Comments Add Comment

युरोप पुग्न थाल्यो नेपालको कफी

सर्वेक्षणले भन्छ– ९६ प्रतिशत अर्गानिक

२५ असार, काठमाडौं । नेपालमा पहिलोपटक कफी खेतीसम्बन्धी तथ्यांक संकलन कार्य सम्पन्न भएको छ । केन्द्रीय तथ्यांक विभागले एक वर्ष लगाएर गरेको अध्ययनअनुसार नेपालको कफी खेती ९६ प्रतिशत अर्गानिक रहेको पाइएको छ र यसको बजार युरोपसम्म फैलिएको छ ।

व्यवसायिक कफीखेती सर्वेक्षण २०७५/७६ अनुसार नेपालमा ६ हजार ३ सय ४६ वटा कफी उत्पादन गर्ने कृषि फर्महरु सञ्चालनमा छन् । मुलुकको चार प्रदेशका ३२ जिल्लामा व्यावसायिक रुपमा कफी खेती हुँदै आएको सर्वेक्षणले देखाएको छ ।

देशभरमा ९७३ हेक्टरमा जमीनमा व्यावसायिक रुपमा कफी खेती गरिएको छ भने करिब १५ लाख ५ हजार कफीका बोटहरु रोपिएका छन् ।

अध्ययन अवधिमा ८ लाख २१ हजार कफीको बोटबाट फल उत्पादन भइरहेको छ भने ६ लाख ८४ हजार कफीका बोटहरु फल लाग्ने क्रममा छन् । सरदर बार्षिक रुपमा अध्ययन अवधिभर नेपालमा १५ लाख ७३ हजार किलो कफीको कच्चा दाना (फ्रेस चेरी) उत्पादन भएको केन्द्रीय तथ्यांक विभागले जारी गरेको सर्वेक्षणमा भनिएको छ ।

नेपालमा १२ लाख हेक्टर जमिनमा कफीको खेती गर्न सकिने भए पनि अहिले करिब २ हजार हेक्टरमा जमीनमा मात्रै कफी खेती हुँदै आएको छ । नेपालमा कफीका बिरूवा उत्पादन गर्ने ५५ वटा नर्सरी छन् । देशभरिमा वार्षिक ७ लाख २० हजार १ सय १० विरूवा उत्पादन हुँदै आएको सर्वेक्षणमा उल्लेख छ ।

कफी खेतीमा प्रदेशगत अवस्था

प्रदेश १, प्रदेश ३, गण्डकी प्रदेश र प्रदेश ५ मा बढी मात्रामा कफी खेती हुँदै आएको छ । प्रदेश ३ को काभ्रे सबैभन्दा बढी कफी खेती तथा उत्पादन हुने जिल्ला हो भने प्रदेश ५ को प्युठान सबैभन्दा थोरै कफी खेती गरिने जिल्ला हो । काभ्रेमा १०४.३ हेक्टर क्षेत्रफलमा गरिएको कफी खेतीबाट २२१ मेक्ट्रिक्टन कफी उत्पादन भएको छ ।

सर्वेक्षण अनुसार प्रदेश १, ३, गण्डकी प्रदेश र प्रदेश ५ मा व्यावसायिक कफीखेती हुँदै आएको छ । प्रदेश १ मा वार्षिक १ सय ३ मेट्रिक टन कफी उत्पादन हुन्छ । सर्वेक्षण अनुसार प्रदेश १ का १० जिल्लामा कफीको व्यावसायिक खेती भएको पाइएको छ । ती मध्ये सबैभन्दा बढी इलामका ४१.५ प्रतिशत र सबैभन्दा कम धनकुटामा १.८ प्रतिशत किसान कफीको व्यवसायिक खेतीमा आबद्ध छन् ।

प्रदेश ३ का १० जिल्लामा व्यवसायिक रूपमा कफी खेती हुन्छन् ती मध्ये सबैभन्दा धेरै काभ्रेपलाञ्चोकमा ३४.२ प्रतिशत र सबैभन्दा कम मकवानपुर जिल्लामा ०.५ प्रतिशत किसान कफीको व्यावसायिक खेतीमा संलग्न छन् ।

गण्डकी प्रदेशका ८ जिल्लाबाट वार्षिक ४ सय २२ मेट्रिक टन कफी उत्पादन हुँदै आएको छ । गण्डकी प्रदेशको स्याङ्जा सबैभन्दा धेरै कफी खेती हुने जिल्ला हो । कुल कफी खेतीको ३७.८ प्रतिशत हिस्सा यस जिल्लाले ओगटेको छ । गण्डकी प्रदेशको म्याग्दीमा सबै भन्दा कम ०.७ प्रतिशत किसान कफीको व्यावसायिक खेतीमा संलग्न छन् ।

प्रदेश ५ को ४ जिल्लाबाट सरदर वार्षिक २ सय ८९ मेट्रिक टन कफी उत्पादन हुँदै आएको छ । प्रदेश ५ को गुल्मी कफीको लागि प्रख्यात जिल्ला हो । प्रदेशको कुल उत्पादनमा गुल्मीको हिस्सा ४९.७ प्रतिशत छ ।

किसानका समस्या

सर्वेक्षण अनुसार किसानहरु कफी खेतीप्रति आशावादी देखिएका छन् । उनीहरुले सरकारी तबरबाट प्रशस्त मात्रामा सहयोगको अपेक्षा पनि गरेका छन् । गुणस्तरीय प्राविधिक सेवा सहज उपलब्ध गराइदिनुपर्ने, सिञ्चाईको सुविधा उपलब्ध गराइदिनुपर्ने, ब्यवसाय प्रवर्द्धनका लागि तालिम र अध्यायन भ्रमणको ब्यवस्था गरिदिनु पर्ने,उत्पादित कफी बिक्रीका लागि बजारको व्यवस्था गरिदिनुपर्ने तथा ब्यवसाय प्रवर्द्धनका लागि अनुदान तथा सहयोग उपलब्ध गरिदिनु समस्या किसानहरुले राखेका छन् ।

विउ, बिरुवा, मल छाहारी बोट, गुणस्तरीय औषधी सहज तथा शुलभ रुपमा उपलब्ध गराई दिनुपर्ने,आधुनिक मेशिन औजारको ब्यवस्था गरि दिनुपर्ने, उचित मूल्य निर्धारण गरिनुपर्ने, वीमाको व्यवस्था गरिनुपर्ने माग पनि किसानहरुको छ ।

नेपालमा पाइने कफी अराबिका जातको हुन्छ । समुद्री सतहबाट एक हजारदेखि १६ सय मिटरको उचाइसम्म निकै राम्रो उत्पादन हुने नेपाली कफीको मुख्य अन्तर्राष्ट्रिय बजार जापान, अमेरिका र यूरोपियन मुलुक रहेको नेपाल चिया तथा कफी बिकास बोर्डले जनाएको छ ।

आर्थिक वर्ष ०७५/०७६ को एघार महिनामा नेपालबाट ७३ हजार ८१३ किलो बिभिन्न प्रकारका कफी निर्यात गरेको भन्सार विभागले जनाएको छ । उक्त निर्यातबाट मुलुकले ८ करोड ६३ लाख ७२ हजार रुपैयाँ नगद भित्र्याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment