

विहान सूर्योदयअघि उठ्नुपर्छ । यसलाई ब्रम्हा मुर्हूत पनि भनिन्छ । यसबेला वायुमण्डलमा स्वच्छ हावा चल्छ, जसलाई प्राणवायु पनि भनिन्छ । ब्रम्हा मुर्हूतमा स्वच्छ वायुले फोक्सो भरेपछि त्यसले स्वास्थ्यमा राम्रो प्रभाव पार्छ । मन चंगा हुन्छ, शरीर हलुंगो हुन्छ ।

उठ्नसाथ पानी पिउनुपर्छ । मनतातो पानी उपयुक्त हुन्छ । त्यसपछि सौच क्रिया गर्नुपर्छ ।

दिसा-पिसाब गरिसकेपछिको समय व्यायामका लागि हो । ताजा हावामा हिँडडुल पनि गर्न सकिन्छ । व्यायाम गरिसकेपछि नुहाउनु पर्छ । त्यसपछि शरीरलाई हल्का मालिस गर्नुपर्छ । अब बिहानको नास्ता खानुपर्छ ।

खाना स्वस्थ्यकर, पोषिलो, सुपाच्य हुनुपर्छ । मुलत खान तीन प्रकारका हुन्छन्, सात्विक, तामासिक र राजशी । अहिले हामीले खाइरहेको खाना तामासिक हो । मासुमंस, चिल्लोपिरो, बासी, मसलेदार खाना यस अन्र्तगत पर्छ । यस्तो खाना शरीरमैत्री हुँदैन । खासमा हाम्रो शरीरले माग्ने खाना भनेको सात्विक हो । सात्विक खाना फलफूल, उसिनेको खानेकुरा, सादा, ताजा र सजिलै पच्ने खालको हुन्छ ।

दिनभरमा थोरै-थोरै खानेकुरा सेवन गर्नुपर्छ । साँझ सूर्योअस्त अघि नै भोजन गर्नु बढी लाभदायक हुन्छ । खासमा राती शरीरले विश्राम गर्ने भएकाले धेरै खानेकुरा आवश्यक हुँदैन ।

हुन त अहिलेको व्यस्त जीवनशैली बाँचिरहेका हामीलाई यस किसिमको दिनचर्यामा अभ्यस्त हुन गाह्रो होला । किनभने अहिले हामीलाई स्वास्थ्य भन्दा सम्पति प्यारो छ । सम्पतिका लागि स्वास्थ्यलाई धरापमा पारेका छौ । हामीलाई थाहा छैन कि, भोलि आफ्नो स्वास्थ्य ठिक बनाउनका लागि त्यो सम्पतिले पुग्दैन ।

त्यसैले सम्पतिलाई भन्दा स्वास्थ्यलाई प्राथमिकता दिनुपर्छ ।

प्रकृतिसँग खेलौं

अहिले हामी प्रकृतिबाट टाढा भाग्दैछौं । त्यही कारण हाम्रो खुसी खोसिएको छ । हामी रोगी बन्दैछौ । प्रकृतिसँग जति धेरै तालमेल मिलाउँछौ, जति धेरै नजिक हुन्छौ, उत्तिनै जीवन सहज हुन्छ । खुसी हुन्छ । स्वस्थ्य हुन्छ ।

खेती किसानी गर्नु पनि प्रकृतिसँग नजिक हुनु हो । खेती किसानी गर्दा स्वास्थ्य सक्रिय हुन्छ ।  तन्दुरुस्त हुन्छ । माटोको सम्पर्कमा रहँदा, पानी वा हिलोको सम्पर्कमा रहँदा पनि रोगप्रतिरोधात्मक क्षमता बढ्छ ।

खेतबारी एवं बनजंगलमा चराचुरुंगी कराएको आवाज, बनस्पतिको बास्ना आदिले मन आनन्दित हुन्छ । हामी तनामुक्त रहन्छौं । यसरी प्रकृतिसँग नजिक हुँदा हाम्रो शरीर निरोगी र बलियो हुन्छ । सानोतिनो रोगले छुँदैन ।

दबाईले दबाउँछ

ज्वरो आउनसाथ हामी के गर्छौं ? सिटामोल चपाइदिन्छौं । टाउको दुख्नसाथ हामी के गर्छौं ? ब्रुफिन खाइदिन्छौं । कहिले वान्ता आउँछ, कहिले पखला लाग्छ, कहिले रुँघा लाग्छ । यी सबै अवस्थामा हामी हतार-हतार औषधी खाइहाल्छौं ।

हामीलाई रुँघा लाग्यो भने ‘डिकोल्ड’ निल्छौं । क्षणभर यसले हामीलाई राहत दिन्छ । तर, रुँघा लाग्नु आफैमा रोग होइन । यो शरीरको संकेत हो । चिसो लागेको अवस्थामा, धूलोले असर गरेको अवस्थामा रुँघा लाग्छ । यतिबेला हाँच्छ्यु आउनु, नाकबाट पातलो सिँंगान बग्नु भनेको शरीरभित्र केही गडबढी छ भन्ने संकेत हो ।

तर, शरीरको भाषा बुझ्दैनौ हामी । शरीरले भित्री अंगमा के समस्या छ भनेर जनाउ दिन्छ, हामी औषधी खाएर त्यसलाई दबाउँछौं ।

पखला लाग्नु भनेको हामीले खाएको खानेकुरा अपच हुनु हो । पाचन यन्त्रलाई पचाउन गाह्रो हुनु हो । त्यसैले पखला लागेपछि त्यसलाई रोक्नका लागि औषधी खाने होइन । बरु, सरसफाईमा ध्यान दिने हो । सुपाच्य खानेकुरामा जोड दिने हो । तरल पदार्थको अभाव हुन नदिने हो ।

हामीले खाने औषधीले रोगलाई दबाउँछ, निर्मूल बनाउँदैन । एकछिन त त्यसले आरम दिन्छ तर सधैभरी रोगमुक्त बनाउँदैन । सधैभरी रोगमुत्त रहनका लागि प्राकृतिक जीवनशैलीको विकल्प छैन ।

(बानेश्वरस्थित आयुष अस्पतालका प्राकृतिक चिकित्सक ढकालसँग अनलाइनखबरले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment