बच्चालाई विद्यालय पुर्याउँदै हुनुहुन्छ । विद्यालयको बस छुट्छ कि भनेर हतारोमा हुनुहुन्छ । बाटोमा एक दृष्टिविहिन कष्टसाथ हिँड्दैछन् । हिलो, खाल्डोले बाटो हिँड्न सहज छैन । अब तपाईं ति दृष्टिविहिनलाई बेवास्ता गर्दै दौडनुहुन्छ कि उनको हात समाएर आफुसँगै असजिलो बाटो पार गराइदिनुहुन्छ ?
बच्चालाई लिएर कतै गइरहनुभएको छ । बाटोमा एक बुढा मान्छे देख्नुहुन्छ, जो मोवाइलमा कसैलाई सम्पर्क गर्न खोज्दैछन् । तर, मोवाइलमा सम्पर्क व्यक्तिको नाम र नम्बर डायल गर्ने मेलोमेसो पाइरहेका छैनन् । तपाईं उनलाई सहयोग गर्नुहुन्छ वा उदेग मान्दै फटाफट हिँड्नुहुन्छ ?
बच्चालाई लिएर सार्वजनिक यातायातमा चढ्नुभएको छ । गाडीमा एक गर्भवती महिला चढ्छिन् । भिडमा कोचिएर उनी निकै कष्टपूर्वक उभिएकी छिन्, किनभने सिट खाली छैन । तपाईं उनको लागि सिटको व्यवस्था गरिदिनुहुन्छ कि नदेखेको झै स्वाङ पार्नुहुन्छ ?
बच्चालाई लिएर किनमेलमा गइरहनुभएको छ । तपाईंकै अघिल्तिर मोटरसाइकल दुर्घटना भयो । उनीहरु लडे, चोटपटक लाग्यो । ऐया-अत्था गर्दै छटपटाउन थाले । तपाईं उनीहरुको उद्वारमा जुट्नुहुन्छ कि रमिते बन्नुहुन्छ ?
बच्चाका खातिर
तपाईं बच्चालाई विद्यालय पठाइरहनुभएको छ, केका लागि ?
निसन्देह लेखपढ गर्न जान्ने बनाउन । ज्ञानी र बुद्धिजीवि बनाउन । सीपालु र सक्षम बनाउन । त्यही कारण तपाईं दायावायाँ नहेरी बच्चालाई विद्यालय पठाउने, ल्याउने गर्नुहुन्छ । तपाईंको ध्यान केवल बच्चाको पढाईमा केन्दि्रत छ ।
बच्चालाई विद्यालय पुर्याइरहेका बेला कुनै अशक्त भेट्नुहुन्छ, तर उनलाई सहयोग गर्ने भन्दा बच्चालाई समयमै विद्यालय पुर्याउने हतारो हुन्छ तपाईंलाई । अब सोच्नुहोस् त, तपाईंको बच्चाले बच्चालाई जुन कुरा सिक्नका लागि पठाउँदै हुनुहुन्छ, त्यो अवसर त तपाईंले बाटोमै पनि प्राप्त गर्नुभएको छ । हामी बच्चालाई ‘दयालु बन्नुपर्छ’ भनेर पाठ घोकाउँछौ । तर, हामी आफै निर्दयी छौं । हामीमाथि दयाभाव नै जाग्दैन । एक अशक्त व्यक्ति देखेर पनि हामी नदेखेझै गर्छौं ।
हामी बच्चालाई ‘अरुको सहयोग गर्नुपर्छ’ भनेर उत्तर लेख्न सिकाउँछौं । तर, कसैलाई आपत-विपत परेको बेला हामी सहयोग गर्न तत्पर रहँदैनौ ।
बाटोमा कोही दुर्घटनामा पर्छन् । हामी सेल्फी खिच्न वा रमिता हेर्न थाल्छौं । खचाखच बसमा कुनै गर्भवती चढ्छिन्, हामी उनलाई सिट छाड्दैनौ ।
विद्यालयमा बच्चालाई जान्नेबुझ्ने हुन, ज्ञानी हुन पठाइन्छ । हामीलाई लाग्छ, किताब पढेपछि बच्चाहरु ज्ञानी हुन्छन् । जान्नेबुझ्ने हुन्छन् । तर, हामी बच्चाको अगाडि कस्तो व्यवहार प्रदर्शन गरिरहेका हुन्छौं ?
कुनै माग्ने मान्छे आएर ढोका ढकढकाउँछ । हामी त्यसलाई थर्काएर रित्तो हात फर्काइदिन्छौं । आँखै अगाडि कोही झगडा गर्न थाल्छन्, हामी उनीहरुलाई सम्झाउने वा छुटाउने गर्दैनौं । रमाइलो मानेर रमिता हेर्छौं । चोकमा एक ठेला व्यापारीको सामान पोखिन्छ, हामी उनको सामान बटुल्ने, उठाउने गर्दैनौं ।
व्यवहारिक रुपमा चाहि हामी निर्दयी बन्छौं । असहयोगी र स्वार्थी बन्छौं । अनि बच्चाको होमवर्कमा चाहि ‘सबैको सहयोग गर्नुपर्छ’, ‘दयालु’ हुनुपर्छ भनेर लेख्न सिकाउँछौं ।
हाम्रो उदेश्य कतिमात्र छ भने बच्चाले परीक्षामा उत्तिर्ण गरोस् । सोधेको प्रश्नको फटाफट जवाफ दियोस् ।
बच्चालाई दयालु बन्नुपर्छ भन्छौं, अशक्त व्यक्तिलाई उछिन्दै गाडी चाढ्छौ । बच्चालाई सहयोगी बन्नुपर्छ भन्छौं, बाटोमा सकी-नसकी ठेला तान्दै गरेका मजदुरलाई धकेल्दै अगाडि बढ्छौं । हामी भन्छौं एउटा कुरा, गर्छौं अर्कै कुरा । त्यही कारण हाम्रा बच्चाहरुले व्यवहारिक जीवनमा असफल हुँदैछन् । उनीहरुलाई संसारभरका सबै कुरा आउँछ तर, व्यवहारिक जीवन चलाउन आउँदैन ।
वच्चालाई उपदेश वा अर्ती दिने होइन । हामीले आफ्नो व्यवहारबाट उनीहरुलाई मार्गदर्शन गर्ने हो । प्रेरित गर्ने हो । तपाईं सहयोगी बन्नुहोस् । दयालु बन्नुहोस् । सकारात्मक कुरा मात्र गर्नुहोस् । बच्चाले तपाईंलाई आफ्नो आदर्श बनाउनेछ । उनले तपाईंको गुण आफुमा विकास गर्नेछ । बच्चा वास्तवमै मानविय गुणले भरिपूर्ण हुनेछन् । अनि पो बच्चाको जीवन सरल र सहज हुनेछ ।