Comments Add Comment

वीरगञ्ज महानगरको फोहोर व्यवस्थापन नीजि क्षेत्रले गर्ने

१ साउन, वीरगञ्ज । साउन १ गतेदेखि वीरगञ्ज महानगरपालिकाको फोहोर व्यवस्थापनको काम निजी संस्थाले गर्न शुरु गरेको छ । संस्थाले आजैदेखि वीरगञ्ज महानगरपालिकाको सरसफाइ महाशाखाका कर्मचारीहरुसँग मिलेर काम शुरु गरेको छ ।

सार्वजनिक निजी साझेदारी अवधारणा अन्तर्गत आर्थिक वर्ष ०७६/७७ देखि नगर क्षेत्रको सरसफाइ र फोहोर व्यवस्थापनको जिम्मा पृथ्वीतारा/एनके इन्टरनेशल जेभीले लिएको हो ।

वीरगञ्ज महानगरपालिकाका सरसफाइ महाशाखा प्रमुख राज ताम्राकारले एकैपटक संस्थालाई जिम्मा दिँदा अप्ठेरो स्थिति आउन सक्ने भएकोले सहकार्यमा काम शुरु गरिएको बताए ।

‘अहिले हामीले नै सहयोग गरिरहेका छौं । उनीहरुले १६ वटा वडामा सुपरभाईजर राखिसकेका छन् ,’ उनले भने, ‘एक साताजति पुरानै हिसाबले काम चल्ने त्यसपछि संस्थाले आफ्नो हिसाबले काम गर्ने कुरा छ ।’

वीरगञ्ज महानगरपालिकाले फोहोर मैला व्यवस्थापन ऐन २०७५ ल्याएको छ । ऐनमा जथाभावी फोहोर फाल्ने लगायत विभिन्न कसुरमा कसुर अनुसार ५ सय देखि १ लाखसम्म जरीवानाको व्यवस्था गरिएको छ । तर, ऐनको प्रभावकारी कार्यान्वयन गराउन महानगरले सकेको छैन ।

त्यसले गर्दा सरसफाइका लागि निजी क्षेत्रको जिम्मा दिइएको छ । निजी संस्थाको मातहतमा नगरपालिकाको सरसफाई शाखाका कर्मचारीसमेत रहने गरी महानगरपालिकाले सँस्थासँग सम्झौता गरेको छ ।

यो पनि पढ्नुस्– वीरगञ्ज महानगर कि ‘महानरक’ ?

सँस्थाका म्यानेजिङ डाइरेक्टर केशव नेपालले वीरगञ्ज महानगरपालिकाको सरसफाइमा केही दिनमा सुधार देखिने दावी गरे ।

‘हामीलाई सेट हुन समय लाग्छ, त्यसैले पुरानै ढर्रामा काम हुन्छ । ८/१० दिनमा सुधार देखिन्छ,’ उनले भने, ‘सरसफाइलाई सुधार गर्नलाई कर्मचारी थप गर्दैछौं, सुपरभाईजर राखिसकेका छौं । ट्याक्टर ६ वटा ल्याउँदैछौं । निकट भविष्यमा नयाँ प्रविधी भित्र्याउनेे गरी तयारी गरिरहेका छौं । ‘

४ वर्षका लागि २४ करोड रुपैयाँमा फोहोर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिँदा महानगरपालिले सरसफाइमा गर्दै आएको वाषिर्क १२ करोड खर्च बचत हुनुको साथै फोहोरबाट मुक्ति मिल्ने दावी गरिएको छ ।

तर, संस्थाले सरसफाइको काम शुरु गरेको बारे नगरबासी भने अनविज्ञ छन् । उनीहरुले महानगरको सरसफाई गर्ने कार्यशैलीमा कुनै परिवर्तन नआएको बताएका छन् ।

वीरगञ्ज महानगरपालिका वडा नं १५ सिदार्थ टोल र शिरोमणी टोलमा लामो समयदेखि फोहोर उठाउने ट्याक्टर समेत नगएको गुनासो स्थानीयले गरेका छन् ।

स्थानीय रिसु श्रीवास्तवले झण्डै दुई महिनादेखि टोलमा फोहोर उठाउने ट्याक्टर समेत नआउँदा टोलमा दुर्गन्ध बढेको गुनासो गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment