Comments Add Comment

जो बालिबालिकाका आदर्श हुनसक्छन्

‘भविष्यमा असल मान्छे हुनु । गुणी हुनु । सबैको भलाई गर्नु ।’ बालबालिकालाई हामी यसै भन्छौं । आमाबुवाको अपेक्षा पनि हुन्छ, ‘छोराछोरी ठूलो मान्छे बनुन्, सबैले चिनुन् । आफ्नो काम र क्षमताले ख्याती आर्जन गरुन् । धन र वलले युक्त हुन् ।’

बालबालिकालाई थाहा छैन, ‘ठूलो मान्छे कस्तो हुन्छ ? असल कसरी बन्ने ? ख्याती कसरी आर्जन गर्ने ? भलाई कसरी गर्ने ? गुणी कसरी हुने ?’

तर, हामी उनीहरुको कलिलो मस्तिष्कमा यही कुरा कोचिरहन्छौं कि, ‘तिमी भविष्यमा असल मान्छे हुनुपर्छ । चर्चित हुनुपर्छ ।’ बालबालिकाले भेउ पाउन सकिरहेका हुँदैनन् कि कसरी असल बन्ने ? असल बन्ने सूत्र के हो ? असल बन्ने औषधी के हो ?

उनीहरु अलमलमा पर्छन् । हामी दृष्टान्त पेश गर्छौं, ‘गौतम बुद्ध जस्तै बन्नुपर्छ । फ्लोरेन्स नाइटिगेल  जस्तै बन्नुपर्छ । अब्रहाम लिंकन जस्तै बन्नुपर्छ ।’ हामीसँग यस्ता थुप्रै नाम छन् । हामी त्यस्तै नामहरु पेश गर्छौं, जसले सार्थक जीवन बाँचेका छन् । जसले जीवनलाई अरुको भलाई र उपकारमा समर्पण गरेका छन् । जसले कठिन संघर्ष र त्याग गरे ।

ति तमाम व्यक्ति हाम्रा आदर्श हुन्, जसप्रति हामी श्रद्धा गर्छौं । गर्व गर्छौं । हामी उनीहरुलाई हेरेर आफ्नो जीवनमा उत्साह र उमंग भर्ने गर्छौं । केही गर्ने अठोट लिन्छौं । त्याग र संघर्ष गर्न सक्छौं ।

आवश्य पनि हामीले कसै न कसैलाई आफ्नो आदर्श मान्ने गर्छौं । उनीहरुको जीवन, सोंच-चिन्तन, कार्यशैली, संघर्ष र सफलताबाट प्रभावित भएर आफुलाई त्यस्तै मार्गमा डोहोर्‍याउने यत्न गर्छौं । यस्ता व्यक्तित्वलाई हाम्रा पितापूर्खाले ‘भगवान’को उपमा दिए ।

समाजमा यस्ता थुप्रै भगवान छन् । हामीले उनीहरुलाई ‘देवत्करण’ गरेर जादुगर जस्तै बनाउने गल्ती गर्नु हुँदैन । बरु उनीहरुको कर्म, ज्ञान, त्याग, संघर्ष र सफलतालाई आधार बनाएर आफ्नो आदर्श मान्न सक्छौं । असल कस्तो हुन्छ ? गुणी कस्तो हुन्छ ? प्रशिद्ध कसलाई भनिन्छ ? भनेर बालबालिकाले सोधेको अवस्थामा हामीले तिनै व्यक्तित्वको नाम लिएर उदाहरण पेश गर्न सक्छौं ।

सन्दुक रुइत

अहिले सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको छ । भिडियोमा एक बालक छन्, जसले भर्खरै दृष्टि पाएका छन् । उनलाई दृष्टि दिने डा. सन्दुक रुइत सामुन्नेमा सन्तुष्ट र प्रफुल्ल भावमा बसेका छन् । ति बालक हर्षविभोर भएर डा. सन्दुक रुइतलाई मुसार्छन् । म्वाई खान्छन् । र, डा. सन्दुक रुइतको चस्मा उठाएर आँखा हेर्छन् ।

यो दृश्य हेरिरहँदा जो-कोहीको आँखा रसाउँछ, हर्षले । श्रद्धाले । कृतज्ञताले ।

सानै उमेरमा दुबै आँखाको दृष्टि गुमाएका बालकलाई डा. रुइतले संसार देख्ने बनाएका छन् । जीवनभर अँध्यारोमा बस्नुपर्ने र कष्टकर जीवनपायन गर्नुपर्ने अवस्थामा रहेका बालकले जब दृष्टि पाउँछन्, उनको मन हर्ष र उमंगले नाच्न थाल्छ । उनी आफुलाई दृष्टि दिने डाक्टरलाई सुमसुम्याउन चाहन्छन् । स्पर्श गर्न चाहन्छन् । प्रेममय चुम्बन बर्साउन चाहन्छन् ।

जब हामी डा. सन्दुक रुइतको कर्म सम्झन्छौं, हाम्रो हृदयमा श्रद्धाभाव पैदा हुन्छ । उनीप्रति हामी कृतज्ञ हुन्छौं ।

तिलगंगा आँखा केन्द्रका निर्देशक डा. रुइतले ति बालक मात्र होइन अरु लाखौंको दृष्टि फर्काइदिएका छन् । हजारौंलाई संसार देखाइदिएका छन् । ताप्लेजुङको विकट एवं दुर्गम भेगमा जन्मिएका उनी आज कसरी लाखौंको आस्थाको धरोहर भए ?

हाम्रा बालबालिकालाई ‘डा. सन्दुक रुइत’ चिनाऔं । उनको सर्घष र सफलताको कथा सुनाऔं । उनैको दृष्टान्त पेश गर्दै कसरी अरुको उपकार र भलाईका लागि आफुलाई समर्पित गर्ने भन्ने कुरामा प्रेरित गरौं ।

कुलमान घिसिङ

कर्मयोगी कस्ता हुन्छन् ? अरुका निम्ति बाँच्नेलाई संसारले कसरी श्रद्धा गर्छ ? कुलमान घिसिङको जीवनबाट सिक्न सकिन्छ ।

हामीले आफ्ना बालबालिकालाई चिनाउनुपर्ने अर्को व्यक्तित्व हुन्, कुलमान घिसिङ । उनले देशलाई उज्यालो बनाएका छन् । उनकै कर्म, लगवा, निडरता, त्यागले आज अन्धकार हटेको छ ।

कुलमान घिसिङ नहुँदो हो त आज पनि हामी लोडसेडिङको तालिका हेर्दै सुस्केरा हालिरहेका हुन्थ्यौं । कति विदेशिन्थे, कति डिप्रेसन ग्रस्त हुन्थे । कति कलकारखाना बन्द हुन्थे, कति बेरोजगार हुन्थे ।

आफुलाई जोखिममा राखेर देशका लागि लड्ने एक योद्धा हुन् उनी । आफ्नो कर्मप्रति कहिल्यै विचलित नहुने कर्मयोगी हुन् उनी । धाक-धम्की, अवरोधहरु छिचोल्दै देशका लाग अहोरात्र खट्ने देशभक्त हुन् उनी ।

कुलमान घिसिङ एक आदर्श हुन् । उनको जीवनबाट पनि बालबालिकाले प्रेरणा लिन सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment