Comments Add Comment

यात्रा अनुभूति : मंगोलियामा नेपाली संस्कृतिको झल्को

यही त रहेछ त्रिशुलमय शहर इनर मंगोलियाको राजधानी

करिब चार बर्षपछि थेन्जिन जाँदै थिएँ । अविस्मरणीय छ मेरा लागि त्यस ठाँउको भ्रमण । जुनबेला म त्यहाँ गएको थिएँ, त्यतिखेर मेरो देशले नाकाबन्दीको चरम यातना भोगिरहेको थियो । मलाई चीनको मनपर्ने शहरमध्येको एक हो थेन्जिन । अर्को सुन्दर र व्यवस्थित शहर हान्झाउबाट तीव्र गतिको रेल पक्रनु थियो थेन्जिनका लागि ।

चीनका प्रमुख शहरहरुमा किरासरी मान्छेको भीड छिचोल्नु यसै पनि चुनौतीपूर्ण बन्ने गर्छ । सोहीमाथि भाषिक तगारो चीनका हरेक प्रान्तमा नाग्न नसकिने समस्या हो । तर, यस्तै चुनौतीका बीच गरिने यात्राको रस्वादन आफैमा स्वादिलो हुन्छ । चीन आफैंमा एक सिंगो संसार जस्तो लाग्छ मेरो विचारमा । हरेक प्रान्तमा सफर गर्दा भिन्न मुलुकको भ्रमण गरेजस्तै महसुस हुन्छ । लाग्छ पृथ्वीभरिका सबैसबै चीजहरु यही छन् ।

रेलको यात्रा आनन्दमयी लाग्छ मलाई । समय बचत र सुरक्षित पनि । त्यसैले त यसको लोकप्रियता चुलिँदो छ । आरामदायी र खुल्ला कुर्सीमा बसेर आँखाले समेट्न सकेसम्मका दृश्यपान गर्नुको मजा नै छुट्टै । समतल भूगोलमा एकनास झुलेका खेतीहरुले घन्टौंसम्म नयनसँगसँगै यात्रा गर्छ । आधुनिक प्रविधियुक्त कृषि प्रणालीले होला, गराहरुमा मानिसको उपस्थिति नगण्य रुपमा मात्र देखिन्छ । लाग्छ पृथ्वीको अमूल्य खाध भण्डार यही हो । म आफ्नो कृषि प्रधान देशलाई मिस गरिरहेको हुन्छु ।

सरदर प्रतिघण्टा तीनसय किलोमिटरको गतिमा बत्तासिएको रेलको पाँचघण्टा समय अपुग जस्तो लाग्छ । यात्रामा पढ्न भनेर साथमा बोकेको पुस्तकले एकपाना पल्टिन पाउँदैन । यो सबको कारण लोभी नजर नै हो भन्दा फरक नपर्ला । प्रकृतिले दृष्टिहरण गरिदिएको छ । त्यसैले त भनिन्छ प्रकृति पूजनीय छ ।

भमक्क साँझ परिसक्दा स्थानीय समय आठ बजिसकेको छ । डिजिटल बोर्डले तोकेकै घडिमा नाक चुच्चे रेलले इमानका साथ थेन्जिनको स्टेशनमा ओह्रालिदिन्छ । गेटबाट बाहिर निस्कँदै गर्दा पुराना मित्र लिउ चसियाङलाई ठम्याउन कठिन पर्छ । उनी हामीलाई लिन भनी डेढ घण्टाको पर पाझाउ शहरदेखि आएका थिए । चार बर्षपछिको भेट थियो हाम्रो । हस्तमिलनसँगै, अंगालोमा कसिँदै आँखा चिम्लेर हाँसोको फोहरा छुटायौँ ।

चार बर्षमा थेन्जिन स्टेशन वरपरको वातावरणमा निकै परिवर्तन आएछ । एक फन्को नजर घुमाउनासाथ यसै अन्दाज लगाउन सकिन्थ्यो । म र मेरो देशको विकास क्रममा भने कपुतन्त्र बाहेक केही परिवर्तन आएन ।

पहिले भेट्दा जस्तै साह्रै रसिक छन् लिउ । शब्दपिच्छे खित्का छोड्छ । खित्का छोड्दा आँखाको गेडा परेलाभित्रै बिलाउने गर्छ । पार्किङ्गमा राखिएको भोल्भो जीपभित्र उसको छोरी चसिङ चहिन र दोभाषे साथी छन यान हामीलाई नै पर्खिबसेका रहेछन् । लिउ ब्रो लवाइमा मात्र हैन, सवारीसमेत विलासी भएछन् । सौखिन छन् लिउ । पहिलो भेटमै दुई बोटल रसियन भोड्का कोसेली बोकेर आएका थिए ।

उनको घरेलु शहर पाझाउ पुग्दा झण्डै दश बज्न आँटिसकेकाले सरासर चारतारे होटलमा पोका पुन्तरालाई विश्राम दिएर हामीलाई खानाको गन्तव्यतिर लगे । सोधनी भोजनीको साथमा लिउसँग पटकैपिच्छे ग्याम्बे गर्दागर्दै रातको एक बजिसकेको पत्तो पाइएन । जतिसुकै आरामदायी यात्रा गरेतापनि थकानको ह्याङ झुण्डिरहेकै हुन्छ । बिस्तरालाई खुसी पार्न एकमुष्ठ सबैजना च्यात्तियौं ।

भोलिपल्ट दिउँसो एक बजे लञ्चका लागि भनेर लिउको परिवार पुन हामीलाई राखेको होटलमा लिन आइपुगे । पाझाउको दुई रात र तीन दिनको बसाइमा कामभन्दा माम ज्यादा भयो । अब हामी भोलिबाट इनर मंगोलियातिर घुम्न जाने भन्दैगर्दा उनीहरु सबैजना एकैसाथ गलल हाँसे । शरमले हाँसेका रहेछन् । रेलबाट १० घण्टामा पुग्न सकिने इनर मंगोलियामा तीमध्ये कोही पनि गएका रहेनछन् । त्यसैले अप्ठ्यारो मानेर हाँसेका रहेछन् । जाँदा रेलबाट र फर्कंदा जहाजको टिकट अनि होटल बुकिङसमेत अनलाइनबाट उनैले गरिदिएर मेजमानको पर्म लाइदिए हामीलाई ।

मिस्टर लिउ बचनका पक्का मान्छे । सबेरै ६ बजेर ३० मिनेटमा हामी होटलबाट बाहिर निस्कँदा पार्किङमा हामीलाई पर्खिबसेका रहेछन् । त्यसपछि फटाफट एकसय बीसको स्पिडमा बेइजिङबाट नौ बजेको रेल पक्रनका लागि रवाना भयौँ । एकनासको उसको रफ्तारले केही कुराको संकेत गर्दथ्यो । नभन्दै जब बेइजिङ प्रवेश गर्न थाल्यौं, ट्राफिक जामको जात्रा देखिन थाले ।

मित्र ज्याक र मबीच गन्थन बढ्न थालेको भेउ लिउलाई पनि पर्‍यो । रेल भेट्न गाह्रो छ । अब भने उसले पनि घरीघरी घडीतर्फ नजर लाउन थालेको थियो । हामीले भन्यौं, नजिकै मेट्रो छ भने गाडीलाई कतै पार्किङमा राखेर जाउँ । मनासिव लाग्यो, लिउलाई हाम्रो प्रस्ताव । उनले पार्किङस्थलको खोजीमा फनफनी गाडी घुमाए । कतै खाली भेटिएन । समग्र बेइजिङको व्यस्तता एकाविहानै झल्कियो ।

झण्डै पन्ध्र-बीस मिनेट पार्किङको खोजीले समय अझ अप्ठ्यारो बनाइदियो । खुली नसकेको सपिङ मलको चौथो बेसमेन्टमा गाडी त राखियो । तर, बाहिर निस्कने दुलो नभेट्दाको दौडधूप बेतोड थियो । कतै लिफ्ट चलेको छैन । कतै अन्तिम गेट खुलेको छैन । एकाध भेटिएका सेक्युरिटी गार्डको सुझाव बमोजिम बल्लतल्ल बाहिर निस्कन सफल भयौं ।

हतासमा टिकट हातमा च्यापेर मेट्रोतिर हान्नियौं । उभिइनसक्नुको भीड र ठेलमेल देख्दा काठमाण्डौंको महिलामैत्री सिटहरुधेरै सुरक्षित लाग्थे । हुलका हुल मेट्रोभित्र छिर्ने र निस्कनेमा पुरुषभन्दा महिला नै बढी देखिन्थे । ४० मिनेटको मेट्रो यात्रामा तीसचोट त घडी हे¥यौं होला । हामीले समयलाई कहिले पो पर्खेका छौं र उसले हामीलाई पर्खियोस् । जतिसुकै रस्साकस्सी गर्दा पनि हात्तिजस्तो लम्किसकेको रेललाई भेट्न सकेनौं ।

हरेस मानेर लामो श्वास फेरे लिउले । निधारको पसिना झड्कारे । ओठमुख सुकेर तीनैजनाको बोल्ती बन्द भएको थियो । निकैबेरको विवादपछि तै लिउले अर्को स्टेशनबाट चढ्ने गरी दुईघण्टा पछाडिको टिकट लिइदिए । राहतको महसुस भयो । पैसा खेर गएन । लिउलाई पनि थप दुःख दिन मन भएन र उनलाई फर्किन आग्रह गर्दै हामी रिजर्भवाला ट्याक्सी पक्रेर रवाना भयौं ।
एउटा सुविधा र सम्पन्न घरानाका व्यक्ति हुन् लिउ । अहम भन्ने छनकै छैन । उनको विचारमा सम्बन्ध भन्दा व्यवसायिकता त निकै पर छ । मैले नेपालबाट लगेको कोसेली काठको कलात्मक माने र पस्मिना लिउलाई दिन नभ्याउँदै उनले दुई बोटल इम्पोर्टेड ह्विस्की सुम्पिए ।

नागबेली नदीलाई घरी वारि र घरी पारि पार्दै पहाड अनि कन्दराका खोंच छिचोल्दै सुरुङबाट रेल पार गर्दा मन यसै खुसीले आल्हादित हुन्छ । अझ मसिना पहाडका टाकुराको माथि बसेर हेर्दाको रोमाञ्चकता कस्तो हुँदो हो ? मेरो मनमा थप कौतुहलता जाग्छ । मित्र ज्याक भ¥याङमाथिको बेडमा सुस्ताएको देखिन्थ्यो । म भने प्रकृतिको अनुपम छटालाई मिस गर्न रत्तिभर चाहन्नथें । थाहा छैन, यस जुनीमा यही बाटो भएर म फेरि कहिल्यै यात्रा गर्ने छु । जतिजति उत्तर पश्चिमतर्फ रेल लम्किन्छ, उत्ति नै मोहक र भिन्नखाले भूभागहरुलाई नजरमा कैद गर्नमा व्यस्त छ । १० घण्टाको रेलयात्रालाई थप लम्ब्याउन चाहन्थें, यदि समय मेरो वसमा हुन्थ्यो भने ।

प्रकृतिको मनोरम दृश्यहरु पार गरी फुत्त झिलिमिली परिवेशभित्र प्रवेश गर्दाको क्षण अद्भुत लाग्थ्यो । खुइला चट्टानी पहाडहरुले बेरेर राखेको होहट शहर कामुक देखिन्थ्यो । यही त रहेछ त्रिशुलमय शहर अर्थात इनर मंगोलियाको राजधानी होहट । व्यस्त बजारका चोक चोकनाहरुमा जताततै ठडिएका विशाल त्रिशुलहरु सुरक्षाका प्रतिक देखिन्थे । ठूला महल र सडक छेउछाउतिर प्रतिमामा कुदिरहेको घोडामा सवार सम्राटहरुको हात हातमा तिखा त्रिशुल ठडिएकाले युद्धका बेला त्रिशुल महत्वपूर्ण हतियार रहेको कुरा बुझ्न सकिन्थ्यो ।

शहर बजार घुम्नुमात्र हाम्रो उद्देश्य थिएन । बर्षौं अघिदेखि मेरो मानसपटलभित्र बसेको विशाल समथर घाँसे मैदान र एकनासे खालका मध्यम पहाडी चट्टानहरु हेर्न आतुर थिए । जसको क्षेत्रफल नेपालकोभन्दा कैयौंगुणा ठूलो छ । ढिलो नगरिकन भोलिपल्ट बिहानै हामी एउटा कार रिजर्भ गरेर सय किलोमिटर भन्दापर थप उत्तरतर्फको सिलामुरेन ग्राँसल्याण्ड जाँदा भयौं । जसले हामीलाई तिब्र बोलावट गर्दै थिए ।

प्रविधिले संसारलाई नियाल्न सहज बनाइदिएको छ । नत्र मेरो देशबाट अजङ्गका चट्टानी श्रृंखला पार गरी आउन असम्भव जस्तै हुनेथियो होला । करिब ८ सय वर्षअघि सम्राट चंगेज खाँले हिमालय पार गरी हिन्दुस्तानसम्म आक्रमण गर्न निस्के जसरी सेनामेना बटुलेर वारपार गर्ने क्षमता हामीमा कहाँ हुँदो हो र । धन्य छ चमत्कारिकयुक्त प्रविधि, जसले हाम्रा यात्राहरुवर्षबाट महिना, हप्ता हुँदै केही घण्टामा सीमित तुल्याइदिएको छ ।

सन् ११६२ मा जन्मेका शक्तिशाली बादशाह चंगेज खाँले लगभग २१ बर्ष शासन गर्दा दुनियाँकै ठूलो मंगोल साम्राज्यको सफलतापूर्वक स्थापना गरेका थिए । मात्रै ६५ वर्ष जिएका चंगेज खाँका जताततै रहेका उनका शालिक र उनका वस्तुहरुको संरक्षणले पनि उबेला उसको प्रभाव कति रहेछ भनेर बुझ्न सकिन्छ । मठमन्दिर, म्युजियम, महल, मार्ग यत्रतत्र उनैको प्रभाव देखिन्छ ।

अथाह क्षेत्रफल ओगटेको सिलामुरेन घाँसे मैदान क्षेत्रमा गर्मी मौसममा समेत शीतल हुन्छ । जहाँको अधिकतम तापक्रमजस्तै गर्मीमा पनि २५ डिग्रीभन्दा माथि जाँदैन । चिसो मौसममा त माइनसबाट माथि उक्लने भनेको हर्षोल्लासको क्षण बन्दोरहेछ । सहायक सडकहरु त कत्ति, कत्तिको मध्यभागमा रहेको ब्ल्याक टपबाट जति हुँइकिए पनि नसकिने उस्तैखाले भूगोल कसरी मिलिबसेका होलान् ?

जो कोहीलाई यस्तै लाग्नेछ । घाँसे मैदानको मध्यभाग नागवेली हुँदै मौन मस्किएर तैरिरहेको स साना खोलाहरुले सजीव तथा निर्जिव चोलाहरुलाई अचुक बुटी प्रदान गरेको देखिन्छ । त्यसैले त भनिन्छ प्रकृति महान छे । हरियाली मैदानको बीचबीचमा निकैपर फुलका बुकीजस्ता छरपष्ट देखिने भेंडाका बथानहरु रहेछन् । ऊबेलामा यात्राको भरपर्दो साधन बनेका घोडा र उँटहरु अहिलेसम्म पनि हुलका हुल चरिरहेका भेटिन्छन् । हावाबाट बिजुली निकाल्नका लागि ठड्याइका अनगिन्ति पंखावाला पोलहरुले रुखको अभाव पूर्ति गरेको छनक मिल्छ ।

अझ तालुखुइले पहाड र चउरीलाई स्थानीय सरकारले सोलार प्लान्ट राखेर सक्दो सदुपयोग गरेको देख्दा म मेरो देशका बाझो जमिन र जललाई उन्मुक्त भएर सम्झन सक्छु । एउटै प्लान्टबाट ३०० मेघावाटसम्म बिजुली उत्पादन गरेको देख्दा मेरो मन हायल कायल भयो । हामो देशको मन पनि यसरी नै कायल भैदिए बर्षौं समय खर्चेर अर्बौं लगानी लाग्ने थिएन कि ?

चंगेज खाँका पालामा मनोरञ्जनका लागि बनाइएको घोडा दौडाउने ठाउँलाई निकै ठूलाठूला सक्ला ढुंङ्गाका पर्खालले घेरेका थिए । त्यसको एक कुनामा अहिले आएर व्यवसायीकरणका नाममा दर्शक बस्ने आधुनिक प्याराफिट पनि बनेको रहेछ । त्यहाँभित्र छिर्नका लागि महँगो शुल्क बुझाउनुपर्ने हुन्छ । एसियाकै ठूलो गोवी मरुभूमि यही क्षेत्रमा पर्छ । एकीकृत रुपले घुमन्ते जीवन बिताउने मंगोलहरु नै यहाँका आदिवासी हुन् । सीमित संख्यामा मात्र रहेका यिनलाई देख्न कठिन हुन्छ ।

नेपालका राउटे समुदाय जस्तै फिरन्ते लाग्यो मलाई यी मंगोलहरु । अहिले आएर घुमाउने पक्की घरमा बस्न थालेकाहरु चै अलि परिवर्तित रहेछन् । मौलिकता झल्कने गरी मैदानका मध्यभागहरुमा छपक्कै खुलेका रिसोर्टहरुले पर्यटकलाई आकर्षित गर्न विभिन्नखाले प्याकेजको अफर गरेको हुन्छ । मंगोलियन कला, संस्कृति, खाना, साँझमा सांस्कृतिक कार्यक्रम लगायतका गतिविधिले मुसाफिरहरुलाई थप रौनकता थप्ने गर्छ । मलाई त पृथ्वीको विपरीत गोलाद्र्धमा आइपुगेको भान भयो ।

यस क्षेत्रको अर्को महत्वपूर्ण ठाउँ फुहुई गुम्बा पनि हो । जुन सन् १७६९ छिङ वंशको पालामा बनेको रहेछ । सम्राट छिङलोङको राज्यकालमा बनेको यस गुम्बा छैठौं जीवित बुद्धका लागि बनाइएको हो । शान्ति र सुन्दरता छर्दै यस मन्दिरलाई नदीले घेरेको छ । प्रकृतिको अनुपम छटा र मलिलो मौसमको सफरले शरीरमा थकानको महसुस हुन दिएको छैन । यसै पनि ऐतिहासिक शान्त ठाउँ सोहीमाथि जता गयो उतै बुद्धका मन्दिर र गुम्बाहरुले गर्दा तीर्थाटनमा गएको आभाष हुन्छ ।

सिलामुरेन घाँसे मैदानबाट राजधानी होहटमा फर्किंदा झन् भव्य बुद्धका मन्दिरहरु देखिए । शहरको मध्यभागमा निकै ठूलो ठाँउ ओगटेर फैलिएको ताझाउ मन्दिर मिंग राजवंशको पालामा सन् १५८० मा बनेको रहेछ । यो भित्री मंगोलियाकै पुरानो तथा ठूलो शाक्य मुनि बुद्ध मन्दिर हो । यहाँ सन् १५८६ मा तेस्रो दलाई लामाले भ्रमण गरेको कुरा उल्लेख गरिएको पाइन्छ । जुन कलात्मक त छ नै, नेपालको कुनै चैत्यमा पुगेको जस्तो अनुभूति गर्न सकिन्छ । खँदिलो गरी सजाइएका लुङदरहरु स्वयम्भूबाट आएको हावाको झोंकाले नाचिरहेजस्तो लाग्छ ।

अचम्म त प्यागोडा शैलीमा बनेका प्रत्येक मठहरुका माथि रञ्जना लिपिमा बुद्धका सुन्दर वाणीहरु कुदिएको देख्दा नेपालभित्रको परिवेशको झल्को दिन्छ ।

चीनका अधिकत्तर स्थानमा मिंग वंशका पालामा धेरै नै कलात्मक वस्तुहरुको तरक्की भएको पाइन्छ । जहाँ अहिलेका पुस्ताले चाख मानेर संरक्षित गरेकाले पर्यटनको पर्याय बनेको देखिन्छ । हामीले बुद्ध नेपालमा जन्मेको भनेर जति नै गर्व गरेता पनि सताब्दियौं पहिले यति पर पुगिसकेको हाम्रो कला र संस्कृतिलाई समेत प्रवद्र्धन गर्न सकेका रहेनछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment