Comments Add Comment

प्रचण्डको निर्वाचन क्षेत्रमा एक फन्को

Photo Credit : आफ्नो निर्वाचन क्षेत्रमा प्रचण्ड

नेकपा अध्यक्ष प्रचण्डको संसदीय निर्वाचन क्षेत्र चितवनको ३ नम्बर क्षेत्र हो । चितवन हाम्रो र कमरेड प्रचण्डको गृहजिल्ला हो । हामी गीतानगरका र उनी शिवनगरका । एउटै महानगरपालिका । हामी तीन नम्बर क्षेत्रका मतदाता मात्र नभएर एकअर्काका छिमेकी पनि हौं ।

दोस्रो संविधानसभाको यस निर्वाचनमा क्षेत्रबाट नेपाली कांग्रेसका तात्कालीन सभापति सुशील कोइराला अत्यधिक बहुमतले विजयी भएका थिए ।

म र जयन्द्र पौडेलले प्रचण्डको चुनाव क्षेत्रमा एक फन्को लगाउने विचार ग¥यौं । प्रचण्डले चुनाव जितेपछि चितवनको विकास कार्यमा आएको परिवर्तन, संसदीय निर्वाचनमा भएको नराम्रो पराजयपछि नेपाली कांग्रेसका कार्यकर्ता र मतदाताको मनस्थिति तथा पार्टी एकीकरणपछि नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताको मनोभाव बुझनु हाम्रो भ्रमणको उद्देश्य थियो ।

जेठ महिनाका गर्मी दिनहरु, चितवनको हरियाली र दु्रत विकासको रमाइलोमा हामीले यात्रा गीतानगरबाट शुरु ग¥यौं । पञ्चायतकालमा गीतानगर, शारदानगर, पार्वतीपुर, राधापुर, गौरीगञ्ज, मंगलपुर, मेघौली, तेलौली, गुञ्जानगर, अमृतनगर, चनौली, जीतपुर, लंङ्कु, चैनपुर, खैरहनी, पदमपुर, कांगे्रसका गढ थिए । शरदपुर, केशरवाग, चम्पानगर, पृथ्वीनगर, पकौडी, पटिहानी, जगतपुर, हनुमाननगर, शुक्रनगर, लोथर, पर्सा राजावादी र वामपन्थीहरुको किल्लाका रुपमा चिनिन्थे । माडी, टाँडी, भरतपुर, नारायणगढ र पहाडी भेकमा कांग्रेस, कम्युनिष्ट, राजावादी बरावरी थिए । अहिले समाज मिश्रित बन्यो, को कांग्रेस को कम्युनिष्ट चिन्न कठिन ।

हामी पटिहानी बजारको एउटा चिया पसलमा मान्छेहरु झुरुप्प देखेर त्यही रोकियौं । सबैजनाको ध्यान हामीतिर सोहोरियो । मलाई चिन्ने वालसखा खीमबहादुरले सबैलाई मेरो साथी भनेर चिनाएपछि हामीलाई खुल्न सजिलो भयो ।

मैले तीस वर्ष सरकारी सेवा गरेर सहसचिव पदबाट अवकाश पाएपछि लेखेको नेपाल एकीकरण र पृथ्वीनारायण शाहको योगदानमा आधारित ऐतिहासिक उपन्यास “सिमाना खोज्दै” को लेखक हुँ भन्दै परिचय दिएँ । धेरैले पुष महिनातिर अनलाइनखबरमा समाचार पढेको बताउनुभयो । म खुसीले गद्गद् भएँ र अनलाइनखबरलाई मनमनै धन्यवाद दिएँ ।

चियाको मीठो चुस्की लिँदै हामीले जिज्ञाशाको पुलिन्दा फुकायौं ।

भरतपुर, गीतानगर, माडी सडक बन्न लागे छ कस्तो लाग्छ हजुरहरुलाई ? हामीले पूर्वाधार सम्बन्धी प्रश्न राख्यौं । बाटोको प्रश्नले मान्छेहरुलाई दुई फ्याक बनाउने गर्दथ्यो, बाटोको छेऊमा घर हुने र नहुने गरी । तर, गीतानगर हँुदै जगतपुर जाने बाटो एक्काइस मिटरको चौडा हुने भनेर महानगरपालिकाले निर्णय गरेपछि लामो तनावपछि बाटो छेऊ घरजग्गा पर्नेहरु खुसी देखिन्थे ।

बाटो तोकिएको मापदण्डबमोजिम, बन्नु राम्रो हो, एकथरिले भन्थे । अर्कोपक्षले भन्थ्यो फराकिलो बाटो बनाउँदा जनताको उठिवास हुन्छ । यो बाटोसम्बन्धी निर्णयको सबै जस त मेयर रेणु दाहाललाई नै जान्छ । एकजनाले जानकारी दिए ।

मलाई पनि ठीक लाग्यो, महानगरपालिकाको निर्णय । विकास जनतालाई खुसी दिने भएन र वातावरण संरक्षण गर्ने पनि भएन भने अर्थहीन हुन्छ भनेर संयुक्त राष्ट्रसंघको प्रतिवेदनमा पढेको सम्झिएँ ।

त्यसपछि रसुवा–गल्छी–भरतपुर–माडी–ठोरी चौडा बाटोको बारेमा बहस भयो । हामी सुनिरहयौं । धेरैले धेरै विकल्प दिए । एकपटक कमरेड प्रचण्डले जंगलको किनारको स्वस्थ हावापानीको आनन्द लिँदै र जंगली जनावरको दृश्यावलोकन गर्दै र नदीको कलकल आवाज सुन्दै हिँड्ने बाटो बनाउने भाषण गर्नुभएको थियो नि, होइन त ? मैंले संझाएँ ।

बुढाले भन्नुभएको त हो नि, चक्रपथको सन्र्दभमा । त्यहाँ मेयर रेणु दाहाल पनि त हुनुहुन्थ्यो । सबैले प्रचण्डलाई प्यारो गर्दै सम्झिए । महानगरपालिकाले सयवर्षका लागि पूर्वाधार नीति बनाउनुपर्छ । मैले सम्झाएँ । हो त नि । सबैले होमा हो मिलाए । छलफलबाट बाटोको राम्रो विकल्प भेटियो ।

भरतपुर महानगरपालिकाको रामनगरदेखि जंगलको पश्चिम किनारै किनारै नौरङ्गे, बसेनी, गौरीगञ्ज, केशरवाग, देवनगर, उज्वलनगर, गंंगानगर, सीतामाई, राप्ती तरेर सुरुङ हुँदै माडीबाट ठोरी पुग्ने रणनीतिक बाटो बनाउन ठीक हुन्छ ।

बाटो छेउका जनतालाई मर्का पनि नपर्ने, भोलिका दिनमा शहरका भित्री बाटोमा ट्राफिक जाम पनि नहुने, जंगल च्यापेको जमिनमा बाटो बनाउँदा सरकारले मुआब्जा दिनु पनि नपर्ने, जंगलको सिमाना संरक्षण भई जंगल अतिक्रमण पनि रोकिने, ढल निकास बनाउन पनि सजिलो हुने र पर्यटन विकास हुने जस्ता फाइदै फाइदा हुन्छन् ।

सबैले एकमुखले विकल्प स्वीकारे । हामी बिदावादी भएर जगतपुर हुँदै माडि जान हिड्यौं । निकुञ्जको बाटो त सुरुङ हुनुपर्छ । वन, जंगली जनावरको सुरक्षा र जनावरको वासस्थान वनको सुरक्षाका लागि । मैले तर्क राखेँ ।

राप्तीमाथिको पुल त¥यौं । चितवन राष्ट्रिय निकुञ्जको हरियो झयाम्मको जंगलमा जंगली जनावरहरु बाटैछेउ चरिरहेका, खेलिरहेका थिए । रमाइलो । जनावरसँग नै खेलुँ खेलुँ लाग्यो । प्रसन्न मन लिएर हामी रिउ पारि माडीको बनकट्टामा मिठो चिया पिउँदै एकैछिन गप्mिफयौं र माडी नगरपालिकाको केन्द्र वसन्तपुर पुग्यौं ।

भोक निकै लागेका थियो । चौधरीको पसलमा खाना बनाइदिन अनुरोध ग¥यौं । पसलको छेउमा केटाहरु क्यारेम खेलिरहेका थिए । हामी खुट्टा तन्काउन बजारमा हिँड्दै थियौं, कलेज पढ्दाको साथी ईन्द्र टुप्लुक्क भेट भयो ।

हामीले खाना बनाउँदै गरेकी आरती चौधरीलाई सोध्यौं – प्रचण्डले सांसद जितेको एक बर्ष भयो, के के विकास भयो त माडीमा ।

बजेट आएको छ, रिउ खोलामा तटबन्ध गर्न । बाटो पिच गर्न । गोद्दक क्षेत्रको पर्यटन विकास गर्न । हाम्रो त शत्रु भने पनि मित्रु भने पनि यही रिउ, यिनै ठाडा खोला हुन् । रिउ र खोलालाई शान्त बनाएर हिँडाउन पाए त हामी कति सुखी हुन्थ्यौ कति, सर । कराहीमा साग झवाइयँ पार्दै आरतीले भनिन् ।

कमरेड प्रचण्ड त आजकल माडी आइरहनु हुन्छ । मन लगाएर हाम्रा कुरा सुन्नुहुन्छ । हाम्रो होटलमा पनि चिया खाना खानु भएको छ । बोलिरहने फरासिलो नेता, उहाँ त । आरतीका पति कृष्णले गर्वसाथ भने ।

उहाँले एक कप चिया पिएपछि त हाम्रो होटल पनि धेरै चल्न थाल्यो नि सर, आजकल । आरतीले फुर्किदै भनिन् ।

गिरिजा प्रसाद कोइराला विराटनगर गएझैं बेला–बेलामा प्रचण्ड आफै आइरहनुहुन्छ, आफ्नो निर्वाचन क्षेत्रतिर । निर्वाचन क्षेत्रमा कार्यक्रम छन् । बजेट छ । आफूले जिताएको नेतालाई देखिरहन पाउँदा जनता सारै खुसी हुँदारहेछन् ।

अब माडी कम्युनिष्टहरुको लालकिल्ला हुने भयो त ? जयन्द्रले जिज्ञाशा राखे । कांग्रेस त यदुबंश जस्तो आपसमा झगडा गरेरै बर्वाद हुने भयो । कांगे्रसमा भविष्य छैन भनेर नेपाली कांग्रेसबाट एकपटक सांसद नै भएको मान्छे त कम्युनिष्ट बने, यहाँ । हाम्रो कुराकानी सुनिरहेका एक बुजु्रकले भने ।

कांगे्रस भनेको अग्राख हो सर, कहिल्यै नगल्ने र कहिल्यै नमाँसिने दुवो जस्तो । कांग्रेस सकिन्छ र ठुलो भाग खाउँला भनेर कसैले नचिताए हुन्छ । माडीमा आउने चुनावमा मेयर हामी जित्छौं । पल्लो टेवलमा बसेर भटमास र सेकुवा खाँदै गरेका युवकमध्ये एकजना जोसिँदै हाम्रो छलफलमा मिसिए ।

काम हेर्नुसन् माडी नगरपालिकामा । नेकपा फुट्छ अनि हामी चुनाव जित्छांै भनेर कांगे्रसले नसोचे हुन्छ, अब । वामपन्थी युवकले सचेत गराउँदै भने ।

ठीक छ हेरौंला । कांग्रेसी युवा पर्खन तयार भए ।

विचार र सिद्धान्तको कुरा गर्ने हो भने कांग्रेस र कम्युनिष्टमा केही फरक छैन । चुनावको हारजित गणित हो । कार्यकर्ता दुबै पार्टीमा बरावर छन् । ठूलोसानो भन्ने नै छैन् । तर, जुन दल जनताको नगिच हुन्छ, जसले जनताको काम गरिदिन्छ, जुन पार्टी जनतासँगै जनताका लागि खट्छ ,त्यै पार्टीले जित्छ, चुनावमा । हाम्रो कुरा सुनिरहेका पाका चौधरीले राय राखे । चौधरी बाको कुरामा सबै सहमत भए ।

कमरेड प्रचण्डलाई माडीको ऋण तिर्नु छ । फेरि फेरि पनि चुनाव आउँछ । धेरै काम गर्नुपर्छ । काम देखाउनुपर्छ । उहाँ निर्वाचनमा नउठे त माडीको भोट कांग्रेसलाई नै जान्छ । पाका मगरले सुल्फी तानेर धुवाँ फाल्दै भने । धुवाँ अकाशतिर गयो ।

हामी स्वादिलो खाना खाएर अयोध्यापुरीतर्फ लाग्यौं । बाटोभरि खाल्डाखुल्डी थिए । पुल नभएर खोला खोलै दौडनुपथ्र्यो । कुनैकुनै खोलामा पुलको जग हाल्दै पनि थिए । शुद्ध हावाको रस्वादन गर्दै हामी साँझपख अयोध्यापुरी पुग्यांै ।

ठोरी जाने बाटो छेउको होटलमा बस्ने बन्दोबस्त गरेर वरपर टहलियौं, निकैबेर । रिउ खोलामा बनाउन लागेको तटबन्ध हे¥यौं । लामो यात्रा र कुराकानीले थाकेका हामी शुद्ध र शीतल वातावरणमा घुमेको एकैछिनमा ताजा भयौं ।

बत्ती त गयो साहुजी, कमरेड प्रचण्डको निर्वाचन क्षेत्रमा । हामीले पसलेलाई जिस्कायौं ।

भरतपुरदेखि आउनुपर्ने भएर थाकेछ कि हजुर ! पसले पनि छट्टु नै रहेछन् । प्रचण्डलाई जोगाउँदै उनले भने ।

खोई त नेट ? जयन्द्रले अर्को प्रश्न गरे ।

हजुरहरु आउँदा हावाहुरी लिएर आउने, अनि नेट खोज्ने ? पसले स्थानीय थिए ।

अयोध्यापुरी त कांग्रेसको गढ भन्थे अहिले के छ अवस्था ? हामी दुईले एउटै प्रश्न गर्‍यौं ।

अयोध्यापुरीमा कांग्रेसकै बहुमत भए पनि माडीमा जित्ने दलकै चहल–पहल बढी छ । प्रचण्डमय बनेजस्तो लाग्छ । कम्युनिष्टहरु खुसी छन्, उत्साहित छन्, पार्टी एकता भएकोमा । तर कांग्रेस पनि कमजोर छैन् माडिमा ।

प्रचण्ड कमरेडलार्ई जिताएर माडीका जनताले के पाए त ? जयन्द्रले कुरा कोट्याए ।

जनताले नेतालाई जिताएर आश्वासन वाहेक त के पाउँछन् र हजुर । तर, प्रचण्ड मान्छे अलि फरक हुनुहुन्छ अरुभन्दा । माडीलाई मणि बनाउँछु भन्नुभएकोछ । बाँदरमूढेमा करोडौंको उद्यान बन्ने भएको छ । आजकल त माडी आइरहनुहुन्छ ।

हामी भोलिपल्ट, सबेरै माडीबाट फर्केर सुन्दरवस्ती, मधुपुरी हेर्दै र हनुमाननगर हुँदै हामी शिवनगर पुग्यौं । जताततै प्लटिङ गरेको बाँझो रहेकोे देखिन्थ्यो, अन्न उब्जने खेतहरु । तरकारी खेती रहरलाग्दो थियो । बाटाहरु धमाधम पीच हुँदै थिए । बिजुली पुगिसकेको थियो ।

हनुमाननगर पुष्पकमल दाहाल प्रचण्डको घर भएको गाउँ । तत्कालीन गीतानगर, शिवनगर गाउँपालिकालाई विपी कोइरालाले शिलान्यास गर्नु भएपछि बनेको खँगेरी नहरले दुई फ्याक गरेको छ । नहरले गर्दा नहरमाथि सबै नेपाली कांग्रेस समर्थक र नहरमुनि सबै वामपन्थी सर्मथक हुने वातावरण बन्यो ।

हामी कुरागर्दै हिँडिरहयौं । मान्छेको भीड लागेको दुधडेरी अगाडि रोकियौं । हामीलाई देखेपछि सबैका कान टाठा भए ।

हाम्रा सहपाठीहरु भेनु र गोपाल भेट भए । हामी कलेज पढदा ०३६÷३७ सालतिर चितवनभरिमा एउटा मात्र कलेज थियो, वीरेन्द« क्याम्पस । वीरेन्द« क्याम्पस पढेकाले होला, जिल्लाको कुनै पनि ठाउँमा या त सहपाठी या त सहकलेजी भेटिन्थे । हाम्रो यात्राको एउटा सुनौलो पक्ष । हाम्रो स्वागत सँगै चियाको अर्डर गयो । हामी फलेकको लामो बेञ्चमा बसेर गफ गर्न थाल्यौ. ।

बाटाहरु त धमाधम पिच हुँदैरहेछन् । हामीले जिज्ञाशा उठायौं ।

अहिले चितवनमा बाटोको विस्तार र पीच त भएको छ, सबैलाई मन छुने विकास । बाटो पीच भएपछि धुलोधुवाँ खानु त पर्दैन, काठमाडौंमाझै । सहकारीमा दूध नाप्दै एक कर्मचारीले भने, राजनीतिभन्दा विकास ठूलो हो हाम्रा लागि ।

एकजना वृद्धले थपे, ‘हाम्रो क्षेत्र त बाबुछोरी दुबैको मेहनत फुल्ने क्षेत्र हो, बाबु । दुवैले काम गरे दुवैलाई जस जान्छ, एउटाले काम गर्न सकेन भने दुवैलाई सिध्याउन बेर लाग्दैन ।’

चियाको मीठो स्वाद जिब्रोमा लिएर हामी पार्वतीपुर, अमृतनगर, शुक्रनगर, पर्साढाप हँुदै मेघौली पुग्यौं । मेघौली राप्ती र नारायणी नदीको दोभान हो । आजकल ठुला ठुला पर्यटकीय होटलहरु खुलेका छन् । तर, एयरपोर्ट बन्द भएकोमा जनता र व्यवसायी बेखुसी थिए ।

भोक लागिरहेकोले हामी नारायणी नदीको स्वादिष्ठ जलकपुर माछा खान कुमालकोे एउटा रेष्टराँमा छि¥यौं । नारायणी नदीमा जनता चाहेको तटबन्ध सांसदले बनाउने कि मेयरले ? पसलमा छिर्दाछिदै हामीले बाहिरबाटै सुन्यौं । भित्र छ/सातवटा टेवलमा बसेर खाजा खाइरहेका केटाहरु चर्कोचर्को गफ गरिहेका थिए । हामी एउटा खाली टेवलमा बस्यौं ।

सांसदले बनाए पनि मेयरले बनाए पनि हुन्छ । जस एउटै घरमा जाने भएपछि । हाम्रो राय सुनेर केटाहरु गलल हाँसे ।

बाबुको कोट र कांग्रेसको भोट पाएर जितेकी हुन् रेणुले, बुझनुभयो ? अब कांग्रेसको मत पाए पो जित्छिन् चुनाव ? कांग्रेसी युवकले जबाफ दिए ।

दुई कम्युनिष्ट मिलेको थाहा छैन, तपाईलाई ? अर्का युवकले प्रश्न गरे ।

थाहा छ, निभ्नुभन्दा अगाडिको वत्ति चम्केजस्तो, एकता । दुबै कम्युनिष्ट जोडिए पनि कांग्रेस मिल्ने र आपसमा अन्तरधात नगर्ने हो भने कांग्रेसको उम्मेदवारले चुनाव हार्नु पर्दैन । ल डाटा हेर्नुस् । अर्का कांग्रेसी युवकले डाटा नै तेस्र्याए ।

युवकहरु गफमा तल्लीन थिए । हामी माछाको स्वाद लिँदै उनीहरुका कुरा सुन्न थाल्यौं । युवाहरु चर्काचर्की गर्दै थिए, हामी खाजा खाएर निस्कियौं ।

मेघौलीबाट जीतपुर, खत्र्यौली, गुञ्जानगर, चनौली, शारदानगर, रामपुर, मंंगलपुर खरकट्टा हँुदै शिवघाट पुग्यौं । अन्तराष्ट्रिय स्टेडियम बनाउने निर्णय मात्र पनि महानगरपालिकाको एउटा राम्रो निर्णय भएकाले हामी स्टेडियम बन्ने थलो हेर्न गयौं ।

जग्गा बेस्सरी महङ्गिएछ । धर्मचोकबाट लक्ष्मीपुरहुँदै स्टेडियम जाने बाटो फराकिलो पीच बनेछ । वरपरका जनता सबै खुसी देखिन्थे, स्टेडियमको योजनासँग । बाटोको कचपच सुनियो, अलिअलि । त्यहाँ पनि कांग्रेस र कम्युनिष्ट कार्यकर्ताकै भनाभन सुनियो । आगामी चुनाव कसले जित्छ भन्दै उनीहरु आआफ्ना दाबी गरिरहेका थिए । कुराकानीको विट मार्दै हामी विदा भएर लकुं हुँदै नारायणगढतर्फ लाग्यांै ।

चितवनमा दुई राजनीतिक शक्ति, दुबै जब्बर छन्, दुबैका कार्यकर्ता जुझारु छन् । जयन्द्रले अध्ययन विश्लेषणको सार सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment