Comments Add Comment

सुन तस्करी प्रकरणमा भीआईपी छाड्ने न्यायाधीश सिंह बर्खास्त

१७ असार, विराटनगर । मोरङ उर्लाबारीका समन शाक्य हत्या प्रकरणको अनुसन्धानका क्रममा खुलेको करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका अभियुक्तलाई धरौटी र साधारण तारेखमा छाड्ने आदेश दिने मध्येका न्यायाधीश बर्खास्तीमा परेका छन् ।

उच्च पदस्थ प्रहरी कर्मचारी र व्यापारीलाई धरौटीमा छाड्ने आदेश दिने उच्च अदालत विराटनगरका तत्कालिन न्यायाधीश उमेशकुमार सिंह बखास्तीमा परेका हुन् । न्याय परिषदको सोमबार बसेको बैठकले उनलाई बर्खास्त गर्न सिफारिस गरेको हो ।

बर्खास्तीमा परेका सिंह सहितको संयुक्त इजलासले व्यापारी सञ्जय खेतान भनिने प्रभात अग्रवाल, मुख्य अभियुक्त चुणमणि उप्रेती गोरेका सहयोगी मदन सिलवाल, डीएसपी प्रजित केसी, गोरेका सहयोगी रामकुमार तिवारी, व्यापारी राजकुमार दारुका र माधव भनिने मदनप्रसाद घिमिरेलाई धरौटीमा छाड्ने आदेश दिएको थियो ।

सुन मुद्दामा जिल्ला अदालत मोरङको आदेशपछि थुनामा रहेका उच्च पदस्थ र व्यापारीहरुलाई उच्च अदालत विराटनगरले धरौटीमा छाड्ने आदेश दिएको थियो ।

विवादास्पद आदेश दिएपछि तत्कालिन मुख्य न्यायाधीश डा. कुलरत्न भुर्तेल, न्यायाधीश नागेन्द्रलाभ कर्ण, सारङ्गा सुवेदी, थिरबहादुर कार्की, उमेशकुमार सिंह, साधुराम सापकोटा, उमेशराज पौडेल न्यायपरिषदमा तानिएका थिए ।

परिषदले थिरबहादुर कार्की, साधुराम सापकोटा र उमेशकुमार सिंहबाहेक अन्यलाई सफाइ दिएको थियो । असार ४ गतेको परिषद बैठकले कारबाही प्रक्रिया अघि बढाउन तीन न्यायाधीशलाई थप स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण बुझाएपछि सिंहलाई बर्खास्ती गर्न सिफारिस गरेको हो ।

परिषदले सोमबार सिंहलाई पदमुक्त गर्न सिफारिस गरेको न्याय परिषदका उपसचिव टेकनाथ गौतमले जानकारी दिए । उनका अनुसार न्यायाधीश थिरबहादुर कार्की र साधुराम सापकेटालाई सचेत गराउने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment