Comments Add Comment

बिराटनगरमा विषादीको प्रयोगशाला खुल्यो, तर भारतीय तरकारी परीक्षण नहुने

२३ असार, विराटनगर । प्रदेश १ सरकारले चालु आर्थिक वर्षमा बजेट छुट्याएपछि बिराटनगरमा विषादी परीक्षण प्रयोगशाला सञ्चालनका लागि उपकरण खरिद भइसकेको थियो । तर, जनशक्ति नहुँदा सञ्चालनमा आएको थिएन ।

संघीय सरकारले २ असारमा नेपाल आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने गरी ‘निकासी पैठारीसम्बन्धी आदेश’ राजपत्रमा प्रकाशित गर्‍यो । बाणिज्य मन्त्रालयको निर्णय कृषिले कार्यान्वयन गर्न थाल्यो । लगत्तै विराटनगर भन्सारमा तरकारी तथा फलफूल बोकेका ट्रकको लाइन लाग्न थाल्यो ।

प्रदेश सरकारलाई लाग्यो, विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याउने यही उपयुक्त मौका हो ।

किनकि प्रदेश १ मा बिर्तामोडमा मात्र प्रयोगशाला थियो । जोगवनी नाका हुँदै भित्रिने तरकारी तथा फलफूलको जाँच गर्न ‘बिर्तामोड जाऊ’ भन्नु व्यवहारिक थिएन ।

त्यसैले प्रदेश सरकारले काठमाडौंबाट कृषि मन्त्रालयका प्राविधिक बोलाएर उपकरणहरु जोड्न लगायो, बाली संरक्षण प्रयोगशालाका प्राविधिकहरुलाई तालिम दिन थाल्यो । क्लास थ्रीका एक, प्राविधिक सहायक दुईसहित ६ जना जनशक्ति तत्कालै तयार भए ।

तर, प्रयोगशाला सञ्चालनमा आउनुअघि नै संघीय सरकारले विषादी परीक्षण गर्ने आफ्नो निर्णय फिर्ता लिएको छ ।

प्रदेश १ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव हस्तबहादुर बिष्ट भन्छन्, ‘विराटनगर नाकामा ट्रक लाइन लागेपछि हामीले रातारात काम गरेर ल्याब सञ्चालनमा ल्याएका थियौं । अब यसमा आन्तरिक बजारकै तरकारी परीक्षण गर्छौं ।’

४५ मिनेटमा छुटिन्छ विषादी

यो प्रयोगशालामा दुई समूह (कार्बोनेट र अर्जेनोफास्टर) विषादी परीक्षण गर्न सकिने छ । यो विषादी तरकारी तथा फलफूलमा अत्यधिक प्रयोग हुने समूहमा पर्छ ।

प्रयोगशालाले दैनिक ७० वटासम्म परीक्षण गर्न र ४५ मिनेटमा एउटा रिपोर्ट दिन सक्ने विषादी परीक्षण शाखाका प्राविधिक सहायक घनश्याम बरालले बताए । परीक्षणले तरकारी तथा फलफूलमा विषादीको मात्रा कति छ भन्ने थाहा हुन्छ ।

आइतबार मात्रै बाली विज्ञान प्रयोगशाला र स्थानीय बजारबाट तरकारीको नमुना संकलन गरिएको थियो । संकलित तरकारीमा प्रयोग गर्न नमिल्ने मात्रामा विषादी भेटिएन ।

‘पहिलोपटक नमूना परीक्षण गर्दा ६ इनिविसन प्रतिशत विषादी भेटियो’ उनी भन्छन् ‘३५ इनिविसन प्रतिशत भन्दा माथि विषादी देखिए प्रयोग गर्न मिल्दैन ।’

प्रदेश सरकारले आगामी वर्ष धरानमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा ल्याउने बताएको छ । यसका लागि करिव डेढ करोड लाग्ने अनुमान । यो ल्याब सञ्चालनमा ल्याए सबै प्रकारको विषादी परीक्षण गर्ने सकिनेछ ।

गत बिहीबारको क्याबिनेट निर्णयले विषादी परीक्षण गर्ने अन्तरराष्ट्रिय स्तरको प्रयोगशाला काठमाडौंमा मात्रै भएको र अन्य भन्सार न्दिूमा त्यस्तो प्रशयोगशाला नभएको भन्दै निर्णय फिर्ता लिएको हो । मन्त्रिपरिषद बैठकले यथाशीघ्र प्रयोगशालाहरु निर्माण गर्न कृषि मन्त्रालयलाई भनेको छ । तर, बिराटनगरमा यस्तो प्रयोगशाला तयार भइसकेता पनि भारतीय तरकारी र फलफूलको परीक्षण भने तत्कालका लागि नहुने मन्त्रिपरिषदले बाटो खोलिदिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment