Comments Add Comment

८ बज्यो, विद्यार्थी छुट बन्द !

‘दशको माल पन्ध्र बनेसी जाउँला’

१७ असार,काठमाडौं । सोमबार साँझ ७ः३० बजे, काठमाडौं मल बाहिरको सडकमा बसहरुको भीडभाड थियो । त्यही भीडमा रत्नपार्कबाट स्वयम्भू जाने अन्नपूर्ण सार्वजनिक यातायातको एउटा बस पनि यात्रु पर्खिँदै थियो ।

लैनचौर, ठमेल, सोह्रखुट्टे, बालाजु, वनस्थली, स्वयम्भू भन्दै बसका सहचालक यात्रु डाकिरहेका थिए । बस आफ्नो स्टेशनमा आइपुगेको केही समयमै सिट भरियो । तर बस गन्तव्यका लागि अगाडि बढेन ।

सिटमा बस्ने र उभिने यात्रुले भरिएको बसभित्र हपक्क गर्मी छ । उभिएका र बसेका यात्रुहरु पनि पसिनाले भिजेका छन् । छिप्पिँदो साँझमा यात्रुलाई घर जाने चटारो छ । तर, सिट भरिइसक्दा पनि सहचालकले यात्रु बोलाइ रहे, सिट खाली… सिट खाली… भन्दै ।

साँझ ७ः५० सम्म बसमा उभिने यात्रु पनि टन्नै भए । चालकले सहचालकलाई जाने हो ? भनेर सिटबाटै चिच्याए । तर सहचालकले जवाफ दिए ‘अब एक छिन बसौं, दशको माल पन्ध्र हुन्छ ।’

चालक मुसुक्क हाँसे ।

ठीक आठ बज्यो । यात्रु खोज्दै बसको वरिपरि घुमिरहेका सहचालक बसको खुड्किलो उक्लिए । ढोकामा दुई मुड्की बजारे र भने, ल सबै जना मिलेर बसौं, अब जाने ।

त्यसपछि थपे, ‘आठ बजेपछि कार्ड छुट हुन्न है ।’

उनले यतिञ्जेल बस रोक्नुको रहस्य बल्ल खुल्यो । खचाखच यात्रुले भरिएको उक्त बस सवा आठ बजे रत्नपर्कबाट हिँड्यो । जमल पुगेपछि थप यात्रु बसमा कोचिए । लैनचौरबाट पनि केही थपिए । सोह्रखुट्टेमा केही यात्रु ओर्लिए उनीहरुले विद्यार्थी कार्ड र पैसासँगै दिए । रिसाउँदै सहचालकले भने, ‘साढे आठ भइसक्यो । अघि नै भनेको होइन, आठ बजेपछि कार्ड छुट हुन्न भनेर ?’ यात्रुहरु चुपचाप थप पैसा दिएर निस्कए ।

उक्त यात्रामा विद्यार्थी, अशक्त, जेष्ठ नागरिक कसैले पनि कार्ड छुट पाएनन् । यो एउटा प्रतिनिधि घटना मात्रै हो ।

कार्डवाला यात्रु ‘दशको माल’

सामान्यत: काठमाडौं उपत्यकाको रुटमा सार्वजनिक सवारी प्रयोग गर्दा कार्ड छुटपछि तिर्नुपर्ने भाडा दश रुपैयाँ हो । विद्यार्थी, अशक्त, बृद्ध एवं जनआन्दोलनका घाइतेलगायतले परिचयपत्रका आधारमा बस तथा माइक्रोमा न्यूनतम भाडा दश रुपैयाँ तिर्दै आएका छन् ।

बसका सहचालकले दश रुपैयाँ तिर्ने यस्ता यात्रुलाई ‘दशको माल’ भन्दा रहेछन् ।

यातायात व्यवस्था विभागको निर्देशिका अनुसार विद्यार्थी, अशक्त, बृद्ध र जनआन्दोलनका घाइतेलगायतलाई दिइने छुटसम्बन्धमा कुनै समय सीमा छैन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाह पथका निमित्त प्रमुख एसपी रविकुमार पौड्यालका अनुसार यात्रु लिएर गुडेको हरेक सार्वजनिक सवारीमा कार्ड छुट लागू हुन्छ । ‘यति बज्यो कार्ड छुट हुन्न कसैले भन्छ भने त्यो गलत हो,’ एसपी पौड्यालले भने, ‘कसैले छुट दिन मानेन भने ट्राफिक प्रहरीलाई तत्काल जानकारी गराउँदा हुन्छ ।’

एसपी पौड्यालका अनुसार यातायात व्यवस्था ऐनअनुसार रुट परमिट पाएर सञ्चालनमा आएका यात्रुवाहक सवारीले आफूखुशी समय तोकेर कार्ड चल्ने नचल्ने घोषणा गर्न पाउँदैनन् ।

हामी बाध्य छैनौं  : व्यवसायी

सार्वजनिक सवारीमा दिँइदै आइएको छुटसम्बन्धमा बाध्यकारी कानुन नभएको र यसलाई व्यावसायीले व्यवहारिक रुपमा प्रदान गरेको यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाको दाबी छ । सरकारले पनि व्यावसायीलाई छुट दिने र सोबापत व्यावसायीले यस्ता छुट गर्ने प्रचलन रहे पनि सरकारले व्यावसायीले दिने छुट कटौती गरेको सिटौलाले बताए ।

‘रुट इजाजत, वार्षिक कर र जाँच पासमा पाउँदै इएको छुट सरकारले कटौटी गरे पनि व्यवसायीले छुट दिन छाडेका छैनन्’ उनले भने, ‘तर हामीले छुट दिन्नौं भने पनि कारबाही गर्न सरकारको कानुनी हैसियत छैन ।’

तर, सार्वजनिक सवारी जतिबेलासम्म चल्छन् त्यति बेलासम्म तोकिएको छुट कार्यान्वयन गर्नुपर्ने यातायात व्यवस्था विभागको निर्देशिकामा प्रष्ट भनिएको छ । ट्राफिक प्रहरीका अनुसार यात्रुलाई सहुलियत छुट नदिने बसलाई प्रत्येक गल्तीमा पाँच सय रुपैयाँ जरिवाना गर्ने कानुनी आधार छ । आफूहरु अन्यायमा परेको जानकारी ट्राफिकलाई गराएको खण्डमा लापरवाही शीर्षकमा सवारी चालकलाई कारवाही गरिने एसपी पौड्यालले बताए ।

बसका यात्रुलाई चालक तथा सहचालकले कुनै पनि प्रकारका दुर्व्यवहार गर्न नपाइने भन्दै त्यस्तो भए तुरुन्त नजिकको सिभिल प्रहरी वा ट्राफिक प्रहरीलाई जानकारी गराउन पनि एसपी पौड्यालले आग्रह गरे ।

सिटौलाले सार्वजनिक यातायातमा हुनै सबै खाले दुर्व्यवहारविरुद्धमा आफू रहेको बताए । यात्रु, चालक तथा सहचालक सबै जना अनुशासित हुनु जरुरी रहेको सिटौलाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment