Comments Add Comment

बिग मर्जरको चहलपहल : बैंकहरु आन्तरिक र बाह्य छलफलमा

१७ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले बिग मर्जरको विषयलाई चर्चामा ल्याएपछि यतिबेला बैंकिङ क्षेत्रमा ठुलै हलचल उत्पन्न भएको छ । केही बैंकहरुले मर्जरको लागि उपयुक्त जोडी खोज्न थालिसकेका छन् ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले गत बिहिबार बैंकहरुलाई बोलाएर मर्जरका लागि साथी खोज्न निर्देशन दिएका थिए । यसलगत्तै बैंक बैंकका सञ्चालकहरुले आन्तरिक गृहकार्य अघि बढाएका हुन् ।

बैंकर्स एशोसिएसनका नेपालका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बैंकहरुले आन्तरिक गृहकार्य शुरु गरेको बताए । वाणिज्य बैंकहरु मर्जरमा जानु राम्रै विषय भएको र यस विषयमा अधिकांश बैंकहरु सकारात्मक रहेको उनको भनाइ छ ।

नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका उनले आफ्नो बैंकका सञ्चालहरुले पनि छलफल शुरु गरिसकेको जानकारी दिए। तर कुन बैंकसँग मर्जरमा जाने भन्ने विषयमा भने आफूलाई जानकारी नहुने उनले बताए ।

‘बैंकको संख्या घटाउनु नराम्रो कुरा होइन, यसले बैंकहरुलाई राम्रै असर गर्छ,’ ढुंगानाले भने, ‘राष्ट्र बैंकको निर्देशनपछि हाम्रो मात्रै होइन अधिकांश जसो बैंकहरुले आन्तरिक गृहकार्य शुरु गरिसक्नुभएको छ ।’

राष्ट्र बैंकले दिएको समय छोटो भए पनि त्यस अवधिमा आवश्यक गृहकार्य भने सबै बैंकले गर्ने उनले बताए ।

गभर्नर नेपालले आगामी २७ गते नयाँ आर्थिक वर्ष २०७६/७७ का लागि मौदि्रक नीति ल्याउने बताएका छन् । त्यो भन्दा अगाडी नै मर्जरका लागि आ-आफ्नो साथी रोज्न उनले बैंकहरुलाई भनेका हुन् ।

गभर्नर नेपालले शुरुमा प्रोत्साहन गर्ने र त्यसले नभए जर्बजस्त (फोर्स) मर्जरको नीति लिन सकिने संकेत गरेका छन् । जसका कारण पनि बैंकहरु यतिबेला मर्जरका विषयमा गम्भीर देखिएका छन् ।

आफू जानसक्ने वा आफू कहाँ आउन सक्ने बैंकहरुसँग अनौपचारिक छलफलसमेत केही बैंकहरुले शुरु गरेका छन् ।

कुन बैंक, कुनमा मिल्दैछन् ?

मुलुकमा सञ्चालित २८ वटा बाणिज्य बैंकमध्ये अधिकांशले मर्जरका विषयमा आन्तरिक गृहकार्य शुरु गरेका छन् । जसमध्ये पनि ग्लोबल आईएमई बैंक, मेगा बैंक, सेञ्चुरी कमर्सीयल बैंक, सिभिल बैंक, प्राइम कमर्सीयल बैंक लगायतले भने अन्य बैंकसँग पनि सल्लाह शुरु गरिसकेका छन् ।

नाममै कमर्सीयल झुण्डिएका दुई कमर्शीयल बैंकहरु (प्राइम कमर्शीयल बैंक र सेञ्चुरी कमर्सीयल बैंक) ले मर्जरको विषयमा प्रारम्भिक कुराकानी गरेको स्रोतले जानकारी दियो । प्राइम कमर्शीयलका अध्यक्ष राजेन्द्रदास श्रेष्ठ र सेञ्चुरी कमर्शीयल बैंकका राजेशकुमार श्रेष्ठबीच अनौपचारिक छलफल भएको छ ।

दुबै बैंकको बोर्डमा भने यो विषयले प्रवेश पाएको छैन । दुबै अध्यक्षले केहिदिन भित्रै आफ्नो बोर्ड बैठक बोलाएर मर्जरमा जाने सम्बन्धी छलफल गर्ने श्रोतको दाबी छ ।

उता सिभिल बैंकले पनि मर्जरमा जानका लागि आन्तरिक गृहकार्य गरेको छ । सिभिल निकट श्रोतका अनुसार कुन बैंकमा मर्जरमा जाने भन्ने विषयमा बैंकका अध्यक्ष इच्छाराज तामाङले केहि सञ्चालहरुसँग २ दिनअघि सल्लाह गरेका थिए ।

उता ग्लोबल आइएमई बैंक र जनता बैंक नेपालले पनि मर्जरमा जानका लागि प्रराम्भिक शुरुवात गरेका छन् । यस विषयमा दुई बैंकका अध्यक्षबीच छलफल भइसकेको बताइएको छ । ‘अध्यक्षज्यूहरुबीच सामान्य छलफल भएको रहेछ, तर हामीले औपचारिक छलफल भने गरेका छैनौं,’ ग्लाेबलका एक सञ्चालकले भने, ‘अब दुबै बैंकको बोर्डमा छलफल हुन्छ, त्यसपछि आवश्यक निर्णय होला ।’

ति सञ्चालकहरुका अनुसार ग्लाेबलको आज/भोलि नै बोर्ड बैठक बोलाएर मर्जरका विषयमा छलफल गर्ने योजना रहेको छ ।

विदेशी लगानीका बैंकले के गर्छन् ?

मर्जरका लागि अधिकांश बैंकहरुले गृहकार्य गरिरहँदा विदेशीको लगानी रहेका बैंक भने ढुक्कसँग बसेका छन् । राष्ट्र बैंकको मर्जर नीतिले विदेशी लगानीका बैंकलाई मर्जरका लागि बाध्य पार्न नसक्ने उनीहरुको ठहर छ ।

स्टाण्डर्ड चार्टर्ड बैंक र नेपाल एसबीआई बैंकमा बहुमत सेयर विदेशीको रहेको छ । यि दुबै बैंकको व्यवस्थापन पनि विदेशीले नै हेर्दै आएका छन् ।
यि दुई बैंकबाहेक एनएमबी बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक, नेपाल बंगलादेश बैंक र नविल बैंकमा समेत विदेशी लगानी रहेको छ ।

एनएमबी, हिमालयन र नविल यतिबेला चुपचाप बसेका छन् । विदेशी लगानी रहेका अन्य दुई बैंकहरु नेपाल बंगलादेश र एभरेष्टले भने आन्तरिक गृहकार्य शुरु गरेका छन् । यि दुबै बैंकहरु मिल्ने साथी पाए मर्जरमा जानसक्ने सम्भावना देखिएको छ ।

एभरेष्टले यसअघि लक्ष्मी बैंकसँग मर्जरमा जान छलफल गरेको थियो । तर पछि सहमति हुन नसकेपछि चुपचाप बसेको छ ।

यो पनि पढ्नुहोस् :

बैंकर्स संघको निर्णय : मर्ज हुन्छौं, तर सहुलियत चाहियो

‘फोर्स मर्जर’ले २ बैंकलाई नछुने, ६ बैंकको विषयमा अन्योल

कार्यवाहक गभर्नर भन्छन् : मर्जरका लागि ‘फोर्स’ होइनन, प्रोत्साहन गर्छाैं

मर्जरको निर्णय लिन बैंकलाई १५ दिनको अल्टिमेटम !

‘विदेशबाट पैसा ल्याउन हेजिङ सुविधा चाहियो’

मौद्रिक नीतिले गराउला ठूला बैंकहरुको ‘विहे’ ?

मौद्रिक नीतिको प्राथमिकतामा ‘बिग मर्जर’

अनुसन्धान विभागलाई बाइपास गर्दै राष्ट्र बैंकले राख्यो मौद्रिक नीतिको छलफल

१५ दिनभित्र मर्जरको प्रतिवद्धता पेश गर्न गभर्नरको निर्देशन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

ट्रेन्डिङ

Advertisment