Comments Add Comment

काठमाडौंका सम्पदा तत्काल यूनेस्कोको खतरा सूचीमा नपर्ने

युनेस्कोले दियो फेरि एक वर्ष म्याद

१९ असार, काठमाडौं । संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (यूनेस्को)ले काठमाडौं उपत्यकाका सम्पदालाई विश्व सम्पदा सूचीको ‘खतराको सूची’मा तत्काल नराख्ने संकेत गरेको छ ।

अजरबैजानको बाकुमा जारी विश्व सम्पदा समितिको ४३ औं बैठकमा बिहीबार नेपालको काठमाडौं उपत्यकाभित्रका विश्वसम्पदा सूचीमा सूचीकृत सम्पदाको विषयमा छलफल भएको थियो । उक्त छलफलमा चीन, ब्राजिल, जिम्बावेजस्ता देशले यी सम्पदालाई खतराको सूचीमा राख्दा नेपालको पर्यटन प्रभावित हुने भन्दै तत्काल खतराको सूचीमा राख्न नहुने सुझाव दिएका थिए ।

खासगरी भूकम्पपछि युनेस्कोले नेपालका सम्पदालाई खतराको सूचीमा राख्ने चेतावनी दिँदै आइरहेको छ । काठमाडौं उपत्यकाका सम्पदालाई एक वर्षको समय दिने र तत्काल खतराको सूचिमा नराख्ने संकेत बिहीबारको छलफलले गरेको छ । यद्यपी निर्णयको भाषा के लेख्ने भन्ने निर्क्योल भने बैठकको अन्त्यमा मात्र हुनेछ ।

बैठकमा यूनोस्कोले काठमाडौं उपत्यकाभित्रका सम्पदालाई खतराको सूचीमा राख्ने प्रस्ताव पेश गरेको थियो ।  बैठकमा काठमाडौंसम्बन्धी छलफल करिब डेढ घण्टा चलेको थियो । छलफलमा काठमाडौंका सम्पदा पुनर्निर्माणको चरणमा रहेको र अहिले नै खतराको सूचीमा राख्दा विश्व समुदायबाट हुने सहयोग प्रभावित हुने तर्फ कतिपय देशले नेपालको पक्षमा बहस गरेका थिए ।

छलफल तत्काल निश्कर्षमा पुग्न नसकेपछि सेसनको अध्यक्षता गरिरहेका अबुलफास गारायभले पुनर्निर्माण जारी रहने समयसम्म (एक वर्ष) समय दिने प्रस्तावसहित उक्त निर्णयको भाषा तय गर्न एक समिति गठन गरेका छन् । समितिमा चीन, नर्वे, जिम्बावे, हंगेरी र कुवेत सामेल छ ।

यूनेस्कोले लामो समयदेखि सम्पदा संरक्षणमा उचित ध्यान दिन नसकेको भन्दै खतराको सूचीमा राख्ने चेतावनी नेपाललाई दिइरहेको छ । भूकम्पपछि भने हरेक वर्ष नै खतराको सूचीमा राख्ने प्रस्तावमा छलफल हुँदै आएको छ । काठमाडौं उपत्यका भित्रका पशुपतिनाथ मन्दिरसहित बौद्धस्तुपा, स्वयम्भू, काठमाडौं, पाटन र भक्तपुर दरवार स्क्वायर र चाँगुनारायण मन्दिर विश्व सम्पदा सूचीमा सूचीकृत छन् ।

३० जुनमा सुरु भएको यूनोस्कोको ४३ औं बैठक १० जुलाईसम्म चल्नेछ । बैठकमा नेपालका तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाको नेतृत्वमा एक टोली सहभागी छ । अहिले विश्वका १६७ मुलुकका १०९२ वटा धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदा विश्व सम्पदा सूचीमा सूचीकृत छन् । त्यसमध्ये ५४ वटा सम्पदा खतराको सूचीमा परिसकेका छन् ।

सन् २०१९ का लागि नेपालको काठमाडौं उपत्यकासहित बंगलादेश, बुल्गेरिया, अल्वानिया, मेक्सिको, इराकका ६ वटा सम्पदा खतराको सूचीमा राख्ने गरी प्रस्ताव गरिएका छन् । यस वर्ष ३६ वटा नयाँ सम्पदालाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गर्ने प्रस्ताव गएको छ ।

दुई वटा सम्पदा भने खतराको सूचीबाट बाहिर निस्कने गरी प्रस्ताव गरिएको छ । भारतको जयपुर सीटीलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्ने प्रस्ताव यसै बैठकमा पेश हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment